close

दायित्वबिनाको राज्य, सासको आशमा नागरिक 

अक्सिजन नहुँदा निको हुने बिरामी पनि थलिन थाले

दायित्वबिनाको राज्य, सासको आशमा नागरिक 

अक्सिजन नहुँदा निको हुने बिरामी पनि थलिन थाले

Trulli
ADVERTISEMENT

घटना १
साताअघि प्रधानमन्त्री केपी ओलीले अमेरिकी टेलिभिजन संस्था सिएनएनलाई अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्तामा प्रधामन्त्री बिन्दास बोले- हामीसँग कोरोना महामारीमा जुध्ने सबै सामग्री मौज्दात छन् । कोरोना नियन्त्रणबाहिर गएको छैन । नागरिकले कोरोना फैलाउन सहयोग पुर्‍याए ।

 

घटना २
प्रधानमन्त्रीको ओलीको बोली फुटेको अर्को दिन कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले फेसबुकमा पोस्ट गरे : काठमाडौंका सरकारी, निजी कुनै अस्पतालमा अक्सिजनसहितको बेड भए तुरुन्तै खबर गरिदिनुहोला । बिरामी मेरै मान्छे हुन् ।

 

घटना ३
केही दिनअघि मात्र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठकी बुहारीको कोरोनाकै कारण मृत्यु भयो । उनले सरकारी, निजी अस्पतालको व्यवस्थापनमै खोट औँल्याए । सास नपाएर बुहारीको मृत्यु भएको अवस्थालाई उनले अक्षम्यसमेत भन्न भ्याए ।

 

घटना ४
वैशाख अन्त्यतिरै भैरहवाको भीम अस्पतालमा अक्सिजन नभएपछि एकै दिन ९ जना कोरोना संक्रमितको लगालग मृत्यु भयो । असह्य भएपछि अस्पतालका डाक्टर र नर्सहरू प्रमुख जिल्ला अधिकारी निवासमा आधा रातमै हारगुहार गर्न पुगे । तर, अक्सिजन व्यवस्थापन भएन । 

 

माथिका प्रतिनिधि घटनाले नै बताउँछन्, कोरोना संक्रमणका कारण सासको आशमा रहेका नागरिकले बेहोरेको सास्ती । यतिबेला कोरोना संक्रमितले अस्पताल भरिभराउ भएपछि अक्सिजन अभावले बिरामीलाई जीवनमरणको दोसाँधमा पुर्‍याएको बुझ्न कठिन छैन । यसबीचमा कार्यकारी प्रमुखले पुनः नियुक्ति लिए ।

 

सत्ताको चाबी कब्जामा पार्न सबै दलका नेताहरूले बालुवाटार, बूढानीलकण्ठ, सातदोबाटो, कोटेश्वरलगायत स्थानको कैयौँ फेरो मारे । राजनीतिमा चुर्लुम्ब डुबे । तर, अस्पतालमा बेड र अक्सिजन नपाएर लगालग मृत्यु पछ्याइरहेका जनताप्रति उनीहरूको रत्तिभर आँखा पुगेन । पुगेको छैन । 

 

कोरोना महामारीको दोस्रो लहरले यसअघिका सरकारी अनुमानलाई धुलिसात् बनाइसक्यो । सरकारले गत वर्षको पहिलो चरणको महामारीमा अपनाएका कतिपय नीतिगत निर्णयले ७५३ वटै स्थानीय निकायमा ५-१५ शय्याका कोभिड अस्पताल बनेका छन् । तर, ती अस्पतालमा कहीँ-कतैबाहेक डाक्टर छैनन् । कोरोना अस्पतालाई अहेब, नर्सहरूले चलाइरहेको अवस्था अहिले पनि छ ।

 

सरकारले प्रत्येक निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिए हाललाई त्यो सम्भव नहुने अस्पताल सञ्चालकहरूले जवाफ फर्काइसके । कोरोना संक्रमितले दैनिक उकालो लाग्दा माग अत्यधिक बढेपछि अक्सिजनको अभाव देखिएको हो । संक्रमणको दर उच्च गतिमा बढ्दै गएको र अस्पताल भर्ना हुने अधिकांशलाई अक्सिजनको सहायता पर्ने भएकाले अभाव देखिँदै आएको विवशता डाक्टरहरूको मुखबाटै सुन्न सकिन्छ ।

 

अक्सिजन नहुँदा निको हुने बिरामी पनि थलिन थाले

 

