close

ओखलढुंगा-अंकुसे-देउराली सडक अनुगमनमा निस्कियो तिनाउ

ओखलढुंगा-अंकुसे-देउराली सडक अनुगमनमा निस्कियो तिनाउ

Trulli
ADVERTISEMENT

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिकाले ओखलढुंगा-अंंकुसे-देउराली सडक खण्डको अनुगमन गरेको छ । तिनाउ गाउँपालिका उपाध्यक्ष एवं योजना अनुगमन समिति संयोजक दमयन्ती थापा नेतृत्वको टोलीले सडक अनुगमन गरेको हो ।

 

साविक जिविस पाल्पाले ट्रयाक खोलेको उक्त सडकको तिनाउ गाउँपालिकाले थप स्तरोन्नति, ढलान, बिस्तार र मर्मतसम्भारको काम गरेको पालिका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए ।

 

आकृति मालिका कन्स्ट्रक्सन प्रालि ललितपुरले सडक निर्माणको जिम्मा लिएको छ । १ करोड १० लाख रुपैयाँ बजेटबाट निर्माण भएको सडकमा साँघुरा घुम्ती सुधार, ग्याबिन वाल, कजवे र नाली निर्माणलगायत काम सम्पन्न भएको छ ।

 

सडक निर्माण सम्पन्न भएपछि दोभान झरेर सदरमुकाम तानसेन जान बाध्य ओखलढुंगाबासीलाई सदरमुकामसम्मको आउजाउ सहज हुनेछ । सडक अनुगमन गर्दै गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले ग्रामीण क्षेत्रका जनतालाई सदरमुकाम तानसेन झर्न र स्थानीय कृषि उत्पादनको बजारीकरणका लागि यो सडक छोटो र सुरक्षित बन्ने बताए ।

 

बाटोको स्तरोउन्नति नहुँदा सो भेगका जनताले बर्खा समय समस्या भोग्नुपर्ने बाध्यता रहेकामा अब दुवै सिजनमा आरामदायी यात्रा गर्न पाउने अध्यक्ष घर्तीको भनाइ छ ।

 

सडक अनुगमनमा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, अनुगमन समिति संयोजक उपाध्यक्ष थापा, इन्जिनियर किसन कुँवर, सुमन नेपाल, स्थानीय नागरिकलगायत सहभागी थिए ।