close

बाँकेमा संक्रमणदर घट्दै, मृत्युदर भने उस्तै

बाँकेमा संक्रमणदर घट्दै, मृत्युदर भने उस्तै

Trulli
ADVERTISEMENT

बाँके- बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको संक्रमणदर केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका संक्रमितको मृत्युदर भने घट्न सकेको छैन । सोमबार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३६३ जनाको पिसिआर परीक्षण गर्दा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताएका छन् । वलीका अनुसार १४९ संक्रमितमध्ये बाँकेका ४० पुरुष र ३५ महिला गरी ७५ जनामा सङ्क्रमण देखिएको हो । 

 

यसअघि कोरोना सङ्क्रमण दर दैनिक रुपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेको थियो । सोमबार संक्रमित हुनेभन्दा कोरोना जित्नेको सङ्ख्या धेरै भएको छ । ७५ जना संक्रमित थपिँदा सोमबार १७५ पुरुष र १९० महिला गरी ३६५ जना संक्रमण मुक्त भएका छन् । संक्रमित हुनेको सङ्ख्या घटे पनि मृत्युदर भने घट्न सकेको छैन ।

 

कोरोना सङ्क्रमणबाट बाँकेमा सोमबार मात्र १३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाका १० र बाँकेका तीन जनाको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । 


गत वैशाख ९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बाँकेमा कोरोना संक्रमणका कारण २२५ जनाको मृत्यु भएको छ । बितेको वैशाख महिनामा मात्रै १७२ जनाको मृत्यु भएको थियो । यो अवधिमा दश हजार ११४ जना संक्रमित भएका छन् भने छ हजार ४७० जना निको भएका छन् । वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना संक्रमित भएकामा ११ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।