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अस्पतालमा शय्या अभाव र भेटिइहाले पनि अक्सिजन उपलब्ध नहुँदा निको हुन सक्ने बिरामीको पनि उपचार प्रभावित भएको छ । यसको गतिलो जवाफ शुक्रबार मात्रै अल्का अस्पतालले विज्ञप्ति नै जारी गरेर शय्या भए पनि अक्सिजन नहुँदा बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएबाट पुष्टि हुन्छ ।

 

अस्पतालले स्वास्थ्य मन्त्रालयलाई अक्सिजन आपूर्ति सहज बनाइदिन अनुरोधसमेत गर्‍यो । यस्तै समस्या टेकु अस्पताल, वीर, ग्रान्डी, मेडिसिटीलगायत अस्पतालमा पनि देखिन थालेको छ । अक्सिजन पाउन उद्योगहरूमा बिरामीका आफन्तहरूको विलौना र रोदनले जोकोहीको मन थिलथिलो हुन्छ ।

 

किन भयो अक्सिजन अभाव ?

 

कोरोनाको पहिलो लहरमा कोरोनाका संक्रमितलाई उतिसारो अक्सिजन अभाव नभए पनि अहिले संक्रमण हुनेबित्तिकै गलाउने गरेको कारोना चिकित्सक डा. शेरबहादुर पुनले सामाजिक सञ्जालमा पोष्ट गरे । उनका अनुसार छोटो समयमा सोचेभन्दा बढी संक्रमित थपिएकाले अक्सिजन अभावले नागरिकको मृत्युलाई नजिक्याएको हो ।

 

सामान्य बिरामीलाई घरमै आइसोलेसनमा बस्न भनेर अक्सिजन आवश्यक पर्नेलाई अस्पतालमा भर्ना गर्दै आएको उनले विवशतासमेत सुनाएका छन् । माग ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा गत बुधबारदेखि ८ वटा अक्सिजनका प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आए पनि खाली सिलिन्डर नै नरहने गरी माग बढेको उत्पादकहरूको दाबी छ ।

 

उपत्यकामा पूर्ण क्षमताअनुसार प्लान्ट सञ्चालनमा आउँदा दैनिक साढे ७ हजार सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ । उत्पादन उच्च रहे पनि अहिले सञ्चालित प्लान्टले मात्रै उपत्यकाको माग धान्न गाह्रो भइरहेको अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव सारडाले बताए । उनले भने, ‘अहिले उत्पादन भए जति अक्सिजन खपत भइरहेको छ । माग बढ्दै गएकाले अब उपत्यकामा बाहिरबाट अक्सिजन ल्याउनुपर्ने अवस्था छ ।’

 

घरमै थन्काउँदा अभाव चुलियो 

 

नेपालमा तरल अक्सिजन उत्पादन नहुने भएकाले भण्डारण गरेर राख्न सकिने अवस्था छैन । ‘तरल अक्सिजन भए सिलिन्डर पनि आवश्यक पर्दैन, सोझै अस्पतालको ट्यांकरमा भण्डारण गर्न सकिन्छ,’ संघका अध्यक्ष सारडाले भने, ‘तरल अक्सिजन उत्पादन गर्न सकिने अवस्था भएकाले सरकारले उत्पादनका लागि प्रोत्साहन गर्नुपर्छ ।’

 

कोरोना संक्रमणका बिरामी ह्वात्तै बढेपछि आफू पनि संक्रमित होइन्छ भन्ने त्रासमा नागरिकले अक्सिजन किनेर घरमै राख्दा अभाव देखिएको सरोकारवालाहरू सुनाउँछन् । तर, बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अक्सिजन सिलिन्डरको अनुगमन गरेको देखिँदैन । विभागका महानिर्देशक प्रकाश पौडेलले भने, ‘उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रशासनले यस सम्बन्धमा काम गरिरहेको छ ।’ आउँदो आइतबारदेखि बजार अनुगमनमा निस्कन्छौँ । त्यसका लागि अनुगमन टोली बनाएका छौँ ।’ 

 

भनेको २००० हजार, आए ४ सय 

 

सरकारले अक्सिजन अभाव टार्न उत्तरी छिमेकी चीनसँग सहयोग मागेपछि उसले सहयोगस्वरूप २००० हजार अक्सिजन सिलिन्डर दिने आश्वासन दियो । तर, सरकारी स्वामित्वको जहाज अक्सिजन लिन चीन गए पनि जम्मा ४ सय थान सिलिन्डर बोकेर गत बुधबार काठमाडौं ओर्लियो । यसले पनि अक्सिजन अभाव चुलिएको हो ।

 

उपत्यकाका ११ अस्पतालले उठाए हात 

 

