close

बेनी नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित पुस्तक

बेनी नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित पुस्तक

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रममा आधारित पुस्तक तयार पारेको छ ।  स्थानीय विषयवस्तुलाई समेटेको पाठ्यपुस्तक नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई उपलब्ध गराई पठनपाठनसमेत सुरु भएको छ ।


बेनी बजारबाहेक ग्रामीण क्षेत्रका विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरेका छन् ।   कक्षा १ का लागि मेरो नगरपालिका नामक पुस्तक तयार पारी पठनपाठन गराउन विद्यालयहरूलाई वितरण गरिएको नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले जानकारी दिए । १ हजार प्रति पुस्तक छपाइ गरिएकामा सामुदायिक विद्यालयलाई ५ सय प्रति निःशुल्क वितरण भइसकेको उनले बताए ।


नगरपालिकाले निजी विद्यालयलाई भने सशुल्क पुस्तक उपलब्ध गराउनेछ । ‘आगामी वर्ष क्रमशः कक्षा १, २, ३, ४ र ५ को पुस्तक तयार पारेर लागू गर्ने योजना छ’, पौडेलले भने ।

 
पुस्तकमा प्राकृतिक सम्पदा, वनजंगल, जडीबुटी, कृषि, जातिगत विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचानलाई समेटिएको छ । विषयवस्तुसँग मिल्ने चित्र र तस्बिरसमेत सम्बन्धित ठाउँकै प्रयोग गरिएकाले विद्यार्थीलाई अपनत्व महसुस हुने नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । 


म्याग्दीमै पहिलो पटक बेनी नगरपालिकाले स्थानीय पुस्तक तयार पारेको हो । अन्य स्थानीय तहहरूले पनि स्थानीय पाठ्यक्रममा आधारित पुस्तक बनाएर लागू गर्ने तयारी भएको जनाएका छन् । बेनी नगरपालिकाले तयार पारेको पाठ्यक्रम र पुस्तक अन्य स्थानीय तहका लागि सन्दर्भ–स्रोत बन्न सक्नेछ ।


स्थानीय पाठ्यक्रम र पुस्तक तयार पार्न नगरपालिकाले जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाको संयोजकत्वमा समिति बनाएको थियो । नगरपालिकाका पदाधिकारीको राय र सरोकारवाला तथा विशेषज्ञहरूको सुझावअनुसार पुस्तकका विषयवस्तु छनोट गरिएको संयोजक ढुंगानाले बताए । 


पुस्तक तयार पार्न समितिका सदस्य पौलत्स्य माविका शिक्षक देवीप्रसाद शर्माले प्राविधिक सहयोगका साथै संयोजन गरेका थिए । पुस्तक लेखनमा प्राध्यापक डा. कर्णबहादुर बानिया, कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्की, केशव ढुंगाना, चन्द्रमणि सापकोटा, रामप्रसाद सुवेदी, सन्तोष गौतम र हरिकृष्ण गौतमलगायतको सहयोग रहेको समितिले जनाएको छ ।