close

स्कर्पियो छाेडेर माेटरसाइकलमै हुइँकिन्छन् खोटाङका जनप्रतिनिधि

भन्छन्: जनता लौरो टेकेर हिँडेका बेला हामी स्कर्पियोमा हुइँकिन मिल्दैन 

स्कर्पियो छाेडेर माेटरसाइकलमै हुइँकिन्छन् खोटाङका जनप्रतिनिधि

भन्छन्: जनता लौरो टेकेर हिँडेका बेला हामी स्कर्पियोमा हुइँकिन मिल्दैन 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा ४ पांग्रे गाडी चढ्दैनन् । गाउँपालिकाको काममा होस् या व्यक्तिगत काममा । अध्यक्ष बञ्जरा मोटरसाइकलमै हिँडडुल गर्छन् । 

 

सभा, सम्मेलन, गोष्ठीलगायतका सिलसिलामा दिक्तेल, विराटनगर वा काठमाडौं यात्रा गर्नुपरे उनी मोटरसाइकलमै ओहोरदोहोर गरिरहेका देखिन्छन्/भेटिन्छन् । 

 

सोही गाउँपालिकाकी उपाध्यक्ष गोमा मगर पनि मोटरसाइकलमै यात्रा गर्छन् । घरबाट गाउँपालिका आउजाउ गर्ने क्रममा दैनिक मोटरसाइकलकै पछि बसेर यात्रा गरिरहेका हुन्छन्, उनीहरू । 


अध्यक्ष बञ्जरा र उपाध्यक्ष मगरले ‘स्कर्पियो चढ्ने मोह’ त्यागेर मोटरसाइक चालक नियुक्त गरेका छन् । मोटरसाइकलमा असम्भव भएको अवस्थामा मात्र उनीहरूले अन्य गाडी प्रयोग गर्ने गरेका छन् । अध्यक्ष बन्जरा कांग्रेस र उपाध्यक्ष मगर एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

 

बराहपोखरी गाउँपालिकासँगै जोडिएको जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंखरबहादुर राई र उपाध्यक्ष विमला राईले पनि हालसम्म ४ पांग्रे गाडी किनेका छैनन् । 

 

गाउँपालिकाभित्र हुने हरेक शिलान्यास, उद्घाटन, अनुगमन, जनतासँगको भेटघाटजस्ता कामको सिलसिलामा वडा–वडा पुग्ने क्रममा अध्यक्ष र उपाध्यक्ष मोटरसाइकलमै धुलो उडाउँदै कुद्छन् । जन्तेढुंगामा अध्यक्ष र उपाध्यक्ष बोक्ने मोटरसाइकल चालक नियुक्त गरिएको छ ।

 

जन्तेढुंगामा सुरुमा गाडी खरिदका लागि चर्चा भएको थियो । तर, वडा–वडामा सडकको पहुँच पुगेकै थिएन । बाटो बनिनसक्दै गाडी किन्नुको सट्टा बाटो विस्तार गर्न जेसिबी खरिद गर्ने योजना अघि सारियो । जेसिबी खरिद गरेर सडक बनाउने काम थालिएपछि गाडी किन्ने योजना थाती राखिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

 

‘पहिला जेसिबी किनेर बाटो बनाउने भनेर पहिलो वर्ष जेसिबी किन्यौँ । जेसिबी किनेपछि बाटो बन्दै गयो तर हामी आफू चढ्ने गाडी नकिन्ने निर्णय ग¥यौँ,’ अध्यक्ष राईले भने, ‘त्यसपछि हामीलाई गाडी होइन, जनतालाई एम्बुलेन्स चाहिन्छ । घर–घरमा एम्बुलेन्स पुग्ने वातावरण बनाउन लागेका छौँ । हामी बाइकमै हिँडिरहेका छौँ ।’ 

 

हाल मुलुकका अधिकांश स्थानीय तहका जनप्रतिनिधिले लाखौँ बजेट विनियोजन गरेर ४ पांग्रे सवारी साधन खरिद गरेर प्रयोग गरिरहेका छन् । कतिपय जनप्रतिनिधिले विभिन्न दाताबाट प्राप्त गाडी चढिरहेका छन् ।

 

स्थानीय तहका प्रमुख÷उपप्रमुखले मात्र नभएर वडा–वडाले समेत बजेट विनियोजन गरेर मोटरसाइकल खरिदमा रकम खर्च गरेका छन् । कहिलेकाहीँ यस्ता सवारी साधनलाई जनप्रतिनिधि मात्र नभएर नेता तथा कार्यकर्ता ओसार्नमा समेत प्रयोग गर्ने गरिएको जनगुनासो हुँदै आएको छ ।

 

तर, खोटाङका १० स्थानीय तहमध्ये बराहपोखरी, जन्तेढुंगासहित साकेला र केपिलासगढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले हालसम्म चार पांग्रे गाडी खरिद गरेका छैनन् । 

 

साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का, उपाध्यक्ष सरिता खड्का, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरादेपी वन पनि हालसम्म मोटरसाइकलमार्फतै गन्तव्यमा पुगिरहेका देखिन्छन् ।

 

गाडी खरिद गर्ने रकम अन्य योजनामा हालेको उनीहरू बताउँछन् । ४ पांग्रे गाडी किनेर मर्मत र इन्धनमा हुने मासिक ४०÷५० हजार रुपैयाँ खर्च जोगाइरहेको उनीहरूको दाबी छ ।

 

गाउँपालिकाका सबै ठाउँमा सडकको पहुँच विस्तार र सबै जनताले गाडी चढ्ने वातावरण बनेपछि मात्र आफूहरू गाडी चढ्ने बराहपोखरीका अध्यक्ष बञ्जरा बताउँछन् ।

 

‘हाम्रो पालिका भूगोलले पिछडिएको ठाउँ हो । बाटाघाटा छैनन् । जनता लौरो टेकेर हिँड्ने, अध्यक्ष र उपाध्यक्ष ऐसआराम गर्दै स्कर्पियोमा हुइँकिन सुहाउँदैन । त्यही भएर मेरो कार्यकालभर गाडी किन्दिनँ । बाटोको व्यवस्थापन गर्ने हो,’ अध्यक्ष बञ्जराले भने, ‘जनता गाडी चढ्ने भएपछि मात्र हामी चढौँला ।’ 

 

जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई, रावाबेँसी गाउँपालिकाका उपाध्यक्ष समला राई र खोटेहाङ गाउँपालिका उपाध्यक्ष कविता राईका लागि पनि हालसम्म ४ पांग्रे गाडी खरिद गरिएको छैन । उनीहरू कहिलेकाहीँ मात्र अध्यक्ष चढ्ने गाडीमा चढ्छन् नभए बाइकमै यात्रा गर्छन् । हालसम्म बनेका कच्ची बाटोमा बर्खायामका बेला जनप्रतिनिधिकै गाडी हिलोमा भासिएर रोकिने गरेको छ ।