close

कमजाेर सरकारी संयन्त्रका कारण आफन्तले नै गर्छन् संक्रमितकाे दाहसंस्कार

कमजाेर सरकारी संयन्त्रका कारण आफन्तले नै गर्छन् संक्रमितकाे दाहसंस्कार

Trulli
ADVERTISEMENT

रोल्पा- कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा सरकारी तबरबाट ढिलाइ भएपछि संक्रमितको दाहसंस्कार आफन्तबाटै हुन थालेको छ । जसले गर्दा समुदायमा संक्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् ।

 

कोरोनाका  कारण  मृत्यु हुनेको सङ्ख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले गरेका छन् । 

 

नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका  कारण दाहसंस्कारमा समेत जमघट  हुने क्रम बढ्दै जान थालेको छ । 

 

कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा  अस्पताल भर्ना भएका रोल्पा नगरपालिका­२ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।

 

शव अस्पताल पुर्‍याएर लामो समय कुर्दासमेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापन गर्न बाध्य भए । यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका­-४ का एक पुरुषको आफन्तले नै अन्त्यष्टी गरेका थिए ।

 

मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्य पनि सङ्क्रमणको उच्च जोखिममा पर्ने गरेका छन् ।