close

सम्पर्क व्यक्तिको स्वाब परीक्षण गर्दै सूर्यविनायक 

सम्पर्क व्यक्तिको स्वाब परीक्षण गर्दै सूर्यविनायक 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षण सुरु गरेको छ । समुदाय स्तरमै कोरोना फैलिएको आशंकामा नगरपालिकाले स्वाब परीक्षण सुरु गरेको हो । 


पछिल्लो समय नगरपालिकामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ । पालिकाका अनुसार परीक्षण गरिएकामध्ये करिब ५० देखि ७० प्रतिशत व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । 


सोहीअनुरूप थप अन्य व्यक्तिमा कोरोना भाइरस फैलन नपाओस् भन्ने उद्देश्यले स्वाब परीक्षण गरिँदै आएको हो । 

 

नगर उपप्रमुख जुना बस्नेतका अनुसार साताको २ दिन स्वाब परीक्षण गरिनेछ । वडा नम्बर १, २, ३, ४ र ५ का स्थानीयलाई वडा नम्बर ५ गाम्चामा रहेको स्वास्थ्य संस्थामा प्रत्येक सोमबार र वडा नम्बर ६, ७, ८, ९ र १० का स्थानीयलाई जगातीस्थित निर्माणाधीन नगर अस्पतालमा प्रत्येक बिहीबार स्वाब परीक्षण गर्दै आएको उनले जानकारी दिइन् । 


बस्नेतका अनुसार गत वर्ष पनि पालिकाले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गरेको थियो । सोहीअनुरूप यस वर्ष पनि स्वाब परीक्षण थालिएको हो । परीक्षणपछि रिपोर्ट केही दिनमा दिने र संक्रमितलाई अस्पताल वा होम आइसोलेसनमा राखिने नगरपालिकाले जनाएको छ ।