close

लमजुङ भुकम्प: ५ वर्षपछि दाेहाेरियाे त्रास, भत्कियाे घर, घाइते पनि

लमजुङ भुकम्प: ५ वर्षपछि दाेहाेरियाे त्रास, भत्कियाे घर, घाइते पनि

Trulli
ADVERTISEMENT

काठमाडौं– लमजुङमा बुधबार बिहान ५ बजेर ४२ मिनेट र ८ बजेर २६ मिनेटमा २ पटक भूकम्पको धक्का महसुस गरिएको छ । भुलभुले केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
 

भूकम्पका कारण मानवीय क्षति नभए पनि बस्तीका कच्ची घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ । भूकम्प आएपछिको भागदौडमा परेर ४ जना घाइते भएको बताइएको छ । विस्तृत विवरण भने आउन बाँकी छ । सुरुमा ५.८ र पछि ५.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । भुलभुले मस्र्यांङ्दी गाउँपालिका वडा नम्बर ३ मा पर्छ । 
 

लमजुङ प्रहरीका अनुसार बेँसीसहर नगरपालिका वडा नम्बर ६ का ३६ वर्षीया उमा गुरुङ, वडा नम्बर ११ चितीका ८३ वर्षीया खकाकुमारी पाण्डे, वडा नम्बर ८ का २९ वर्षीया खुसीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका वडा नम्बर ६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी घाइते भएका छन् ।
 

भूकम्प आएपछि घरबाहिर निस्कने क्रममा उनीहरू घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले जानकारी दिए ।
 

कच्ची घरमा पनि भूकम्पले क्षति पुगेको छ । करिब २० घरमा क्षति पुगेको बताइएको छ । भूकम्पको धक्का लमजुङसहित कास्की, तनहुँ, गोरखा, धादिङ, चितवन र काठमाडौंसमेत महसुस गरिएको थियो ।