कोरोना संक्रमितको चाप ह्वात्तै बढेपछि राजधानी काठमाडौंमा पनि अक्सिजन सिलिन्डर हाहाकार भएको छ । सरकारले उपत्यकाका सरकारी अस्पताललाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिसकेको छ । अन्य निजी अस्पताललाई पनि आवश्यकताअनुसार सोही कार्यक्रमा खटाइने जानकारी स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पत्रकार सम्मेलनबाटै दिइसके ।

 

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाका ११ भन्दा बढी अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामीको उपचारबाट हात झिकेका छन् । निजी अस्पतालहरूको संस्था अफिनले सरकारलाई चिठ्ठी लेखेरै अक्सिजन अभावका कारण थप संक्रमित बिरामीका उपचार गर्न नसकिने जनाउ दिएको हो ।

 

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुरले थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने बताइसकेका छन् । यस्तै, ओम अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, हिमाल अस्पताल, नेपाल भारतमैत्री अस्पतालले अक्सिजन अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसकिने सूचना जारी गरेका छन् । सरकारले अक्सिजन सिलिन्डरको कोटा छुट्याएपछि अस्पतालहरूले हात उठाएका हुन् ।

 

स्वास्थ्य मन्त्रालयको हावादारी निर्देशन

 

स्वास्थ्य मन्त्रालयले २०० बेड भएका अस्पताललाई १५ दिनभित्र अनिवार्य अक्सिजन प्लान्ट जोड्न निर्देशन दियो । सरकारी अस्पतालसँगै निजी अस्पतालले पनि यसमा असहमति जनाए । कोराना संक्रमण फैलिँदै गएकाले सरकारले भनेको १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने सुमेरु अस्पतालका प्रबन्ध निर्देशक तथा निजी अस्पताल सञ्चालकहरूको संस्था ‘एसोसिएसन अफ प्राइभेट हेल्थ अर्गनाइजेसन नेपाल’ (अफिन) का महासचिव हेमराज ढकाल बताउँछन् ।


नेपालमा २० वटा अक्सिजन उद्योग


नेपालमा हाल साना-ठूला गरी २० वटा अक्सिजन उद्योग सञ्चालनमा रहेको संघको तथ्यांकमा उल्लेख छ । तीमध्ये काठमाडौं उपत्यकामा मात्रै ८ वटा अक्सिजन उद्योग सञ्चालनमा छन् ।

 

महामारीले सिकायो पाठ

 

कोरोना महामारीमा अक्सिजन अभाव चुलिएपछि निजी अस्पतालहरूले संयुक्त प्लान्ट बनाउनेबारे छलफल थालेका छन् ।

 

सरकारले भनेअनुसार १५ दिनमा प्लान्ट गर्न नसके पनि छिटै काठमाडौं उपत्यकामा दैनिक ५ हजार सिलिन्डर अक्सिजन उत्पादनको गृहकार्यमा निजी अस्पताल लागेको अफिनका पदाधिकारी बताउँछन् ।

 

संघको तथ्यांक दैनिक ८ हजार सिलिन्डर उत्पादन 
स्वास्थ्यले भन्यो- दैनिक १५ हजार सिलिन्डर माग

 

अक्सिजन उत्पादक संस्था संघका नेपालमा दैनिक ८ हजार सिलिन्डर उत्पादन हुन्छ । तर, ८ हजार सिलिन्डर भनिए पनि कहिले प्लान्ट मर्मत त कहिले बिग्रने समस्या कारण भनेजति उत्पादनमा थपघट हुने गरेको संघको तथ्यांक छ ।

 

तर, स्वास्थ्य मन्त्रालयले कोरोना महामारीका संक्रमित बढेपछि अहिले दैनिक माग १५ हजार सिलिन्डरसम्म पुगेको नपत्याउँदो आँकडा सार्वजनिक गरेको छ । आउँदो असारसम्म ५ लाख ६६ हजार सिलिन्डर अक्सिजन आवश्यक पर्ने मन्त्रालयको अनुमान छ ।

 

कोरोना संक्रमणको पहिलो लहरमा कुल उत्पादनको २० प्रतिशत मात्रै अक्सिजन कोभिड बिरामीका लागि खपत भएको उसले तथ्यांक सार्वजनिक गरेको छ ।

 

कहाँ चुक्यो सरकार ?


