close

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट र एचडियु थप्न अर्थको सहमति 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट र एचडियु थप्न अर्थको सहमति 

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले माथिल्लो कर्लाली (जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट) र रुकुमपश्चिम जिल्लासहित लुम्बिनी प्रदेशको बाँकेस्थित भेरी अस्पतालमा जनशक्ति परिचालन गरेको छ । 

 

यस्तै, जुम्लाका स्थानीय तहमा पनि दक्ष जनशक्ति परिचालन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रीत भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक थप स्रोत-साधन मजबुत बनाउन प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको पहलमा अर्थ मन्त्रालयले सहमति दिएको छ । 

 

थप अक्सिजन प्लान्ट जडानका लागि २ करोड र २५ शय्या एचडीयुका लागि ३ करोड १२ लाख ७० हजार बजेटको सहमति दिएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनले भने, ‘अर्थ मन्त्रालयले बजेटको सहमति दिएको छ । अब छिट्टै व्यवस्थापन हुने हुँदा प्रतिष्ठान थप स्रोत-साधनमा बलियो बन्नेछ ।’


 
प्रतिष्ठानमा छाती रोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु, २४ बेडको एचडियु तथा ८४ शय्या गरी १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

 

कर्णाली कोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न चाहन्छ’, उनले भने, ‘त्यसका लागि कर्णालीबासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक छ । यसअघि अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले पाइप लाइनमार्फत नियमित रूपमा बेडमा सप्लाइ भइरहेको छ ।’ 


प्रवक्ता डा. भट्टराईले हाल अक्सिजन प्लान्टबाट उत्पादित र थप ११० वटा सिलिन्डरले अक्सिजनको व्यवस्थापन भइरहेको बताए । ‘बिरामीको चाप बढ्दो क्रममा छ’, उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गरेर थप ३६० सिलिन्डर खरिद प्रक्रिया सुरु भइसकेको छ ।’ 

 

केन्द्र सरकारसँगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरी व्यवस्थापन गर्न सुरु भइसकेको उनको भनाइ छ । प्रतिष्ठानमा संक्रमित नमुनाको पिसिआर परीक्षणलाई निरन्तरता दिँदै आएको उनले बताए ।