कोरोना संक्रमणः सस्तो प्रचारमा रमाए बागलुङका जनप्रतिनिधि


  • change font
  • change font
  • change font

बागलुङ–एक वर्षअघि कोरोना महामारीको पहिलो लहर चलेका बेला बागलुङको काठेखोला गाउँपालिकाले चिकित्सकको खोजी ग¥यो । गाउँपालिकाले नै सेवा–सुविधा उपलव्ध गराउने गरी करार सेवामा नियुक्त गर्न विज्ञापन गरे पनि कसैले दरखास्त दिएनन् । अस्थायी कोभिड अस्पतालका लागि भनेर माग गरिएको पदमा दरखास्त नपर्नुमा पालिकाको कुनै दोषको रहेन ।

 

सरकारी नियमअनुसारको तलबसुविधा तोकिएकै थियो । गाउँपालिकाले जबर्जस्ती कसैलाई ल्याउने कुरा भएन । आफ्नो मातहतमा रहेको जनस्वास्थ्यका अधिकृतबाटै कोभिड अस्पतालको नेतृत्व गराएर काम चलाइयो ।

 

त्यसबेला अवस्था भयावह नबनेकाले गाउँपालिकालाई असहज भने नभएको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामा बताउँछन् । उनले आफैंले कोभिड नियन्त्रण तथा रोकथाम, खोजपड्ताल र उपचारको नेतृत्व गर्नुपरेको थियो ।

 

यो समस्या काठेखोलाको मात्रै होइन,जैमिनी नगरपालिकामा रहेको स्वास्थ्य केन्द्र, गलकोटमा रहेको स्वास्थ्य केन्द्रले पनि त्यो समय समस्या भोगे । बुर्तिबाङमा रहेको स्वास्थ्य केन्द्रमा भने डा. मिलन मल्लको नेतृत्वले कोरोना महामारीको पहिलो लहर पार लगायो । 

 

त्यतिबेला बागलुङमा स्वास्थ्य सामग्रीको अभाव थियो । बिनासुरक्षाकवच स्वास्थ्यकर्मीहरू बिरामीको उपचार, जाँच र खोजपड्तालमा उत्रिए । 

 

प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको धौलागिरि अस्पतालमा १६ जना विशेषज्ञ र ६ जना मेडिकल अधिकृत थिए । त्यसबाहेकको स्वास्थ्य जनशक्ति पर्याप्त नभए पनि पुग्दो थियो । 

 

पहिलो लहर साम्य भएको केही समय नबित्दै महामारीको दोस्रो लहर चलिरहेको छ । १ वर्ष पहिला बनेका क्वारेन्टाइन, आइसोलेसन र कोभिड अस्थायी अस्पताल पुनः प्रयोगमा ल्याउनुपर्ने हो । 

 

पहिलेजस्तो संक्रमणको नरम अवस्था छैन । पहिलो लहरमा संक्रमित भएकामध्ये कमैलाई समस्या भयो । अस्पतालको आइसोलेसन बसेका हुन् वा होम आइसोलेसनमा बसेका । धेरैले सहजै कोभिड पराजित गरे ।

 

दोस्रो लहर चलेपछि संक्रमित बनेकाहरू धेरैमा श्वासप्रश्वासको समस्या छ । संक्रमितमध्ये धेरैलाई अस्पताल र अक्सिजन आवश्यक छ ।

 

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट छ । प्रमुख डा. शैलेन्द्र विक पोखरेलका अनुसार प्लान्टले २० जना बिरामीका लागिसमेत नपुग्ने अक्सिजन उत्पादन गर्छ । उत्पादित अक्सिजनको गतिसमेत कम हुने भएकाले धेरैलाई सिलिन्डरबाट अक्सिजन दिनुपर्ने अवस्था छ ।

 

स्थानीय तहले निर्माण गरेका आइसोलेसन र अस्थायी कोभिड अस्पतालको अभावको त कुरै नगरौँ । त्यहाँको अभावलाई नजरअन्दाज गरेर मुकामको ठूलो अस्पतालको अभाव मात्रै नियाल्ने हो भने जिल्लाको समग्र अवस्थाको चित्रण हुन्छ ।

 

अस्पतालको नर्सिङ वार्डलाई जानकारी माग्दा सरकारले उपलव्ध गराएको स्वास्थ्य सामग्रीले आधा नपुग्ने तथ्यांक आउँछ । अक्सिजन र भेन्टिलेटरको अभाव त देशभरकै समस्याको विषय भयो । जनशक्ति हेर्ने हो भने १६ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा १ जना मात्रै स्थायी दरबन्दीका चिकित्सक छन् । 

 

छात्रवृत्तिका १४ जना चिकित्सकले कोभिडका बिरामीको सेवा गरिरहेका छन् । ६ जना दरबन्दी रहेको मेडिकल अधिकृत खाली छन् । करारमा आएकाले समेत लामो समय बसेर काम गर्दैनन् ।


कोरोनाको दोस्रो लहरको उत्कर्ष चलिरहँदा बागलुङमा जनप्रतिनिधिहरूको सहयोगको होड चलेको छ । आवश्यकता कुन भन्ने नखुट्याई भइरहेको सहयोगको उपयोग कसरी होला ?

