close

संक्रमितका घरघरमा आयुर्वेदिक औषधि पुर्‍याउँदै गैँडाकाेट

संक्रमितका घरघरमा आयुर्वेदिक औषधि पुर्‍याउँदै गैँडाकाेट

Trulli
ADVERTISEMENT

नवलपुर- गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सक्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । 

 

आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेका हो । आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको स्वास्थ्य एकाइले जनाएको छ । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने छ । 

 

आयुर्वेद औषधालयका प्रमुख, आधारभूत स्वास्थ्य एकाइ गैँडाकोटका प्रमुख सिनियर अहेव टुकराम सुवेदी र औषधालयका कर्मचारी गोपालप्रसाद सापकोटासहितको टोलीले होम आइसोलेशनमा रहेकाहरुको हौसला बढाउने आयुर्वेदिक औषधि वितरण गरेको हो । 

 

टोलीले सङ्क्रमितहरुलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै सम्पर्क गर्न आग्रह गर्ने गरिएको नगरपालिकाले जनाएको छ । सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण गर्दा उनीहरुमा रोगलाई जित्न आत्मबल बढ्ने पालिकाको विश्वास छ ।


यसअघि पनि सङ्क्रमितहरुको घरमै गएर उनीहरुको नियमित स्वास्थ्य अवस्थाबारे पालिकाले जानकारी लिने काम गरिरहेको नगरप्रमुख छत्रराज पाैडेलले पालिका खबरलाई जानकारी गराए । गैँडाकोट-२ मा ८१ र ४ मा ७२ गरी १५३ कोरोना सङ्क्रमित रहेका छन् । पछिल्लो चौबिस घण्टामा गैँडाकोटका २२ जनाले कोरोना जितेका छन् ।