close

अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण

अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले नेपालमा पहिलो पटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ ।कोभिड–१९ महामारी फैलिएको र अक्सिजन सिलिन्डर अभाव भइरहेका बेला नयाँ सिलिन्डर निर्माण गरी परीक्षण गरिएको हो ।

 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार उत्पादनको अवलोकन गरी परीक्षण सुरु गरे । मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभाव पूर्ति गर्न सरकारले पहल गर्ने प्रतिबद्धता जनाए । नास्टको यो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनको भनाइ छ ।

 

ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै मन्त्री श्रेष्ठले भने, ‘विगतमा सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाएको भए अहिले अभावको समस्या भोग्नुपर्ने थिएन ।’   

 

परीक्षण सफल भएसँगै अब नेपालले माग धान्न सक्ने गरी सिलिन्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले अब उत्पादक कम्पनीसँग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिइने बताए । उनका अनुसार नेपालमा पाइने सिलिन्डरको न्यूनतम मूल्य करिब १५ हजार पर्नेछ भने नास्टको प्रविधि प्रयोग भएका सिलिन्डर करिब १० हजारभन्दा कम मूल्य पर्नेछ ।

 

परीक्षण अवलोकन गर्न नास्टको ललितपुस्थित मुख्यालय पुगेका मन्त्री श्रेष्ठले उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टोलीलाई धन्यवाद दिए ।   

 

सिलिन्डरमा ग्यास सिलिन्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दबाब २३५ बारसम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो ।   

 

उपकुलपति डा. श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीन वटै निकायलाई हस्तान्तरण गरेको जानकारी
दिए । मन्त्रालयका सचिव डा. सञ्जय शर्माले विज्ञान तथा नवप्रवर्तत नीतिलाई कार्यान्वयनमा ल्याउनासाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने बताए ।