close

अंग्रेजी पठन–पाठनमा अब्बल बन्दै सामुदायिक शिक्षालय

अंग्रेजी पठन–पाठनमा अब्बल बन्दै सामुदायिक शिक्षालय

Trulli
ADVERTISEMENT

खोटाङ– अंग्रेजी माध्यमबाट पठन–पाठन गर्ने सामुदायिक विद्यालय मुलुकभर अहिले पनि कमै छन् ।

 

तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपास्थित ज्योति माविले भने निजी विद्यालयभन्दा अंग्रेजी पठनपाठनलाई अगाडि बढाएको छ ।

 

२०४४ मा स्थापना गरिएको बिद्यालयलाई नमुना बनाउने लक्ष्यका साथ २०६४ देखि अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरिएको हो । अंग्रेजी माध्यममा बालबच्चा पढाउन निजी स्कुलको खोजीमा गाउँबाट बाहिरिने अभिभावक र विद्यार्थीलाई गाउँमै रोक्न ज्योति माविमा अंग्रेजी माध्यम लागू गरिएको हो ।

 

ज्योति माविमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन सुरु गरेपछि हालसम्म जालपामा बोर्डिङ स्कुल खुलेका छैनन् । अंग्रेजी पढ्न–पढाउन अन्यत्र जाने विद्यार्थी र अभिभावक गाउँमै रोकिएका छन् । 

 

शैक्षिक नतिजामा पनि ज्योति माविको स्थान जिल्लामै अब्बल देखिएको छ । ज्योति माविले हालसम्म एसइई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ । 

 

२०७१ मा मावि तहको पठन–पाठनका लागि अनुमति पाएको विद्यालयले हालसम्म विद्यार्थी अनुत्तिर्ण भएको गुनासो सुन्नपरेको छैन । शिशुदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउनु, असहाय, अनाथ र विपन्नलाई निःशुल्क पठन–पाठन व्यवस्था गर्नु र स्वयंसेवक शिक्षकको भरमा सञ्चालन हुनु ज्योति माविको चिनारी बनेको प्रअ मिलन राईले बताए ।

 

ज्योति माविमा हाल २६३ विद्यार्थी अध्ययनरत छन् । हरेक शिक्षणमा आवश्यक शैक्षिक सामग्रीको प्रयोग ज्योति माविको पहिलो सर्त हो । पठन–पाठनलाई प्रभावकारी बनाउन कक्षागत शिक्षक तथा शिक्षक, अभिभावक संघसमेत क्रियाशील छन् । 

 

कक्षागत शिक्षक, अभिभावक संघको बैठकमा शिक्षक र अभिभावकबीच कक्षाको पठन–पाठनलाई प्रभावकारी बनाउने उपाय एवं विधिका विषयमा छलफल गर्छन् र समस्याको हल गर्ने अभ्यास गर्दै आएका छन् ।

 

दिक्तेल रुपाकोट मझुवागढीले प्रथम नगर दिवस अवसरमा २०७५ मा ज्योति माविलाई ५० हजार रुपैयाँ राशीको ‘वर्ष उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कार’ प्रदान गरेको थियो । 

 

अब्बल नतिजा, अतिरिक्त क्रियाकलाप, खेलकुद, साहित्य, गीत–संगीतलगायत सिकाइ ज्योति माविका सबल पक्ष हुन् । निजी स्कुलको विकल्पका रूपमा सञ्चालन गरिएको ज्योति माविले हाल बोर्डिङ स्कुलसरह अभिभावकको मन जित्न सफल भएको सोही वडाका वडाध्यक्ष विकास राई बताउँछन् । 

 

निजी शिक्षकको भरमा पठन–पाठन 

 

जिल्लामै नमुना कहलिएको ज्योति माविमा शिक्षक दरबन्दी संख्या भने न्यून छ । दरबन्दी अभावमा ९ जना निजी शिक्षकको भरमा ज्योति मावि टिकेको छ । ज्योति माविमा २ वटा प्रावि स्थायी, २ वटा प्रावि राहत, १ वटा प्रावि लियन र १ वटा मावि अनुदान (विज्ञान) को मात्र कोटा छ ।

 

बालविकास केन्द्रको एउटा दरबन्दी रहेको विद्यालयमा निजी स्रोतबाट प्रावि तहमा २ जना, निमाविमा ४ जना र माविमा ३ जना शिक्षक राखिएका छन् । निजी स्रोतमा राखिएका शिक्षक÷शिक्षिकाको तलब पनि न्यून छ ।

 

उनीहरूले जागिरभन्दा पनि गाउँको शैक्षिक भविष्यका लागि सेवाभावले विद्यालयमा काम गरिरहेको वडाध्यक्ष राईले सुनाए ।

 

निजी स्कुलको विकल्पका रूपमा स्थापित गरिएको ज्योति माविलाई आवश्यक दरबन्दी उपलब्ध गराउन भने स्थानीय सरकारको ध्यान नपुगेको अभिभावकको गुनासो छ ।