close

रुकुमपूर्वमा पनि निषेधाज्ञा

रुकुमपूर्वमा पनि निषेधाज्ञा

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)- कोरोना संक्रमितको संख्या बढेपछि रुकुमपूर्वमा निषेधाज्ञा जारी गरिएको छ । प्रशासन कार्यालयले दश दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

 

जिल्लामा बुधबार राती १२ बजे देखि आगामी १५ जेठ राती १२ बजेसम्म १० दिन सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । संक्रमित बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको हो । 

 

तोकिएका सेवा र सवारी साधन बाहेक सबै प्रकारका सेवा, बैंक तथा वित्तीय संस्था, सवारी साधन, पसल–व्यवसाय सञ्चालन गर्न रोक लगाइएको प्रजिअ राईले बताए । पछिल्लो पटकको कोरोनाबाट मात्रै जिल्लामा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ४ जनाको मृत्यु भएको छ । 

 

बैठकले बिहान ७ देखि ९ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खाद्यान्न र दैनिक उपभोग्य पसल सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला बाहिर तथा अन्य देशबाट फर्केकालाई अनिवार्य रूपमा १० दिनसम्म होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । 

 

यसअघि प्रशासनले वैशाख २२ गतेबाट २९ गते राती १२ बजेसम्मलाई अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट सिल गरेको थियो । सो अवधि सकिए पश्चात् फेरी २९ गते राती १२ बजेबाट जेठ ५ गते राती १२ बजेसम्म लागू हुनेगरी रुकुमकोट सहित जिल्लाका विभिन्न १९ ठाउँ सिल गरिएको थियो । 

 

प्रशासनका अनुसार सरकारी कार्यालयमा एक चौथाई कर्मचारीको उपस्थितिमा आन्तरिक काम मात्र गर्ने छन् ।