close

थिमिले सञ्चालन गरेको अस्पतालमा अक्सिजन उत्पादन सुरु (भिडियो खबर)

थिमिले सञ्चालन गरेको अस्पतालमा अक्सिजन उत्पादन सुरु (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- कोरोना भाइरसको दोस्रो लहरले मुलुकलाई वैशाखदेखि नै गाँज्न थालेको थियो । महामारी सुरु भएसँगै सरकार निर्देशिका र निर्देशन जारी गर्न थालेपनि स्पष्ट नीति बनाउन सकिरहेको थिएन । यस्तो समयमा केही स्थानीय सरकार भने सरकारको निर्णयको पर्खाइमा थिए भने केहीले महामारी रोकथामका लागि तयारी सुरु गरेका थिए ।

 

यो बीचमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका भने अक्सिजन प्लान्ट जडानको रणनीति बनाइरहेको थियो । अहिले अन्यत्र अक्सिजन अभाव छ । तर, नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ६५ लाख रुपैयाँ खर्चमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १ लाख ९२ हजार लिटर अर्थात् ३२ सिलिन्डर अक्सिजन उत्पादन हुन थालेको छ ।

 

संक्रमितको संख्या बढेसँगै धेरै संक्रमितले अस्पतालमा वेडसमेत पाउन सकेका छैनन् । अझै अस्पतालमा वेड पाएकाले अक्सिजन समेत पाएका छैनन् । अक्सिजनको अभावकाका कारण दैनिक सयौँ व्यक्तिले कोरोनाबाट ज्यान गुमाउन बाध्य भएका छन् । यस्तो समस्या भक्तपुरको मध्यपुर थिमिका स्थानीयले भोग्नुनपरोस् भनेर मध्यपुर थिमि नगरपालिकाले अक्सिजन उत्पादन सुरु गरेको छ ।

 

नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट पालिकाले आफ्नै लगानीमा प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु गरेको छ । नेपाल सरकारले मुलुकभरका अस्पताललाई अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्देशन गरिरहँदा पालिकाको अस्पातलले भने अक्सिजन उत्पादन गरी विरामीलाई समेत वितरण नर्ग थालिसकेको छ । 


अस्पताल मार्फत हाल दैनिक २८ देखि ३० सिलिण्डर अक्सिजन उत्पादन हुने छ । ९० सिलिण्डर उत्पादन गर्ने लक्ष्य लिएको पालिकाले केही समयमा थप सामग्रीको जडान गरी उत्पादनको दायरा बढाइने छ । उत्पादित अक्सिजनलाई सिधै विरामीलाई दिइने छ । हाल अस्पतालका लागि ८० सिलिण्डर अक्सिजनको माग छ ।

 

३० सिलिण्डर अक्सिजन उत्पादन भए पश्चात थप अक्सिजन पालिका स्वयम्ले व्यवस्थापन गर्दै आएको छ । तर, अस्पतालमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरेको दावी अस्पताल प्रशासनको छ । ६५ लाख लगानीमा अक्सिजन उत्पादन सुरु गरेका पालिकाले ६ महिना अगाडी देखि नै आवश्यक तयारी गर्दै आएको थियो । यसका साथै पालिकाले अस्पतालका लागि आवश्यक पर्ने अक्सिजनलाई नगर प्रहरीको सहयोगमा पालिकाको फोहोर बोक्ने गाडी मार्फत् अक्सिजना आपूर्ति गर्दै आएको छ ।


१ सय २ शय्याको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा १ सय ११ चिकित्सक, ९३ नर्ससहित ३ सय ६५ कर्मचारी कार्यरत छन् । जसमध्ये, अस्पतालमा कार्यरत ६ चिकित्सक, ९ नर्ससहित १७ संक्रमित भएका छन् । दोस्रो लहरको महामारी फैलिएपछि अस्पतालमा गाइनो र कोभिड वार्ड मात्र सञ्चालनमा छ ।