close

होम आइसोलेसनमा बसेकाको निधन: पालिका अध्यक्ष आफैले गरे शव व्यवस्थापन

होम आइसोलेसनमा बसेकाको निधन: पालिका अध्यक्ष आफैले गरे शव व्यवस्थापन

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ कर्मडाँडाका चन्द्रबहादुर गुरुङको होम आइसोलेसनमै कोभिडको कारण मृत्यु भयो । ३ भाइ, १ श्रीमती र छोरासमेत कोभिड संक्रमित भएको परिवारमा उनको शव उठाउन सक्ने कोही थिएन । 

 

घरमा शव उठाउने कोही नहुँदा टोल-छिमेकले पनि यसमा चासो दिएनन् । कोभिड बिरामी गुरुङको शव घरबाट निकाल्न नै स्थानीय डराए । उनको घरमा पस्नेसमेत कसैले हिम्मत गर्न सकेनन् ।

 

मर्दा-पर्दा छिमेकी नै काम लाग्ने उखान यहाँ लागू हुन सकेन । कोभिड संक्रमितको शव छुँदा आफू पनि संक्रमित हुने र बालबच्चासमेत जोखिममा पर्ने त्रासले गुरुङका छिमेकी उनको घर पनि जान नसकेको स्थानीय बताउँछन् ।

 

गुरुङको कोरोनाका कारण मृत्यु भएको र शव उठाउन नसकेकोबारे ओमसतिया गाउँपालिकामा खबर पुग्यो । गाउँपालिकाको स्वास्थ्य संयोजकले पनि शव व्यवस्थापनका लागि छिमेकीको साथ मागे तर उनलाई सहयोग गर्न कोही अगाडि आएनन् । 

 

शव व्यवस्थापनका कोही अगाडि नआएपछि स्वास्थ्य संयोजक दीपक ज्ञवालीले यसबारे गाउँपालिका अध्यक्ष हिरा केवटलाई खबर गरे । बिहान साढे ७ बजे खबर पाएका गाउँपालिका अध्यक्ष केवटले पनि छिमेकीलाई २ घन्टासम्म शव व्यवस्थापनमा साथ दिन अनुनय-विनय गरे तैपनि कोही ढिप्किएनन् ।

 

कोही अगाडि नसरेपछि केवटले गाउँपालिकाकै ट्रयाक्टरमा राखेर शव व्यवस्थापनको प्रयास गरे । ‘पिपिई सेट ल्याएर परिवारको सहयोगमा शवलाई गाउँपालिकाकै ट्रयाक्टरमा राख्यौँ,’ केवटले भने, ‘ट्रयाक्टरमा शव राखिएकै कारण सो ट्रयाक्टर चलाउन पनि कोही अगाडि सरेनन् । अन्ततः मैले नै उक्त ट्रयाक्टर हाँकेर कर्मडाँडामै लगेर अन्तिम संस्कार गराएँ ।’  अध्यक्ष केवट गत वर्ष नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गरिए पनि अहिले गाउँपालिका आफैं व्यवस्थापनमा जुटेको सुनाउँछन् ।

 

गत वर्षको उदाहरण दिँदै अध्यक्ष केवटले भने, ‘त्यतिबेला २ वटा समस्या भयो । पहिलो, समयमा नेपाली सेना आएन । दोस्रो, व्यवस्थापन खर्च पनि महँगो भयो । १ जनाको व्यवस्थापन गरेको ५३ हजार रुपैयाँ बढी खर्च भयो । अहिले आफैँ गाउँपालिकाले व्यवस्थापन गरेको छ ।’ पिपिई लगाएका सुरक्षा सामग्री लगाएर स्थानीय आफन्तको सहयोग लिएर व्यवस्थापन गर्ने योजना रहेको उनले बताए ।

 

अध्यक्ष केवटले माओवादी युद्ध र राजतन्त्रविरोधी आन्दोलनमा सबै एक भए पनि अहिलेको महामारीमा छोइछिटो भएको गुनासो गरे । महामारीका बेला सबै एकजुट हुनुपर्नेमा छिमेकीबाटै संक्रमितको उपहास भएको उनको अनुभव छ ।

 

गाउँपालिका स्वास्थ्य संयोजक दीपक ज्ञवालीका अनुसार अहिले ओमसतियामा ३०० बढी कोरोनाका संक्रमित रहे पनि २ सय सक्रिय संक्रमित हुन् । अहिलेसम्म कोरोनाको कारण ओमसतिया गाउँपालिकामा १२ जनाको मृत्यु भएको ज्ञवालीले जानकारी दिए ।