close

सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बन्ने, बोलपत्र आह्वान

सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बन्ने, बोलपत्र आह्वान

Trulli
ADVERTISEMENT

रूपन्देही– पाल्पा र रूपन्देहीको सिमानामा पर्ने सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा खण्ड कुहिरेभीरमा सुरुङ निर्माण हुने भएको छ । ‘मृत्युमार्ग’ को उपमा पाएको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएको हो ।

 

सुरुङ निर्माणका लागि सडक विभागले बोलपत्र आह्वान गरेको छ । पहिरोका कारण निकै जोखिम उक्त क्षेत्रमा बर्सेनि धेरैले ज्यान गुमाउँदै आएका छन् । सुरुङ बनाउन आइतबार बोलपत्र आह्वान भएको छ ।

 

२०७१ देखि बजेट विनियोजन भए पनि सुरुङ बन्नेमा विश्वस्त आधार थिएन । बोलपत्र आह्वानसँगै अब भने निर्माण प्रक्रिया अगाडि बढ्दै छ । 

 

अर्थ मन्त्रालयले स्वीकृति दिएको १० अर्ब १५ करोड रुपैयाँको सीमाभित्र रहेर सुरुङ मार्ग निर्माण गर्न टेन्डर आह्वान भएको हो ।

 

अर्थमन्त्री विष्णु पौडेलले पहिलो पटक अर्थमन्त्री हुँदा सिद्धबाबामा सुरुङ मार्ग बनाउने योजना अघि बढाएका थिए । अहिलेको कार्यकालमा त्यसलाई मूर्त रूप दिन थालेका छन् ।

 

सिद्धबाबाको जोखिम क्षेत्रलाई सुरक्षित बनाउन सुरुङ मार्गसहित अन्य किसिमका योजना तय गरिएका छन् । ५ वर्षभित्र सुरुङ निर्माणको काम सक्ने योजना रहेको सडक विभागका उपमहानिर्देशक विजय जैशीले बताए ।


उनले भने, ‘१ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङ मार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) रहनेछ, जुन ७८० मिटरको हुनेछ ।’

 

सुरुङ मार्गको प्रवेश बिन्दु र अन्तिम बिन्दुमा भने रकनेट र रकसेट विधिबाट पहिरो व्यवस्थापनको काम हुने उनले जानकारी दिए । सिद्धबाबा क्षेत्रमा सडक विभागले सुरुङ मार्ग निर्माणका लागि टेन्डर आह्वान गरेको हो । 

 

डबल लेनको सुरुङ निर्माणका लागि टेन्डर आह्वान भएको छ । यो सुरुङ निर्माण ५ वर्षभित्र सक्ने योजनासहित निर्माण कम्पनीको खोजी भएको हो ।

 

हाल पहिरोले अत्यधिक जोखिम क्षेत्र रहेको क्षेत्रमा ११ सय २६ मिटरको सुरुङ बन्नेछ । अन्य स्थानमा ढुंगा नखस्ने प्रविधि अपनाइनेछ । 

 

करिब ३ किलोमिटर क्षेत्र सुरक्षित बनाउने काम सडक विभागले गर्न लागेको हो । सुरुङ निर्माणपछि पनि अहिलेको सडक कायमै हुनेछ, जसलाई आपतकालीन अवस्थामा सवारीसाधन चलाउन प्रयोग गरिनेछ । 


सडकको माथिबाट पहिरो झर्न नदिन रकसेट प्रविधि अपनाइने उपमहानिर्देशक जैसीले जानकारी दिए । सडक विभागले ४५ दिने बोलपत्र आह्वान गरेको छ । अनुभवी कम्पनीले मात्रै सुरुङ्ग निर्माणका लागि टेन्डर दाखिला गर्नेछन् ।

 

यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस् या बर्खायाम । यो क्षेत्रमा जुनसुकै बेला झर्ने चट्टानसहितको पहिरो खस्दा यात्रुको अकालमै मृत्यु हुुने गरेको छ । सरकारले चुनाबको घोषणासँगै टेन्डर गरेपछि स्थानीयले चुनावी नाराका लागि मात्र नहोस् भन्ने कामना गरेका छन् ।