जनस्वास्थ्यविद् बाबुराम मरासिनी कोरोनाको पहिलो लहरमा खासै अक्सिजन अभाव नचुलिए पनि दोस्रो लहरले गाँजेपछि सरकारको तयारी फितलो भएको सुनाउँछन् । उनले भने, ‘सरकारले संक्रमितको संख्या प्रक्षेपण त गर्‍यो तर अक्सिजन बेडको आवश्यकताबारे गम्भीर भएन । त्यसैको परिणाम अहिले अभाव चुलिएको हो ।’ 

 

प्रधानमन्त्रीको बेलगाम बोली: अस्पतालमा शय्या जति पनि छन् 

 

कोरोना महामारीका कारण संक्रमित बिरामी उपचारका अस्पताल जाँदा बेड र अक्सिजन अभावमा तड्पिइरहेका बेला शुक्रबार मात्र ४३औँ प्रधानमन्त्रीको सपथ खाएका प्रधानमन्त्री केपी ओलीले सिंहदबार पुगेर कार्यभार सम्हालेलगत्तै बोले: अस्पतालमा मागअनुसारका शय्या छन्, अक्सिजन अभाव मात्र भएको हो । त्यो पनि छिट्टै जोरजाम गर्छौं ।

 

नागरिकले आइसियु भेन्टिलेटर पाउनु त कता हो कता, अस्पताल छेउछाउ बसेर उपचार गराइरहेको दृश्यमा प्रधानमन्त्रीको आँखा पुगेन । अक्सिजन अभावकै कारण हरेक दिन नागरिकको जीवन गुमेकोप्रति पनि प्रधानमन्त्री बेखर रहेजस्तो देखियो ।

 

कोरोना महामारीमा नागरिकको उपचारमा अब्बल मानिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमै नागरिकको बेहाल छ भने अन्यत्रका अस्पतालको अवस्था झनै भताभुंग छ । कोरोनाका बिरामीहरू सुविधासम्पन्न अस्पताललाई रोज्दा त्यहाँ बेड अभाव भए पनि अन्यत्रका अस्पतालमा बेड खाली भएको प्रधानमन्त्रीको बोलीले जोकोही नागरिकको मन अमिलिन्छ ।

 

पूर्वस्वास्थ्यमन्त्री थापा भन्छन्: भद्रगोल व्यवस्थापनले संकट

 

पूर्वस्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद गगन थापा कोरोना महामारीमा बेड र अक्सिन अभाव चुलिनुमा व्यवस्थापन पक्ष फितलो हुनुलाई कारक मान्छन् । सरकारले पहिलो महामारीका बेला मुलुकभर भर कोभिड अस्पताल खोले पनि डाक्टर पुर्‍याउन नसक्दा सबै बिरामी राजधानी आउनुपर्ने बाध्यताले यस्तो अवस्था आएको हो । म स्वास्थ्यमन्त्री छँदा देशैभर डाक्टर पुर्‍याउने योजना बुनेको थिएँ । मेरो योजनालाई कार्यान्वयन गरिदिएको भए अहिले बिरामीले बेड र अक्सिजन अभाव झेल्नुपर्दैनथ्यो ।


पहिलो चरणकै कोरोना महामारीको योजनालाई फलो गरेको भए अहिलेको संकट केही रोकथाम गर्न सकिन्थ्यो । पहिलो चरणको कोरोना संक्रमण क्रमशः मत्थर हुँदै सरकार पनि सुस्तायो । अब कोरोना हट्यो भन्ने लाग्यो सबैलाई । स्वास्थ्य मन्त्रालयले पनि यसप्रति ध्यान दिन नसकेको देखियो । हामीकहाँ कुनै विपद् निम्तिएपछि मात्रै व्यवस्थापनमा जुट्ने राज्यसंयन्त्रका कारण पनि महामारीलाई नियन्त्रणमा ल्याउन सकस हुने गरेको छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले नै पूर्वरणनीति बनाउनुपर्थ्याे ।

 

पूर्वस्वास्थ्यमन्त्रीको हैसियतमा मैले सरकारका निकाय र प्रधानमन्त्रीसम्मलाई भेटेर यसबारे कुरा राखेको थिएँ । तर, मेरो सुझावलाई बेवास्ता गरियो । कोरोना महामारीका बेला सरकारी संयन्त्र अहिले पनि सुस्त छ । सरकारले महामारी नियन्त्रणमा ल्याउँछौँ त भनेको छ तर कसरी ल्याउने भन्नेमा आफैं अलमलमा छ ।

 

हामी गरिब देशका नागरिक भएकाले समृद्ध भारतले जस्तै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग गर्नुपर्‍यो । आफ्ना संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सक्नुपर्‍यो । सबै कुरा सरकारको थाप्लोमा हाल्नुभन्दा पनि उसले व्यवस्थापनमा ध्यान दिए अझै केही बिग्रिएको छैन । नागरिक अनुशासित हुनुपर्‍यो । नागरिकको सहयोग र सरकारको तीव्र तयारीले मात्र महामारीलाई काबुमा राख्न सकिन्छ भन्ने मेरो विश्वास छ ।