close

कोरोना महामारीमा खोटाङका एम्बुलेन्स: दर्जनमध्ये ८ वटा मात्रै चालू 

कोरोना महामारीमा खोटाङका एम्बुलेन्स: दर्जनमध्ये ८ वटा मात्रै चालू 

Trulli
ADVERTISEMENT

खोटाङ- कोभिड-१९ महामारीका बेला खोटाङका १ दर्जनमध्ये ८ वटा एम्बुलेन्स मात्र चालू अवस्थामा रहेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालनमा रहेका ५ मध्ये हाल २ वटा एम्बुलेन्स चालू अवस्थामा छन् ।

 

खोटाङ समाज यूकेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुइपास्थित स्वास्थ्य चौकीलाई प्रदान गरेको १ वटा र स्वास्थ्य मन्त्रालयले वडा नम्बर ५ लफ्याङलाई प्रदान गरेको एक वटा एम्बुलेन्स चालू अवस्थामा रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

 

यस्तै, २०७३ मा खोटाङ सेवा समाज यूकेले ऐँसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई प्रदान गरेको १÷१ वटा एम्बुलेन्स हाल चालू अवस्थामा रहेको सम्बन्धित पालिकाले जनाएका छन् ।

 

यस्तै, स्वदेश तथा विदेशमा रहेका युवा र रावाबेँसी गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको १ वटा एम्बुलेन्स चालू अवस्थामा रहेको कार्यालयले बताएको छ ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रै सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटीको स१च १३३५ नम्बरको एम्बुलेन्स, भारतीय वेलफेयरको स१च १२८२ नम्बरको एम्बुलेन्स र खोटाङ समाज यूकेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ९ निर्मलीडाँडास्थित स्वास्थ्य चौकीलाई दिएको एम्बुलेन्स भने हाल चालू अवस्थामा नभएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

 

जापान सरकारले प्रदान गरेको रेडक्रसको एम्बुलेन्स हाल बिग्रिएर थन्किएको अवस्थामा छ । स्वास्थ्य चौकी निर्मलीडाँडाको एम्बूलेन्स भने बिरामी लिएर विराटनगर जाने क्रममा २ असोजमा सप्तरीमा दुर्घटना भई क्षतिग्रस्त बनेको थियो । भारतीय वेलफेयरको एम्बुलेन्स मर्मतपछि केही दिनपछि पुनः सञ्चालनमा आउने जनाइएको छ ।

 

भारतीय दूतावासले हलेसी तुवाचुङ नगरपालिकालाई प्रदान गरेको एम्बुलेन्स पनि हाल बिग्रिएर थन्किएको छ । महामारीका बेला नगरप्रमुख/उप्रमुखले उपयोग गर्दै आएको गाडी र अन्य भाडाको २ वटा गाडीलाई एम्बुलेन्सको विकल्पको रूपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले जानकारी दिए ।

 

जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म बराहपोखरी र साकेला गाउँपालिका एम्बुलेन्सविहीन छ । बराहपोखरी गाउँपालिकाले भने १२ लाख रुपैयाँमा एम्बुलेन्स गरिद गरेर ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

 

गाउँसभामार्फत निर्णय गरेर खरिद गरिएको एम्बुलेन्स तराईमा आएर अड्किएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । यस्तै, हालसम्म खोटाङ समाज यूकेले उपलब्ध गराएको एम्बुलेन्स मर्मत गर्दै चलाइरहेको ऐँसेलुखर्क गाउँपालिकाले पनि करिब १० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिसकेको छ । खरिद गरिएको एम्बुलेन्स वीरगञ्जमा रोकिएर बसेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए ।

 

अस्पताल जान हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधन अभावमा ज्यान गुमाउनुपर्ने समस्या अन्त्यको प्रयासस्वरूप खोटाङ सेवा समाज यूकेले २६ चैत २०७३ मा खोटाङलाई एकैसाथ ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो । यस्तै, खोटाङ एकता सेवा समाजमार्फत सञ्चालन हुने गरी खोटाङ सेवा समाज दोहा कतारले १ वटा एम्बुलेन्स जिल्ला भित्र्याएको थियो । दूतावास तथा विभिन्न दाताबाट प्राप्त एम्बुलेन्स जिल्लामा भित्रिएका छन् ।