close

प्रदेशको स्वास्थ्य मन्त्रालयले छुट्यायो कोरोना नियन्त्रण गर्न ७ करोड 

प्रदेशको स्वास्थ्य मन्त्रालयले छुट्यायो कोरोना नियन्त्रण गर्न ७ करोड 

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले दोस्रो लहरको कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्र सञ्चालनमा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीमा बजेट पठाउने निर्णय गरेको छ । 
 

प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले नागरिकको स्वास्थ्यलाई लक्षित गर्दै ७ करोड ७४ लाख रुपैयाँ बजेट निकासाको निर्णय गरेको हो ।
 

केही दिनअघि मात्रै कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले बजेटको सुनिश्चितता गर्दै रकम छुट्याएको थियो । निर्णयसँगै बजेट निकासा प्रक्रिया सुरु गरिएको प्रादेशिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए ।
 

 

उक्त बजेट प्रदेश आपूर्ति केन्द्र, कोरोना अस्पताल, आयुर्वेद चिकित्सालय, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य कार्यालयहरूलाई कोरोना रोकथाम र नियन्त्रणका लागि पठाइएको हो ।

 

मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बैठकले प्रदेश आपूर्ति केन्द्र,बुटवलका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त बजेटबाट केन्द्रले अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टे«टर किटस्, पिपिई र कोभिड–१९ परीक्षणका लागि किटस्, रिएजेन्टस, केमिकललगायत सामग्री खरिद गर्न सक्नेछ ।
 

त्यसैगरी बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवालाई कोभिड–१९ परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट कन्ज्युमेबल्स खरिद गर्न २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
 

प्राविधिक कार्यदलको सिफारिसअनुसार लुम्बिनी प्रदेशमा रहेका तराईका ३ पृथ्वीचन्द्र अस्पताल, परासी, बर्दिया अस्पताल, गुलरिया र कपिलवस्तु अस्पताल तौलिहवालाई १५ लाखका दरले ४५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय भएको छ । 
 

बैठकमा पहाडका ७ अस्पताल पाल्पा अस्पताल, तानसेन रामपुर अस्पताल, रामपुर, गुल्मी अस्पताल तम्घास, अर्घाखाँची अस्पताल सन्धिखर्क, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल रेउघा र रुकुम पूर्व अस्पताल सिस्नेलाई १० लाखका दरले ७० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
 

संक्रमितको परीक्षण एवं पहिचान गर्न, समुदायमा थप संक्रमण फैलन नदिन स्वास्थ्य अभियान सञ्चालन गर्न प्रदेशमा रहेका १२ वटा स्वास्थ्य कार्यालयलाई ५ लाखका दरले ६० लाख रुपैयाँ उपलब्ध गराइएको छ । 
 

प्रदेशमा रहेका ९ वटा आयुर्वेद अस्पतालाई १ लाखका दरले ९ लाख रुपैयाँ, लुम्बिनी आयुवेद चिकित्सालय र प्रदेश आयुर्वेद चिकित्सालय बिजौरीलाई २ लाख ५० हजारका दरले ५ लाख गरी जम्मा १४ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु भवनको लिफ्ट र जेनेरेटर खरिदका लागि ५० लाख र भीम अस्पताल भैरहवामा आइसोलेसन अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि १५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय भएको डा. पौडेलले बताए ।