close

कोरोना त्रासले सुरक्षित गर्भपतन सेवामा असर

कोरोना त्रासले सुरक्षित गर्भपतन सेवामा असर

Trulli
ADVERTISEMENT

रुपन्देही - कोरोना महामारी संक्रमणको त्रासले देशभर नै सुरक्षित गर्भपतन सेवा लिनेहरूको संख्या ह्वात्तै घटेको छ । सरकारी तथ्यांकमा गत वर्षको तुलनामा २६ प्रतिशत सेवाग्राही घटेको देखाएको हो ।


केन्द्रमा सेवाग्राही घटेपछि प्रदेश ५ मा रहेका सरोकारवाला सेवाप्रदायकले टोल फ्री र घरदैलो कार्यक्रम सुरु गरेका छन् ।


प्रदेश ५ मा पछिल्लो ३ वर्षको तथ्यांक केलाउँदा सर्जिकल सेवा लिने सेवाग्राही १० प्रतिशतले घटेको स्वास्थ्य निर्देशनालयका प्रजनन् स्वास्थ्य सेवाका फोकल पर्सन कौशल भण्डारीले बताए । आर्थिक वर्ष ०७४/०७५ मा ८ हजार ३ सय २५ जनाले सर्जिकल तथा १० हजार १ सय ३८ जनाले मेडिकल गर्भपतन गराएका छन् ।


यसैगरी आव ०७५/७६ मा ७ हजार १ सय ८६ जनाले सर्जिकल तथा १० हजार १ सय २७ जनाले मेडिकल गर्भपतन सेवा लिएका छन् । पछिल्लो आर्थिक वर्षमा कोभिडका कारण मेडिकलमा गर्भपतन गराउनेको संख्या बढेको छ भने सर्जिकल सेवा लिनेको संख्या घटेको छ ।


गत आव ०७६/७७ मा सर्जिकल सेवा ६ हजार ८ सय २५ जनाले लिएका थिए भने ११ हजार ९ सय ३५ जनाले मेडिकल सेवा लिएको देखिएको छ ।


छैटौं सुरक्षित गर्भपतन सेवा दिवस अवसरमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा यो वर्ष ‘सुरक्षित गर्भपतनप्रतिको हाम्रो प्रतिबद्घता : कोभिड–१९ को महामारीमा सेवाको सुनिश्चितता’ नारा तय भएको फोकल पर्सन कौशल भण्डारीले जानकारी दिए ।


प्रदेश ५ स्वास्थ्य निर्देशनालय, नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा, आईपास नेपाल, मेरिस्टोप्स इन्टरनेसनल, पीएसआईको सहकार्यमा सरोकारवालाबीचमा अन्तरक्रिया चलाइएको हो ।


सुरक्षित गर्भपतनका लागि ४ वटा मुख्य  कुरा आवश्यक पर्ने हुँदा हरेक सेवाग्राहीले सूचीकृत सेवाप्रदायक, स्वास्थ्य संस्था, गोपनीयता र कानुनी दायराभित्र रहेर सेवा लिनुपर्ने उनले बताए । 


नेपालमा करिब ५० प्रतिशत महिलाको विवाह १८ वर्षभन्दा कम उमेरमा हुने, ५० प्रतिशत महिलाले १८ वर्ष वा योभन्दा कम उमेरमा प्रथम पटक यौनसम्बन्ध राख्ने, ४ प्रतिशत किशोरीहरूले १५ वर्ष वा सोभन्दा कम उमेरमा प्रथम पटक यौनसम्बन्ध राख्ने तथा १५ देखि १९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने तथ्यांकले देखाएको छ ।


किशोरीहरूलाई सहज प्रजनन तथा सुरक्षित गर्भपतन सेवाको आवश्यकता रहेको फोकल पर्सन भण्डारीले बताए । ‘नेपालमा प्रतिघन्टा २१ जना, प्रतिदिन ५ सय २० जना, प्रतिमहिना १५ हजार ५ सय १२ र प्रतिवर्ष १ लाख ८६ हजार १ सय ४४ जनाले असुरक्षित गर्भपतन गराउने देखिएको छ’, भण्डारीले तथ्यांक प्रस्तुत गरे ।


विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिवर्ष करिब २० करोड ८ लाख महिला गर्भवतीमध्ये ४ करोड ५० लाख तथा २२ प्रतिशतले गर्भपतन गराउँछन्  । यसमा ५१ प्रतिशतले मात्र सुरक्षित गर्भपतन गराएको देखिएको भण्डारी बताउँछन् ।


प्रतिवर्ष ५० लाख महिला असुरक्षित गर्भपतनको जटिलताका कारणले विभिन्न रोगबाट ग्रसित हुने गरेको देखिएको छ । परिवार नियोजन सेवा लिँदालिँदै समस्या भए मात्र सुरक्षित गर्भपतन सेवा लिनुपर्ने भण्डारीको तर्क छ ।


स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्रलाल अर्यालले सुरक्षित गर्भपतनका लागि सरोकारवाला एक भएर लाग्न जरुरी रहेको आवश्यकता औंल्याए । ‘गर्भपतनलाई बढावा दिनेभन्दा पनि सुरक्षित गर्भपतनमार्फत महिलाको स्वास्थ्यमा ध्यान पुर्‍याउन जरुरी छ’, अर्यालले भने । नेपाल परिवार नियोजन शाखा कार्यालय शाखा प्रबन्धक मोहन बस्यालले कोभिड–१९ को संक्रमणको त्रासका कारण सुरक्षित गर्भपतन गराउनेहरू स्वास्थ्य केन्द्रमा नआएको बताए ।

 

‘विकल्पका रुपमा नजिकको औषधी पसलबाट असुरक्षित रुपमा गर्भपतन गराउने दर बढेको छ ।  सुरक्षित गर्भपतनका लागि टोल फ्री टेलिफोनमार्फत र घरदैलो कार्यक्रम चलाउने तयारीमा छौं’, उनले भने ।परिवार स्वास्थ्य महाशाखाको नयाँ गाइडलाइनले स्वास्थ्य संस्था सूचीकृत नभए पनि व्यक्ति सूचीकृत भए हुने भनेकाले यसलाई सहज बनाएको उनले बताए ।


नेपाल परिवार नियोजनका सिनियर स्टाफ नर्स विष्णु गुरुङले अझै पनि परिवार नियोजन र सुरक्षित गर्भपतनबारे सचेतना जगाउने कार्यक्रम चलाउन आवश्यक रहेको बताइन् । ‘नेपालमा सुरक्षित गर्भपतनबारे ४१ प्रतिशतलाई मात्र जानकारी भएको तथा परिवार नियोजन सेवा ४२ प्रतिशत महिलाले लिँदै आएको तथ्यांक छ’, उनले भनिन् ।


यस्तै, नेपालमा कुल १३ लाखले अहिलेसम्म यो सेवा लिएको गुरुङले बताइन् । कोभिड–१९ का कारण सुरक्षित गर्भपतन लिने सेवाग्राही घट्नुले महिलामा स्वास्थ्य समस्या झनै बढ्ने उनको तर्क छ ।  ‘अहिलेको अवस्थालाई दृष्टिगत गरी सुरक्षित गर्भपतनसम्म पहुँच पुर्‍याउन सरकारले नयाँ गाइड लाइन ल्याएको छ र परिवार नियोजन संघले विभिन्न अभिमुखीकरण गरी सेवा सञ्चालन गरिरहेको छ’, गुरुङले भनिन् ।


घरघरमै पुगेर परिवार नियोजन र सुरक्षित गर्भपतन सेवा दिने तयारी सुरु गरेको गुरुङले जानकारी दिइन् । नेपालमा पछिल्लो समय मातृमृत्युदर घटिरहेको बेला यसलाई स्थिर राख्न पनि सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको उनको भनाइ छ ।


प्रदेशमा मेडिकल गर्भपतन गराउनेको संख्या बढेको छ तर सर्जिकल गर्भपतन घटेको देखिएको छ । मेरिस्टोप्सका स्टाफ नर्स कमला कुँवर सेवाग्राहीको संख्या घटेको बताउँछिन् । ‘सेवाग्राही घटेपछि घरदैलो सेवा र टोल फ्री चलाएर सेवालाई निरन्तरता दिँदै आएका छौं’, उनले भनिन् ।