close

रुपन्देहीमा स्वास्थ्य बिमा सदस्यता दर्ता सुरु

रुपन्देहीमा स्वास्थ्य बिमा सदस्यता दर्ता सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही - नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमको रुपन्देहीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । ५९ औं जिल्लाका रुपमा रुपन्देहीमा कार्यक्रम सुरु गरिएको हो ।


स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंको आयोजनामा बुटवलमा स्वास्थ्य बिमा सदस्यता दर्ता सुरु गरिएपछि रुपन्देही ५९ औं जिल्ला बनेको छ ।  ४ ज्येष्ठ नागरिकलाई सदस्यता वितरण गरी सुरु गरिएको कार्यक्रम उद्घाटन प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गरेका थिए ।


कार्यक्रममा मन्त्री बरालले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको स्तरोन्नति कार्य जारी रहेको बताए । प्रदेश सरकारले स्वास्थ्य बिमाका लागि सरकारी अस्पताललाई मुख्य प्राथमिकतामा राखेको उनले जानकारी दिए । 


‘अहिले बिमा कार्ड लिएर सरकारी अस्पतालबाट निजी स्वास्थ्य संस्थामा रिफर भइरहेको अवस्था छ । त्यसको अन्त्यका लागि काम भइरहेको छ । सरकारी अस्पताल सबैको प्राथमिकतामा पर्ने गरी स्तरोन्नति हुँदै छन्’, बरालले भने । 


पालिकामा अस्पताल नभएकाले न्यूनतम ५ शैया क्षमताका अस्पताल तथा जिल्ला अस्पताललाई न्यूनतम ५० शैयामा परिणत गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । स्वास्थ्य बिमाले रुपन्देहीका स्थानीयलाई सहज हुने विश्वास उनको छ । 


बोर्डकी कार्यकारी निर्देशक राधिका नेपालले अत्यावश्यक परे मात्रै यो सेवा लिन आग्रह गरिन्  । सरकारसँग ठूलो रकम नभएकाले अनावश्यक टेस्ट नगर्न उनको आग्रह छ । ‘आधारभूत स्वास्थ्य निःशुल्क हुने भनिएकाले थप प्रभावकारी भयो । आवश्यक परेकाले सेवा पाउन् भनेरै यो कार्यक्रम चलिरहेको छ’, नेपालले भनिन् ।


कार्यक्रममा स्वास्थ्य निर्देशनालय प्रदेश ५ का निर्देशक डा. विनोद गिरी, रुपन्देही जिल्ला समन्वय प्रमुख एकराज विश्वकर्मा, तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे, सैनामैना नगरपालिका प्रमुख चित्र कार्कीलगायतले स्वास्थ्य बिमाबारे जिज्ञासा राखेका थिए ।