 

केही दिनअघि प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले स्वास्थ्य मन्त्रालयले दिएका २५ थान सिलिन्डरसहितको स्वास्थ्य सामग्री लिएर अस्पताल आए । सामाजिक सञ्जालमा ठूलो चर्चा भयो ।

 

सञ्जालमार्फत स्याबासी खाएका पाठकले अस्पतालमा रहेका सिलिन्डरको विषयमा जानकारी लिए । जनशक्तिको विषयमा पनि जानकारी त लिए तर ध्यान स्वास्थ्य सामग्रीमै थियो ।


पाठक आएको साता नबित्दै क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य भएका देवेन्द्र पौडेल स्वास्थ्य सामग्री बोकेर निर्वाचन क्षेत्र पुगे । कार्यकर्ताले उनले व्यक्तिगत खर्चमा सामग्री ल्याएको प्रचार गरिरहेकै छन् । सबै पालिका मुकामहरूमा पुगेर भीड जम्मा गर्दै छलफल गर्न पौडेलले छुटाएनन् ।

 

अस्थायी कोभिड अस्पतालहरूका साँघुरा कोठा हेरेर सुधार गर्न अनुरोध गरेका पौडेलले जनशक्ति पर्याप्त हो–होइन भन्नेबारे मौन रहे ।

 

३ तहका सरकार छन् । उनीहरूका आफ्नै सञ्जाल छन् । स्वास्थ्य क्षेत्रमा सोहीअनुसारको सञ्जाल छ । सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यसका विभाग छन् । 

 

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय पनि छ । गाउँपालिका तथा नगरपालिकाका आफ्नै स्वास्थ्य शाखा छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लामा रहेका स्वास्थ्य कार्यालयले अग्र भागमा रहेर काम गरिरहेकै छन् । 

 

यी सबै संयन्त्र स्वास्थ्य संस्थालाई मजबुत बनाउन, पूर्वाधार, उपकरण र सामग्रीको उपलब्धताका लागि होइनन् ? कि हाम्रो स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको हो ? सांसदले आफंै बोकेर आउने की ती संयन्त्रको प्रयोग गर्ने ? 

 

कठिन परिस्थितिमा तत्कालीन आवश्यकता पूर्तिको प्रसंग तर सरकारका संयन्त्रलाई नै छिटोछरितो बनाउने जिम्मेवारी जनप्रतिनिधिको हो । यदि हाम्रो सरकारको संयन्त्र छ भने सांसदहरू, स्वास्थ्य सामग्री बोकेर निर्वाचन क्षेत्रमा दौडाहा किन ?

 

धौलागिरी अस्पतालमा १४ वर्षदेखि ‘सी’ ब्लक भवन निर्माणाधीन छ । कठिन परिस्थितिमा बनिसकेको तेस्रो तलाका कोठा प्रयोग गर्न सकिन्थ्यो, अस्थायी शय्या निर्माणका लागि ।

 

तर, व्यवस्थापनले ५० शय्या थप्छु भन्दा ठेकेदार कम्पनीले बाँकी काम रोक्ने चेतावनी दियो । त्यो कम्पनीलाई काममा लगाउन सरकारलाई दबाब दिने विषय सांसदले हेरेनन् । २५ शय्याको आइसोलेसन बनाएको अस्पतालले गम्भीर बिरामीको चाप हेरेर ३५ शय्यामा स्तर वृद्धि गरेको छ ।

 

सामान्य वार्डका शय्याहरूको समेत स्तरवृद्धि गरेर अक्सिजनसहितको आइसोलेसन बनाउन अझै सकिन्छ । तर, जनशक्ति व्यवस्थापन भएको छैन । जनशक्ति व्यवस्थापनका लागि निर्वाचित भएको केही दिन जसरी सांसदहरूले दबाब सिर्जना गरेका थिए । 


प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा, हरिचौर र बुर्तिबाङमा अक्सिजन प्लान्ट जडान गरिएको छैन । धौलागिरि अस्पतालमा २० दिनमा प्लान्ट जडान गर्न सकिने अभिव्यक्ति दिने सांसदहरूले त्यहाँको विषयमा किन नसोच्ने ? अक्सिजन प्रयोग गर्न सक्ने जनशक्तिको व्यवस्थापन विषयमा सम्बन्धित निकायलाई किन सचेत नगराउने ?

 

अस्पतालमा आएका चिकित्सकको मनलाग्दी सरुवा हुन्छ । कम्तीमा एक पटक आएकालाई २ वर्ष रोक्ने गरी दबाब सिर्जना गर्नु जनप्रतिनिधिको दायित्वभित्र पर्नुपर्ने हो । 

 

संकटको समय साथ सबैले खोजिरहेका हुन्छन् । दायित्वबोध गर्नेहरूले प्रचार होइन, प्रक्रियाको माध्यमबाट आफूलाई स्थापित गराउँछन् । अक्सिजन मात्रै होइन, अहिले बागलुङमा कोरोना महामारीको लहरसँग जुध्न जनशक्तिको पनि चरम समस्या छ । यसमा सबैको ध्यान जान जरुरी छ ।