close

संक्रमित बोक्दै नगरप्रमुख र उपप्रमुखको गाडी 

संक्रमित बोक्दै नगरप्रमुख र उपप्रमुखको गाडी 

Trulli
ADVERTISEMENT

खोटाङ- कोभिड-१९ को महामारीका बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइएको छ । 

 

नगरप्रमुख दीपनारायण रिजालले प्रयोग गर्दै आएको आएको बा२झ ३४६७ नम्बरको गाडी र उपप्रमुख वीणादेवी राईले प्रयोग गर्दै आएको को१झ ६६८ नम्बरको गाडीलाई एम्बुलेन्स रूपमा उपयोगमा ल्याइएको हो ।

 

कोभिड-१९ बाट गम्भीर बिरामी भएका संक्रमितलाई नगरपालिकाको आइसोलेसन सेन्टरसम्म पुर्‍याउन वा थप उपचारका लागि रेफर भएको अवस्थामा काठमाडौं, विराटनगरलगायत अस्पताल लैजान उपयोग गर्ने गरी प्रमुख रिजाल र उपप्रमुख राईले आफ्ले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा उपयोगमा ल्याएको हो । 

 

शनिबार १ जना संक्रमितलाई नगरप्रमुखको गाडीमार्फत विराटनगर पठाएर नगरपालिकाको गाडीलाई औपचारिक रूपमा एम्बुलेन्सको रूपमा प्रयोग गरिएको हो । नगरप्रमुख र उपप्रमुखले कोभिड-१९ को महामारी नियन्त्रण नभएसम्मका लागि गाडीलाई बिरामी ओसार-पसारमा प्रयोग गर्ने बताएका छन् । 

 

बिरामी बोक्ने अन्य भाडाका गाडी नपाइने, पाइए पनि चालकले बोक्न नमान्ने अवस्था भएकाले नगरपालिकाकै गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याइएको नगरप्रमुख रिजालले बताए ।

 

‘गाउँमा गम्भीर बिरामी भएर दिक्तेलसम्म ल्याउनुपरे अथवा आइसोलेसन सेन्टर लैजानुपरे र यहाँबाट रेफर गरेर काठमाडौं वा विराटनगर लैजान परे भने यही गाडीलाई प्रयोग गर्छौैं,’ नगरप्रमुख रिजालले भने, ‘भाडाका कुनै पनि गाडीले पोजिटिभ बिरामी बोक्न मानेनन् । सोही कारण नगरपालिकाकै गाडी प्रयोग गरिएको हो ।’ 

 

१५ वटा वडा रहेको नगरपालिकामा हालसम्म ५३ जना बढीलाई संक्रमण पुष्टि भइसकेको छ । नगरप्रमुखले चढ्दै आएको गाडी एससडिसीले उपलव्ध गराएको हो भने उपप्रमुख चढ्दै आएको गाडी स्वयं नगरपालिकाले खरिद गरेको हो ।

 

‘यो बेला भनेको समय एम्बुलेन्स पाइँदैन । आवश्यकता परेको अवस्थामा जुनसुकै बेला हाम्रो गाडी बिरामी बोक्न तयार छ,’ उपप्रमुख राईले भनिन्, ‘नगरपालिकामा अक्सिजन पनि छ । चाहिने अवस्थामा गाडीमा अक्सिजनको पनि व्यवस्था हुन्छ ।’


यसअघि हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले पनि आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा उपयोग गर्न स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेकी छन् ।