close

बनेपा नगरपालिका ‘सिल’

बनेपा नगरपालिका ‘सिल’

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण दर उच्च  रहेको बनेपा नगरपालिकामा मंगलबार रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालासँगको सोमबारको बैठकले मंगलबार राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो ।

 

कारोना संक्रमणको दोस्रो लहर तीब्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले पालिका खबरलाई जानकारी दिए । वादेका अनुसार मंगलबार राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । 'औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ', वादेले भने ।

 

नगरपालिकाले जारी गरेको अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत उल्लेख गरिएको छ । साथै सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ । जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो ।

 

नगरमा हाल जिल्लामा रहेका कूल कोरोना सङ्क्रमितमध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् ६९७ मा संक्रमण देखिएकोे छ भने १० को मृत्यु भएको छ । पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोकमा दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १७८, अघिल्लो दिन १९८ तथा शुक्रबार १५१ मा कोरोना संक्रमण पुष्टि भयो । दैनिक ३० को हाराहारीमा कोरोना संक्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्याङ्कले देखाएको छ ।

 

जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार हाल कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा एक हजार ९८९ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये धुलिखेलमा ४१४, पनौतीमा ३९९, पाँचखालमा १२४, नमोबुद्धमा ८१, मण्डनदेउपुरमा ११० तथा रोशी गाउँपालिकामा ३५, चौँरीदेउरालीमा २६, तेमालमा ३०, भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ सक्रिय सङ्क्रमित रहेका छन् । 

 

कूल सङ्क्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८९१ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन् । हालसम्म जिल्लाका ८५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।