close

जुम्ला प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण: सीमा क्षेत्रमा हेल्थ डेस्क 

जुम्ला प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण: सीमा क्षेत्रमा हेल्थ डेस्क 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा कोरोना संक्रमण बढेपछि आउजाउमा कडाइ गरिएको छ । गत २२ वैशाखदेखि निषेधाज्ञा भएको जुम्लामा पछिल्लो समय ११ जेठसम्म थपिएको छ ।

 

पछिल्लो निषेधाज्ञा कडाइ गरिनुका साथै जिल्ला बाहिरबाट आउनेका लागि अनिवार्य एन्टिजेन परीक्षण गरेर मात्रै जिल्ला प्रवेश दिइनेछ । जुम्ला र कालीकोटको सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएको छ । 

 

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापेकोटाका अनुसार कर्णाली राजमार्गअन्तर्गत कालीकोट र जुम्लाको सीमा क्षेत्र नाग्ममा हेल्थ डेस्क स्थापना गरेर एन्टिजन परीक्षण सुरु गरिएको छ ।

 

‘कोभिड-१९ संकट व्यवस्थापन समितिको टोलीले नै नाग्म पुगेर हेल्थ डेस्क स्थापना गरेको हो । प्रमुख सापकोटाले भने, ‘अब हरेक जुम्ला भित्रिने नागरिकको तथ्यांक राखिनेछ । ज्वरो जाँच गरिनेछ । शंकास्पद व्यक्ति भेटिए एन्टिजेन जाँच गरेर स्वास्थ्य परीक्षणसमेत गर्ने व्यवस्था छ ।’ 

 

यसैगरी कोरोना पोजेटिभ देखिएको खण्डमा स्थानीय तहको समन्वयमा आइसोलेसनमा पठाइने र नेगेटिभ देखिए घर पठाइनेछ । जनस्वास्थ्य सेवा कार्यालयले नियमित २ जना स्वास्थ्यकर्मी खटाउनेछ ।

 

पछिल्लो समयमा     सुर्खेत, नेपालगञ्ज हुँदै जुम्ला आउने क्रम बढ्दो छ । हेल्थ डेस्क नहुँदा सीधै घर जाने गरेका थिए । यसले कोरोना संक्रमणको उच्च जोखिम हुने खतरा बढेको छ ।

 

निषेधाज्ञाको अनुगमन गर्दै हेल्थ डेस्क स्थापना गर्न जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली सेनाको २४ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी यमबहादुर सापकोटा, गणपति दिवाकर रायमाझी, डिएसपी दानबहादुर थापासहितको टोली जुम्ला र कालीकोट सीमा नाग्म बजार पुगेको थियो ।

 

प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘जुम्लामा कडा निषेधाज्ञा छ । अब सीमामा पनि कडाइ गर्दै छौँ । सिमानाको उच्च निगरानीका लागि हेल्थ डेस्कले सहयोग पुग्ने विश्वास छ ।’ स्वदेश तथा विदेशबाट फर्किएका जुम्लाबासीको एकिन तथ्यांक संकलन गरेर निगरानी गर्न सहज हुने उनले बताए ।