close

धमाधम आइसोलेसन तयार गर्दै तनहुँका स्थानीय तह

नगर अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

धमाधम आइसोलेसन तयार गर्दै तनहुँका स्थानीय तह

नगर अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

Trulli
ADVERTISEMENT

तनहुँ- कोरोना सङ्क्रमित बढ्दै गएपछि तनहुँका स्थानीय तह आइसोलेसन निर्माणका लागि अग्रसर भएका छन् । सङ्क्रमितको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले अक्सिजनसहित आइसोलेशन कक्ष तयार पारेका छन् । पछिल्लो समय भानु नगरपालिकाले १७ शय्याको आइसोलेशन कक्ष तयार पारेको छ । भानु नगरपालिका-५ स्थित पुरनडिही नगर अस्पतालमा नगरपालिकाले आइसोलेशन कक्ष तयार गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जिल्लाका सबै स्थानीय तह अग्रसर भएर लागिपरेको बताए । अस्पतालको आइसोलेसन कक्षमा शय्या थप गर्ने तयारी गरिएको नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए । अस्पतालमा अक्सिजनसहितको आइसोलेशन तयारी अवस्थामा राखिएको छ ।


नगरपालिकामा हाल ८ सक्रिय सङ्क्रमित रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिएका छन् । नगरपालिकाले सबै वडामा कोरोना रोगसम्बन्धी परामर्शका लागि फोकल पर्सनसमेत तोकेको छ ।

 

वडा नं १ का लागि सन्तोष श्रेष्ठ, २ का लागि निर्मला अधिकारी, ३ का जितेन्द्र श्रेष्ठ, ४ का लागि सोविता राना, ५ का लागि डा सुरज श्रेष्ठ र स्मृति भण्डारी, ६ का लागि अञ्जु रानाभाट, ७ का लागि श्रीध्वज गुरुङ, ८ का लागि सुवास देवकोटा, ९ का लागि रश्मा पौडेल, १० का लागि अञ्जना अधिकारी र पाण्डव ढकाल, ११ का लागि देवीमाया गुरुङ, १२ का सुमन थापा मगर र सुश्मा गिरी र १३ का लागि रेवती सुनार फोकल पर्सनको रुपमा रहेका छन् ।


अक्सिजन प्लान्ट स्थापना 

 

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेको र जिल्लामा अक्सिजन प्लान्टको आवश्यकता महसुस भएपछि तनहुँका प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल र राष्ट्रियसभा सदस्य भगवती न्यौपानेको विशेष पहलमा जिपीमा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो । 


अर्थ मन्त्रालयले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण, भेन्टिलेटर र आइसियुका लागि नौ करोड रुपौयाँ बजेट विनियोजन गरेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका अनुसार पाँच भेन्टिलेटर र १० वटा आइसियु शय्याका लागि ६ करोड र अक्सिजन प्लान्ट निर्माण र उत्पादनका लागि तीन करोड गरी नौ करोड रुपौयाँ विनियोजन भएको छ । 


अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पतालको मागबमोजिम ३० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णयसमेत भएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम बढेपछि उपचार केन्द्रले अक्सिजनसहित आइसोलेसन कक्ष तयार गरेको छ । कोरोना संक्रमितको उपचारका लागि तनहुँका दशवटै स्थानीय तहको लागत सहभागितामा बनेकने भवन गत चैत ७ गते हस्तान्तरण गरिएको थियो ।

 

उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हाल आइसोलेसन भवनमा ३० शय्या तयार गरिएको छ । प्रत्येक शय्यामा अक्सिजनको व्यवस्था गरिएको छ । ७२ लाख रुपैयाँमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको भवनमा शुक्लागण्डकी नगरपालिकाले १४, व्यास, भीमाद र भानु नगरपालिकाले १२/१२ प्रतिशत लागत सहभागिता बेहोरेका थिए । त्यस्तै, देवघाट गाउँपालिकाले पाँच, घिरिङ, म्याग्दे, ऋषिङ, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले ९/९ प्रतिशत लागत सहभागिता बेहोरेका छन् ।