close

संक्रमितकाे संख्या बढ्पछि हुम्लाका २ गाउँपालिका सिल

संक्रमितकाे संख्या बढ्पछि हुम्लाका २ गाउँपालिका सिल

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लामा कोरोना संक्रमण उच्च भएपछि २ वटा गाउँपालिका सिल गरिएको छ । बाजुरासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर ५ सिल गरिएको हो ।

 

ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएपछि अनिश्चित समयका लागि सिल गरिएको पालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए । पालिकामा कोरोनाका संक्रमितको संख्या बढेपछि ताँजाकोटका सम्पूर्ण कार्यालय सिल गरिएको हो ।

 

बुधबारबाट गरिएको कोरोना परीक्षणमा झन्डै ५० प्रतिशतमा संक्रमण पुष्टि भएपछि कार्यालय अर्को सूचना जारी नभएसम्म सिल गरिएको हो ।

 

सामान्य रुघाखोकी र ज्वरो आएका ४६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएपछि थप फैलिन नदिन बढी जनसम्पर्क हुने कार्यालय सिल गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । उनले भने, ‘सबै कर्मचारी नै महामारीमा जुट्नुपर्ने भएकाले नियमित काम स्थगन गरेर कार्यालय बन्द गर्ने निर्णय गरेका हौँ ।’

 

गाउँपालिका आफैँले ५०० वटा एन्टिजेन किट खरिद गरेर बुधबारबाट परीक्षण सुरु गरेको थियो । पहिलो दिनमै ८ जनामा संक्रमण पुष्टि भएको ताँजकोटमा बिहीबार स्वास्थ्यकर्मीको ४ वटा टोली बनाएर विभिन्न बस्तीमा परीक्षण गर्दा कुल संक्रमितको संख्या १९ पुगेको छ ।


अझै केही बस्तीमा परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याँकुले जानकारी दिए । 

 

यस्तै, सर्केगाड गाउँपालिकामा शुक्रबार ४ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५ मा १५ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएपछि वडा नम्बर ५ को गोठीगाउँलाई १० दिनका लागि सिल गरिएको पालिका अध्यक्ष कृष्ण रोकायाले बताए ।

 

सिलपछि एक घरबाट अर्को घर जानसमेत रोक लगाइनुका साथै गाउँमा स्वयंसेवक परिचालन गरिएको पालिका अध्यक्ष रोकायाको भनाइ छ । गाउँपालिकामा रहेका प्रत्येक वडामा परीक्षणको दायरालाई बढाइने उनको भनाइ छ ।