close

रोहिणीमा खाद्य बैंक: अभरमा परेकालाई राहत

रोहिणीमा खाद्य बैंक: अभरमा परेकालाई राहत

Trulli
ADVERTISEMENT

रूपन्देही- निषेधाज्ञाका कारण गाउँपालिका विपन्न परिवारको चुल्हो निभ्न नदिन रूपन्देहीको रोहिणी गाउँपालिकामा खाद्य बैंकको अवधारणा कार्यन्वयनमा ल्याइएको छ ।

 

रोहिणी गाउँ कार्यपालिकाको कार्यालय र लायन्स क्लब अफ रोहिणीको साझा पहलमा सोमबारदेखि रोहिणीमा खाद्य बैंक स्थापना गरी कार्यान्वयनमा ल्याइएको हो । 

 

कोरोनाका कारण लम्बिँदै निषेधाज्ञाले प्रभावित हुने परिवारलाई खाद्यान्न सहयोग गर्ने गरी यस्तो अवधारणा कार्यान्वयनमा ल्याइएको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए ।

 

‘सम्भावित संकटले अप्ठेरोमा पर्ने परिवारलाई जिन्सी सहयोग गर्ने उद्देश्यले खाद्य बैंक स्थापना गरिएको हो,’ अध्यक्ष यादवले भने ।

 

सहयोगी मन भएका तर नगद राहत दिन नसक्नेहरूले खाद्य बैंकमा सहयोग पठाउन सक्ने गाउँपालिकाले जनाएको छ । हाल लायन्स क्लबको २५ प्रतिशत लगानी र परिचालन तथा गाउँपालिकाले ७५ प्रतिशत लगानी गरेको यादवले बताए ।

 

स्थानीय रोहिणी लायन्स क्लबको जिम्मेवारीमा गाउँपालिकाको ७ वटै वडाका अतिविपन्न परिवारले आवश्यकताका आधारमा राहत सामग्री लैजान सक्ने लायन्स क्लब अफ रोहिणीका अध्यक्ष देवेन्द्र यादवको भनाइ छ ।

 

खाद्य बैंकमा दाल, चामल गेडागुडी, मसला, तरकारीलगायत सामग्री जम्मा गर्न सकिने क्लबका अध्यक्ष यादवले बताए । 


खाद्य बैंक सञ्चालनका लागि गाउँपालिका तथा लायन्स क्लबले टास्क फोर्ससमेत गठन गरेको छ । बैंकमा सहयोग प्राप्त गर्न समाजिक अभियान चलाउनेदेखि प्राप्त खाद्यान्न गाउँपालिकाले छनोट गरेका विपन्नलाई बाँड्नेसम्मको जिम्मेवारी टास्क फोर्सलाई छ । 


यसमा गाउँपालिकाका कर्मचारी र क्लबका स्वयंसेवक परिचालन गरिने क्लबका अध्यक्ष देवेन्द्र यादवले जानकारी दिए ।