close

पाेखराका ताल: न मापदण्ड कार्यान्वयन, न सौन्दर्यमै चासो (भिडियो खबर)

पाेखराका ताल: न मापदण्ड कार्यान्वयन, न सौन्दर्यमै चासो (भिडियो खबर)

ADVERTISEMENT

कास्की- पोखरा तालैतालको सहर । फेवाताल, बेगनास, रुपा लगायत ९ ताल यहाँ छन् । तर अधिकांश तालहरु संरक्षणमा सरकारको चासो निकै कम छ । त्यतिमात्रै होईन, तालकै क्षेत्र समेत सँधियारेले मिचेर खाईसके । न मापदण्ड कार्यान्वयन हुन्छ, न त सौन्दर्यकरणमा चासो छ ।

 

यहि ताल र हिमाल हेर्न वर्षेनी लाखौं पर्यटक पोखरा आउँछन् । तर पर्यटक लोभ्याउने ताल सरकारले बनाउन सकेको छैन । अहिले बल्ला पोखरा महानगरले फेवाताल बाहेक लेखनाथ क्षेत्रका सातै तालको मापदण्ड र सौन्दर्यकरणबारे प्रारम्भिक अध्ययन सुरु गरेको छ ।

 

पोखराको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन समितिले प्रतिवेदन आइतबार बुझाएको छ । सोमनाथ सापकोटाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनले तालको सम्भावित मापदण्ड, हालको क्षेत्रफल, चर्चेको भूमी र सौन्दर्यकरणका लागि आवश्यक पर्ने कामबारे सरकारलाई सुझाव दिएको छ ।

 

यो प्रतिवेदन पाएपछि महानगरले त्यहाँका तालको छुट्टै मापदण्ड कायम गर्ने छ । हाल बेगनास, रुपा लगायत तालमा १ सय मिटर मापदण्ड छ । तर स्थानीयले त्यो मापदण्ड व्यावहारिक र वैज्ञानिक नभएको भन्दै सच्याउन दवाव दिँदै आएका थिए ।

 

लामो समयदेखि छलफलकै क्रममा रहेका तालहरुको मापदण्ड तालको आकार हेरेर तोक्न सिफारिस गरिएको छ । अध्ययन समितिले वेगनास र रुपा तालको मापदण्ड ६० मिटर र बाँकी साना तालहरुको मापदण्ड ३० मिटर तोक्न सकिने प्रतिवेदन दिएको हो । 


समितिले बुझाएको प्रतिवेदन महानगरका नगरप्रमुख मानबहादुर जिसीले कार्यान्वयनका लागि अघि बढाईसकेका छन् । उनले यसै वर्ष गुरुयोजना तयार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिए । प्रतिवेदनमा तालको मापदण्ड, तालहरुको विशेषता अनुसार सौन्दर्यकरण र तालको दीर्घकालीन संरक्षणलाई जोड दिईएको छ ।

 

नापी कार्यालय पोखराका प्रमुख खिमलाल गौतम, मालपोतका लेखनाथ इलाका प्रमुख हरिबहादुर भुजेल, ताल विकास प्राधिकरणका प्रमुख अनुप गुरुङ सदस्य थिए भने आमन्त्रित सदस्यमा गगन ढकाल, जगन्नाथ कोइराला र सदस्य सचिवमा अशोककुमार सुनारलाई तोकिएको थियो । 

 

समितिले निकालेको प्रतिवेदन अनुसार तालमा पानीको सतह साँघुरो भएपनि क्षेत्रफलमा कुनै असर नपरेको देखाईएको छ । स्थानीय र जग्गाधनीले नै ताल संरक्षणमा योगदान गरेको प्रतिवेदनले जनाएको छ । यसलाई थप सौन्दर्यीकरण गरेर प्रवद्र्धनमा ध्यान दिए पोखरामा पर्यटकको बसाई बढाउन सकिने निष्कर्ष निकालिएको छ ।