close

ओमसतियाबासीलाई अध्यक्षको गाडी एम्बुलेन्सदेखि निःशुल्क पिसिआरसम्मको सेवा

ओमसतियाबासीलाई अध्यक्षको गाडी एम्बुलेन्सदेखि निःशुल्क पिसिआरसम्मको सेवा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको ओमसतिया गाउँपालिकाले कोरोना महामारी बढेसँगै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नियन्त्रणका उपाय गरिरहेको जनाएको छ । गाउँपालिकाले अध्यक्ष चढ्ने गाडीलाई एम्बुलेन्सदेखि निःशुल्क पिसिआर र कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गरिरहेको छ ।

 

ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले आफू चढ्ने गाडीलाई अक्सिजनसहितको एम्बुलेन्स बनाएर २४ सै घन्टा जनताको सेवामा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘अहिलेको विषम अवस्थामा जनताको स्वास्थ्य सेवा पहिलो प्राथमिकता हो । यस कारण मैले आफू चढ्ने गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाएर बिरामी बोक्न उपलब्ध गराएको छु ।’

 

ओमसतिया गाउँबासीलाई अक्सिजनसहितको सेवा २४ सै घन्टा उपलब्ध रहेको भने स्वास्थ्यकर्मी, कर्मचारी, प्रहरी, नगर प्रहरी बिरामीको स्वास्थ्यप्रति खटिइरहेको अध्यक्षले केवटको भनाइ छ ।

 

ओमसतियाभित्रका नागरिकको स्वास्थ्यमा कुनै समस्या वा कोभिड-१९ लक्षण देखिएको निःशुल्क पिसिआर गराउन थालिएको छ । हेल्थपोस्ट तथा स्वास्थ्यकर्मीसँग समन्वय गरेर पिसिआर परीक्षण निःशुल्क गराइरहेको उनले बताए ।

 

अहिलेको अवस्थामा सबै मिलेर कोरोना जित्नु पहिलो काम भएको बताउँदै अध्यक्ष केवटले भने, ‘गाउँपालिकाले जनतालाई आवश्यकताअनुसार काम गर्ने हुँदा कसैलाई केही समस्या भए स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधिसम्मलाई सम्पर्क गर्न आग्रह गरेका छौँ ।’

 

शव व्यवस्थापन गर्दै पालिका

 

गत वर्षदेखि फैलिएको कोरोना महामारीले विकाराल रूप लिएपछि पालिकाभित्र कोरोनाको कारण मृत्यु भएकाको शव गाउँपालिकाले आफंै व्यवस्थापन गरेको छ ।

 

पालिका अध्यक्ष केवट भन्छन्, ‘गत वर्ष कोरोनाको कारण २ जनाको मृत्यु भएको थियो । हामीले नेपाली सेनालाई बोलाएर शव व्यवस्थापन गर्दा समस्या भएकाले गाउँपालिकाले नै गर्ने निर्णय भएको हो ।’ गत वर्ष १ जनाको शव व्यवस्थापन गर्न सेनालाई बोलाउँदा ५३ हजार रुपैयाँ बढी लागेको र समय पनि उत्तिकै बढी भएको उनको अनुभव छ ।

 

‘केही दिनअघि १ जनाको कोरोनाका कारण निधन भयो । शव व्यवस्थापनमा छिमेकी कसैको सहयोग नभएपछि म आफैं गएर व्यस्थापन गरेँ । माओवादी र राजतन्त्रविरोधी आन्दोलनमा सबै एउटै ठाउँ भए पनि यो महामारीका बेला परिवारका सदस्यसमेतले हेय व्यवहार गरेको देखियो । त्यसका लागि गाउँपालिका आफैं अगाडि बढेको हो’, अध्यक्ष केवटले भने ।
 
घरमै पुगेर स्वास्थ्यलाभको कामना 


ओमसतिया गाउँपालिकाभित्र कोभिड-१९ बाट पोजेटिभ भएका बिरामीको स्वास्थ्यलाई दृष्टिगत गरी ५ प्रकारका भिटामिन, १ क्यारेट अन्डासहित प्रत्येकको घरमा पुगेर स्वास्थ्यलाभको कामनासहित स्वास्थ्यसम्बन्धी जानकारी लिइने गरेको अध्यक्ष केवटले जानकारी दिए । जनप्रतिनिधिसहित स्वास्थ्यका कर्मचारी जनताका घरघरमै गएर संक्रमितको मनोबल बढाउन थालिएको उनको भनाइ छ ।

 

१० बेडको कोभिड अस्पताल सञ्चालनमा

 

ओमसतिया गाउँपालिकाले १० बेडको कोरोना अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकामा रहेको वसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजनसहितको १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई राहत भएको अध्यक्ष केवटले सुनाए । 

 

‘केन्द्र र प्रदेशमा कुर्सीका लागि हानथाप भए पनि गाउँपालिकाका जनप्रतिनिधि नागरिकको सेवामा जुटिरहेका छौँ । कोभिड-१९ संक्रमितलाई सुरक्षित बनाउन आफ्नो ज्यान र परिवारलाई दाउमा राखेर व्यवस्थापनमा व्यस्त छौँ’, पालिका अध्यक्ष केवटले भने ।