close

संक्रमण जोखिम कम गर्न संस्थागत आइसोलेसन बनाउन सुझाव

संक्रमण जोखिम कम गर्न संस्थागत आइसोलेसन बनाउन सुझाव

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाका कोरोना संक्रमित होम आइसोलसनमा बस्न थालेपछि गाउँमा संक्रमणको जोखिम बढेको भन्दै तत्काल संस्थागत आइसोलेसन बनाउन जोड दिइएको छ । 

 

हाल जुम्लाका अधिकांश संक्रमित होम आइसोलेसनमा नाममा घरमै बसेका छन् । कोरोना रोकथाम, नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको विषयमा छलफल गर्न आयोजित बैठकमा होम आइसोलेसनका कारण जुम्लाका कोरोनाको उच्च जोखिममा रहेको बताइयो । 

 

संविधानसभा सदस्य ललितजङ शाहीले होम आइसोलेसनका कारण संक्रमण फैलिएको बताए । उनले भने, ‘हाम्रोजस्तो संरचना भएका घरमा होम आइसोलेसनको नीति वैज्ञानिक छैन । तत्काल जुम्लाका सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनुपर्छ । जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ । कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन ।’

 

शाहीले चन्दननाथ नगरपालिकाको संक्रमण दर उच्च रहेको र संस्थागत आइसोलेसन बनाउन आनकानी गरेको देखिएकाले संक्रमण रोक्न संस्थागत आइसोलेसन बनाउन सुझाए ।

 

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले संस्थागत आइसोलेसन निर्माणका लागि अन्य स्थानीय तहभन्दा नगरपालिकालाई जोड दिनुपर्ने बताए । ‘जनघनत्व बढी भएको र भीडभाड हुने क्षेत्र भएकाले संक्रमण दर पनि उच्च छ’, प्रमुख सार्कीले भने, ‘बरु संस्थागत आइसोलेसन निर्माणका लागि संघीय तथा तथा प्रदेश सरकालाई बजेट व्यवस्था गर्न आग्रह गरौँला । तर, नगरभित्र मापदण्डसहितको आइसोलेसन अनिवार्य बनाउनुपर्छ ।’

 

बैठकमा सहभागी सबैले होम आइसोलेसनले संक्रमण तीव्र रूपमा फैलँदो क्रममा रहेकाले संस्थागत आइसोलेसन बनाउनुपर्नेमा जोड दिए ।

जिल्लामा बनेका आइसोलेसन प्रयोगमा ल्याउनुपर्ने र नबनेका स्थानीय तहमा संस्थागत आइसोलेसन बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले संस्थागत आइसोलेसन निर्माणमा जोड दिए । उनले भने, ‘कोरोना संक्रमण रोक्न सबै तह र तप्काको सहयोगको खाँचो छ । होम आइसोलेसनमा जोड दिएर नागरिकको स्वास्थ्य अधिकारमाथि खेलबाड नगरौँ । संस्थागत आइसोलेसन बनाऔँ । संक्रमित राखेर कोरोनामुक्त भएपछि घर पठाउने व्यवस्था गर्नु उपयुक्त हुनेछ ।’

 

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले नगरको आवश्यकताअनुसार संस्थागत आइसोलेसन बनाउने प्रक्रिया सुरु गर्ने बताइन् । उनले भनिन्, ‘अब संस्थागत आइसोलेसन बनाउन जुट्छौँ । सबैले साथ र सहयोग गर्नुहोला ।’  

 

शवघाट बनाउने निर्णय 
 

कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको विषयमा छलफल गर्न आयोजित बैठकले जुम्लाको चन्दननाथ नगरपालिकाको उमगाड र दानसाँघु क्षेत्रमा शवघाट बनाउने निर्णय भएको छ । त्यसका लागि चन्दननाथ वडा नम्रब १ र ९ नम्बर वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको हो । 

 

यसअघि जुम्लामा शवघाटको अन्योलले संक्रमितको मृत्यु भए कहाँ लैजाने भन्ने समस्या थियो । अब त्यो समस्या निर्णयपछि समाधान हुनेछ ।बैठकले चन्दननाथ नगरपालिकाले तत्काल उद्योग वाणिज्य संघको हलमा आवश्यकताअनुसार संस्थागत आइसोलेसन तयार गर्ने निर्णय गरेको छ ।

 

उद्योग वाणिज्य संघ जुम्लाले संस्थागत आइसोलेसन निर्माणका लागि हल खाली रहेको यसअघि बसेको डिसिसिएमसीको बैठकमा जानकारी गराएको थियो । अब त्यो हलमा चन्दननाथ नगरपालिको संस्थागत आइसोलेसन बनाइने भएको हो ।

 

प्रमुख जिल्ला अधिकारी थापाले जिल्लास्थित गैरसरकारी संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि गर्न सक्ने आवश्यक सहयोगको अनुमानित लागतको विवरण ३ दिनभित्र डिसिसिएमसीलाई पेस गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘कोरोना कहरका बेला एकद्वार प्रणालीबमोजिम काम गर्नुपर्ने अवस्था छ । यो समय सबै हातेमालो गरेर अघि बढे कोरोना जित्न सकिन्छ ।’ 

 

कोभिडका कारण रोजगारी गुमेका अतिविपन्नलाई दिने राहत एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।