close

आइसोलेसनमा निको भएका संक्रमितलाई फूलमालासहितको बिदाइ

आइसोलेसनमा निको भएका संक्रमितलाई फूलमालासहितको बिदाइ

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिजा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा उपचारर्थ कोरोना संक्रमित निको भएपछि फूलमाला लगाएर घर फर्काइएको छ । आइसोलेन कक्षमा बसेका १९ जना संक्रमित निको भएपछि ६ जेठमा फूलमालासहित बिदाबारी गरेर घर पठाइएको हो । 

 

हाँडसिंजा स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायका अनुसार जनस्वास्थ्य कार्यालय जुम्लाको टोली आएर संक्रमितलाई पुनः एन्टिजेट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको हो । उनले भने, ‘घर पठाएकालाई अझै पनि घरमा १ साता होम आइसोलेसन बस्न सुझाएका छौँ । उनीहरूको मनोबल उच्च बनाउन हौसलास्वरूप फूलमाला लगाइदिएका हौँ ।’
 

 

संक्रमितसहित उनीहरूको घरपरिवार, छरछिमेकमा सम्पर्कमा रहेका ८६ जनालाई कन्ट्याक टे«सिङ एन्टिजेट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । कनकासुन्दरीभित्र विभिन्न बस्तीमा अब ११ जना संक्रमित होम आइसोसनमा छन् । तिनीहरू पनि स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको उपाध्यायले बताए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाले निको हुने क्रममा रहेको उनको भनाइ
छ । 

 

गाउँपालिकाले कोटघर स्वास्थ्य चौकीमा २५ बेड र हाँडसिंजा स्वास्थ्य चौकीमा २५ बेड गरी ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको इन्चार्ज उपाध्यायले बताए । यसमा थप ५ बेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्थानीय तहमा चिकित्सक परिचालन गर्ने भने पनि अहिलेसम्म चिकित्सक आइपुगेका छैनन् । 

 

जिल्लाभर संक्रमित भएका ११४ जना निको भएर घर फर्किएका छन् । वैशाख पहिलो सातादेखि हालसम्म कोरोना संक्रमितको संख्या ३११ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले ६ जेठमा सार्वजनिक गरेको तथ्यांक उल्लेख छ । 

 

यसमध्ये ११४ जना निको भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, ‘यहाँ १९७ जना सक्रिय संक्रमित छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २१ जना संक्रमितको उपचार भइरहेको छ ।’