close

पहिरोले बिचल्ली बनाएको एउटा गाउँ

जनप्रतिनिधि फोन उठाउदैनन्, भेट हुँदा भन्छन् : समस्या मैले हेर्ने होइन

पहिरोले बिचल्ली बनाएको एउटा गाउँ

जनप्रतिनिधि फोन उठाउदैनन्, भेट हुँदा भन्छन् : समस्या मैले हेर्ने होइन

Trulli
ADVERTISEMENT

बाग्लुङ– जिल्लाको जैमिनी नगरपालिका–१० राङखानीका भीमप्रसाद पौडेलको घर छेउमै ठूलो पहिरो गएको छ । वर्षा होस् वा घाम, कुन बेला पहिरोले घर पुर्छ भन्ने डरमा पौडेलको परिवार घर छाडेर गाउँ दौडिन्छन् ।

पानी पर्दा मात्रै होइन, घाम लागेर सुख्खा हुँदासमेत पहिरो खस्ने त्रासले उनको परिवार छिमेकमा बस्न थालेको तीन साता भयो ।
भीमप्रसाद मात्रै होइन, राङखानीको ढाँडचिन्ने गाउँका ७ परिवारको दैनिकी हो, यो ।

यसै वर्ष निर्माण भएको कच्ची सडकको घुम्तीले पहिरो निम्त्याएपछि ढाँडचिन्ने गाउँका ७ घरपरिवार पहिरोको उच्च जोखिममा छन् । ‘घरमुनिबाट सबै तान्लाजस्तै गरेको छ, पहिरो खसिरहन्छ,’ पौडेल भन्छन्, ‘घर छोडेर हिँडौं, जाने ठाउँ छैन, बसौं बाँच्ने आशै म¥यो ।’

ढाँडचिन्ने गाउँका पौडेलत्रय जनकराज, ईश्वरी, पवित्रा, दुर्गाबहादुर नेपाली, मीना नेपाली, भवे सार्कीको घर पहिरोको उच्च जोखिममा छन् ।

केही दिनयता वर्षा रोकिएकाले पहिरोको जोखिम कम भएको महसुस उनीहरूले गर्न थालेका छन् । तर, चिन्ता आउँदो वर्ष कहाँ बस्ने भन्ने हो । ‘हिउँद लागे अर्को वर्षा सुरु नहुने बेलासम्म त बस्न सकिएला । अर्को वर्षा के गर्नू,’ पीडित मीना नेपालीले भनिन् ।

पहिरोको विषयमा सोधीखोजी गर्न सरोकारवाला नआएको भन्दै उनीहरू दुःखी छन् । गाउँ नै पहिरोको जोखिममा पर्दा वडाध्यक्षसमेत पहिरो हेर्न पुगेका छैनन् । ‘बाटो उनैले बनाए, नेता हामीले बनाइयो, दुःख पर्दा फोनसमेत उठाउँदैनन्,’ स्थानीय दिलप्रसाद पौडेलले भने, ‘यहाँ बिचल्ली हुनेवाला छ तर समयमा जानकारी गराउँदा वास्तै गर्दैनन् ।’

वडाध्यक्ष नरबहादुर थापा भने सम्बन्धित टोलका वडा सदस्यलाई जिम्मेवारी दिएकाले आफू नगएको बताउँछन् । ‘कुरा आएको थियो, म गएको छैन,’ थापाले भने, ‘हामी जिम्मेवारी बाँडफाँट गरेर काम गर्छौं, वडा सदस्यको जिम्मेवारी हो, त्यो गाउँ जाने ।’

स्थानीयले वडाध्यक्ष मात्रै होइन, नगरपालिकाले प्राविधिक जनशक्ति खटाएर पहिरोको अध्ययन गर्नुपर्ने बताउँछन् । ‘अहिले क्षति भएको छैन भनेर उम्किन्छन्, क्षति हुनेवाला छ,’ पौडेल भन्छन्, ‘अहिले बेवास्ता गर्ने, पहिरोले लगेपछि राहत दिने संस्कार बसेको छ ।’

जैमिनीमा यस वर्ष बाढीपहिरोका कारण धेरै बस्तीहरू जोखिममा छन् । पहिरोले गाउँ नै पुरेका र नागरिकको  मृत्यु भएका स्थानमा मात्रै पुग्ने गरेको स्थानीय सरकारले जोखिमको विषयमा भने बेवास्ता गरेको छ ।

जैमिनीकै वडा–१ का विभिन्न ठाउँका जोखिमयुक्त बस्तीहरूमा समेत जनप्रतिनिधि पुग्दैनन् ।

‘यस्तो छ भन्दा प्रहरीको मुचुल्का गरेर वडा सिफारिस लिएर आउनू भन्छन्, यहाँ बस्ती नै जोखिममा छ,’ कुश्मीशेराका दिनानाथ शर्मा भन्छन्, ‘क्षतिको पछि दौडिएकाले सम्भावित दुर्घटनाको विषयमा हेरेनन् ।’

सडक बनाउँदा जोखिमको बेवास्ताकै कारण पछिल्लो दुई महिनायता जैमिनीमा पहिरोमा पुरिएर ३ जनाले ज्यान गुमाएका छन् भने ९ परिवार विस्थापित छन् ।

समयमा बस्तीको व्यवस्थापन गर्न नसके आउँदो वर्षामा धेरै जनधनको क्षति बेहोर्नुपर्ने स्थानीय बताउँछन् ।