close

रूपन्देहीका अक्सिजन उद्योगमा नेपाली सेनाको जनशक्ति खटिँदै

रूपन्देहीका अक्सिजन उद्योगमा नेपाली सेनाको जनशक्ति खटिँदै

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीका अस्पतालमा अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भइरहेका बेला सहज आपूर्ति र व्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन हुने भएको छ ।

 

रूपन्देहीको जिल्ला सुरक्षा समिति, अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले यहाँका सबै अक्सिजन उद्योग र प्लान्ट व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको हो ।

 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले यसका लागि नेपाली सेना गरुण दल गण रामनगर ब्यारेकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 

प्रजिअ तामाङका अनुसार यो निर्णयसँगै शनिबारदेखि रूपन्देहीमा रहेका अक्सिजन उद्योग तथा प्लान्टमा नेपाली सेनाको जनशक्ति खटिनेछ । अक्सिन सहज आपूर्तिका लागि सेनाले व्यवस्थापन गर्नेछ ।


यसबाट अक्सिजन उत्पादन वृद्धि र प्रभावकारी व्यवस्थापन गर्न सहज पुग्ने विश्वास उनको छ । 

 

प्रजिअ तामाङले भने, ‘सेनाले व्यवस्थापन गरे अक्सिजन उत्पादन र वितरण प्रक्रियामा सहज व्यवस्थापन हुनेछ । जिल्लामा अक्सिजन अभाव हटाउन प्रयास भइरहेका छन् ।’

 

बैठकमा सुरक्षा अधिकारीसहित अक्सिजन उत्पादक प्लान्टका व्यवस्थापक र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलगायतको सहभागिता थियो ।

 

रूपन्देहीमा शंकर अक्सिजन ग्यास छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डष्ट्रिज पड्सरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् । 

 

यहाँको उत्पादन अन्य जिल्लामा समेत माग भएको छ । गुल्मीबाट अक्सिजन लिन आएको जिल्ला अस्पतालको गाडी २ दिनदेखि लाइनमा बसेको छ ।

 

कपिलवस्तु, पाल्पालगायत क्षेत्रका अस्पतालका गाडी अक्सिजन ग्यास लिन लाइनमा रहेका छन् । केही दिनदेखी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवास्थित भीम अस्पतालमा अक्सिजन ग्यास अभावमा ९ जनाको मृत्यु भएको थियो ।