close

भक्तपुरको रानीपोखरी पुनर्निर्माण गरिँदै (भिडियो खबर)

भक्तपुरको रानीपोखरी पुनर्निर्माण गरिँदै (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- रानी पोखरी भन्ने वित्तिकै तपाईको मनमा पक्कै पनि काठमाडौँ रानीपोखरी भन्ने बुझ्नु हुन्छ होला । तर भक्तपुरमा पनि रानीपोखरी छ । जुन पोखरी काठमाडौँको भन्दा पुरानो हो भन्ने किम्बदन्तीमा पाइन्छ । कुनै समय भक्तपुरको रानीपोखरीमा सर्वसाधारणलाई पस्न अनुमति थिएन । तत्कालीन राजा जगज्याति मल्लले नेपाल सम्बत ७५० अर्थात् वि.स. १६८७ रानी पोखरीको निर्माण गरेका थिए ।

 

तत्कालीन बोलीचालीमा न्हू पुखुः अर्थात् नयाँ पोखरीसमेत भनिने सो पोखरीलाई राजा जगज्योति मल्लले आफ्नो रानीलाई समर्पण गरेपछि त्यसलाई रानीपोखरी भन्न थालेको इतिहास छ । अहिले उक्त पोखरीलाई ब्युँताउन भक्तपुरको भक्तपुर नगरपालिका लागिपरेको छ । रानीपोखरी भन्ने बित्तिक्कै काठमाडौंको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर भएको पोखरी मानसपटलमा आउँछ । 

 

तर भक्तपुरमा काठमाडौंको भन्दा ४० वर्ष पुरानो रानीपोखरी छ । अहिले त्यसको जीर्णोद्धार भइरहेको छ । शाही कालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा जेठो पोखरी हो । भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेको गरेका थिए । काठमाडौँको रानीपोखरी भने त्यसको ४० वर्षपछि वि.सं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए । 

 

संस्कृतिविद् पुरुषोतमलोचन श्रेष्ठका अनुसार प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा यहाँका पोखरी भत्काएका थिए । भक्तपुरको रानीपोखरीमा क्षति पु¥याउने उनी नै थिए । उनैले भक्तपुरमा रहेको भाजुपुखुको नक्कल गर्दै काठमाडौँमा रानीपोखरी बनाएका थिए । पोखरीको बीचमा सुनको टाउको भएको नागको मूर्ति रहेको र चारैतिर विभिन्न कलात्मक मूर्तिहरुले घेरिएको इतिहासमा उल्लेख भएको पाइन्छ ।

 

तीन तहमा विभाजन गरेर निर्माण गरिएको बनाइएको पोखरीमा गहिराइतिरको पहिलो तह पानी भरिने, दोस्रो तहको चारैतिर विभिन्न कलात्मक मूर्तिहरु दिगु द्यो (कुल देवता) छन् । तेस्रो तहमा पोखरी घुम्न मिल्नेगरी बाटो बनाई छेउछेउमा रुख र चारदिशामा चारवटा पाटी निर्माण भएको पाइन्छ । करिव ३२ रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरी पुतली बगैँचासहित सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको इतिहास छ ।

 

 विसं २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत नियन्त्रणमा लिएका थिए । पछि सो स्थानमा सेनाले विद्यालय सञ्चालन गरेका छन् ।सर्वसाधारणलाई प्रवेश गर्न बन्देज लगाएपछि अहिले रानीपोखरी आम मानिसको मानसपटलबाट समेत हराउन थालेको थियो ।पानीले भरिएको पोखरी झाडीमा परिणत हुन पुग्यो । 

 

अन्तत स्थानीय सरकार आएपछि रानीपोखरी पुननिर्माणका लागि सेना र स्थानीय सरकारबीच सम्झौता भयो । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य सुरु हुन थाल्यो ।उपभोक्ता समितिमार्फत् पोखरीको पुनर्निर्माण हुन थालेको छ । झारैझारले घेरिएको पोखरीमा मूर्तिहरु समेत जीर्ण अवस्थामा पुगेको छ । सोही मूर्ति र पोखरीमा प्रयोग भएका सामग्रीलाई कोट्याएर भग्नावशेष अनुसन्धान गरी पुनर्निर्माण हुँदै आएको छ । 

 

पोखरीका पुराना सामानको पुनप्रयोग गरी परम्परागत शैलीमा पुननिर्माण गर्न लागेको रानी पोखरीमा पुरानो दाची अपा, माटो, चुना, सुकीको प्रयोग हुँदै आएको छ । करिव ४ सय वर्ष पुरानो रानीपोखरीको कुनै प्रमाण नभएकोले पुनर्निर्माण कार्यमा ढिलाइ समेत हुँदै आएको छ ।

 

पोखरीका अवशेषका आधारमा त्यहाँको बनावट र प्रयोग भएका शैलीलाई अनुमानित रुपमा कार्य गर्दै आएको छ । त्यसका लागि भक्तपुर नगरपालिकाले  सहयोग गर्दै आएको छ । रानीपोखरी निर्माण सम्पन्न भएपछि वर्षदेखि स्थानीयले पोखरीभित्र प्रवेश गर्न सेनाको अनुमति लिनुपर्ने छैन । काठमाडौंको भन्दा पुरानो भक्तपुरको यो रानीपोखरी आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्ने छ ।