close

कोभिड संक्रमितलाई चन्दननाथको कोसेली 

कोभिड संक्रमितलाई चन्दननाथको कोसेली 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोनाले संक्रमित भएका नागरिकले घरघरमै पुगेर पोषिला खानेकुरा, स्वास्थ्य सामग्री र भिटामिनयुक्त कोसेली वितरण गरेको छ ।

 

नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले संक्रमितका घरघरमा पोषिला आहारसँगै स्वास्थ्य सामग्री पु¥याउने निर्णय गरेपछि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर संक्रमितका घर–घर पुगेका हुन् ।

 

चन्दननाथ नगरपालिकामा हालसम्म ६७ जना संक्रमित छन्, जसमध्ये ४३ जना होम आइसोलेसनमा छन् । बाँकी कर्णाली प्रतिष्ठानको आइसोलेसनमा उपचाररत छन् ।

 

घरमा बसेका र अस्पतालबाट फर्किने गरी पहिलो चरणमा चन्दननाथका ५५ जना संक्रमितलाई घरमै पुगेर पोषिलो आहार, स्वास्थ्य सामग्री र भिटामिन वितरण गरिएको हो । 

 

होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने उपाय सिकाउनुका साथै मनोबल उच्च पार्न परामर्शसमेत दिइन थालेको छ । चन्दननाथले संक्रमितका घरघर पुगेर भेटघाट तथा पोषिला आहारा दिने कार्यक्रमले संक्रमित पनि खुसी छन् ।

 

चन्दननाथ नगरपालिकाका १० वटै वडाका ५५ संक्रमितलाई निको नभएसम्म घरमै पुगेर चना २ केजी, अन्डा १ क्यारेट, च्यावनप्रास १ बट्टा, १५ दिनका लागि भिटामिन सी र भिटामिन बीका साथै साबुन २ चक्की, स्यानिटाइजर १ बट्टा र मास्क २ प्याकेट वितरण गरिएको चन्दननाथ विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए ।

 

कोरोनालाई जित्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन, संक्रमितको स्वास्थ्य स्थिति बुझ्न जोखिम मोलेरै भए पनि संक्रमितका घरघर पुगेर पोषिला आहारा दिनुका साथै परामर्श गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । नगरभित्रका संक्रमितको जीवनरक्षाका लागि सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि खटिएको र संक्रमितका समस्या नगरपालिकाले समाधान गर्ने उनको भनाइ छ ।

 

कोभिड एम्बुलेन्सका लागि भ्यान भाडामा लिने, आवश्यकताअनुसार संक्रमित ओसार्न एम्बुलेन्स प्रशासनलाई दिने तयारी भएको सुनाइन् ।

 

चन्दननाथ नगरपालिका वडा नम्बर १ वडाध्यक्ष जयबहादुर रावलले पोषिला आहार, स्वास्थ्य सामग्रीसहित स्वास्थ्य स्थिति बुझ्न घरमै गएपछि संक्रमित खुसी भएको बताए । जिल्लाकै सबैभन्दा बढी संक्रमित रहेको चन्दननाथ नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियानलाई जोड दिइएको छ ।

 

होम आइसोलेसनमा बसेकाबाट संक्रमण फैलिने त्रास बढेकाले उनीहरूलाई सम्झाउने र पोषिला खानेकुरा दिने तथा स्वास्थ्यकर्मीले संक्रमितको नियमित निगरानी राखेको चन्दननाथका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगीले बताए ।

 

चन्दननाथ नगर क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका कारण बजेट पनि नभएकाले नगरपालिकाको छुट्टै आइसोलेसन र कोभिड अस्पताल निर्माण नगरेको योगीले जानकारी दिए । जुम्लाका कुल संक्रमित २२४ जनामध्ये ९० प्रतिशत संक्रमित होम आइसोलेसनमा बसेका छन् ।