close

भक्तपुरमा भेरोसिलको दोस्रो डोज दिइँदैः कुन नगरपालिकामा कहिले ? 

भक्तपुरमा भेरोसिलको दोस्रो डोज दिइँदैः कुन नगरपालिकामा कहिले ? 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरमा कोरोनाविरुद्धको भेरोसेलको दोस्रो डोज लगाउन सुरु भएको छ । जिल्लाभित्रका ४ वटै स्थानीय तहमा छुट्टाछुट्टै दिन भेरोसेल खोप लगाइन थालेको हो ।

 

कोभिडविरुद्धको भेरोसिलको पहिलो डोज लगाएको १ महिना नाघेपछि दोस्रो डोजको खोप लगाउनुपर्ने भएकाले यहाँका स्थानीय तहले फरक-फरक दिनबाट खोप लगाउन सुरु गरेका हुन् । 
सबै पालिकाले सरकारले जारी गरेको निषेधाज्ञा पालना गरी खोप लगाउनेछन् । 

 

कुन नगरपालिकामा कहिले ? 
 

चाँगुनारायण नगरपालिका

गत ५ वैशाखदेखि भेरोसिलको पहिलो डोज वितरण गरेको चाँगुनारायण नगरपालिकाले ५ जेठबाट दोस्रो खोप वितरण गर्नेछ । वडा नम्बर ५ मा नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण नगरपालिका अस्पतालबाट पहिलो डोजको खोप वितरण गरे पनि पालिकाभित्रका ९ वटै वडाको स्वास्थ्य संस्थामार्फत खोप वितरण हुनेछ । 

 

पालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालका अनुसार नगर अस्पताललाई कोभिड अस्पताल बनाइएको छ । त्यसैले वडा स्तरका स्वास्थ्य संस्थामार्फत खोप दिइनेछ । सबै स्थानीयले आफ्नो वडामा रहेको स्वास्थ्य कार्यालयमार्फत खोप लिन पाउनेछन् । 

 

मध्यपुर थिमि नगरपालिका


मध्यपुर थिमि नगरपालिका २ जेठदेखि नै खोप वितरण सुरु गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भागिरथ अधिकारीका अनुसार ८ स्थानबाट खोप वितरण भइरहेको छ । 


कुपन सिस्टम लागू गरेको पालिकाले दैनिक १०० जनालाई एउटा खोप केन्द्रबाट खोप दिइनेछ । खोप केन्द्रमा जम्मा १० जनासम्म मात्र व्यक्ति बस्न अनुमति दिइएको उनले बताए ।

 

सूर्यविनायक नगरपालिका


४ जेठबाट खोप वितरण गरेको सूर्यविनायक नगरपालिकाले ९ वटा खोप केन्द्रमा लगाइरहेको छ । पालिकाले बिहान १० बजेदेखि ३ बजेसम्म खोप वितरण दिइने स्वास्थ्य शाखा प्रमुख वसन्त चापागईंले बताए ।

 

नगरपालिकाले निकालेको सूचनाअनुसार नै खोप वितरण हुने उनको भनाइ छ । ४ देखि ११ जेठसम्म खोप वितरण गर्ने उनले जानकारी गराए । सूर्यविनायकमा भेरोसेलको पहिलो डोज ६ हजार जनाले लगाएका थिए ।

 

भक्तपुर नगरपालिका

 

१० वटा खोप केन्द्र निर्धारण गरेको भक्तपुर नगरपालिकाले ५ जेठदेखि खोप लगाउँदै छ । जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाका अनुसार प्रत्येक वडामा एउटा खोप केन्द्र निर्धारण गरिएको छ । भीडभाड हुन नदिन एउटा खोप केन्द्रमा १२ जनाको टोली खटाइएको उनले सुनाए ।

 

२ जना खोप लगाउने स्वास्थ्यकर्मी, ४ जना नाम टिप्ने र ६ जना लाइन व्यवस्थापनमा खटिनेछन् । नगरपालिकाले निकालेको सूचनाअनुसार खोप वितरण हुने उनले जानकारी गराए ।

 

भीडभाड हुने देखिए कुपन सिस्टम गर्ने योजना रहेको उनले बताए । भीडभाड भएन र खोप लगाउन आउने भएनन् भने वडाका जनप्रतिनिधिले खोप लगाउन बोलाउन जाने योजना रहेको उनको भनाइ छ । 

 

तोकिएको मितिमा खोप केन्द्रमा गएर खोप लगाउन नभ्याएकालाई १८ र १९ जेठमा भक्तपुर नगरपालिकाको १० नम्बर वडा कार्यालय पछाडि कमलविनायक बक्सिङ हलमा खोप लगाउने तयारी रहेको उनले बताए ।