close

बुटवलका नगरप्रमुख अर्थात महामारीका टेकाे

बुटवलका नगरप्रमुख अर्थात महामारीका टेकाे

Trulli
ADVERTISEMENT

रूपन्देही- जनप्रतिनिधि सेवक र स्थानीय पालिकालाई सेवा केन्द्रका रूपमा लिएका बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको भूमिका कोरोना महामारीको नियमित काम गरेर मात्रै सुख छैन । बिरामी परेका परिवारका सदस्यको हेरचाह गर्न पनि उनी हिँड्ने गरेका छन् ।

 

आर्थिक, व्यापारिक, पर्यटकीय केन्द्रका रूपमा र लुम्बिनी प्रदेशको आर्थिक केन्द्र रहेको, मुलुकका दुई प्रमुख राजमार्गले जोडिएको, अन्तर्राष्ट्रिय सीमा नाका नजिकै रहेको बुटवलमा महामारीसँगै अरू धेरै जिम्मेवारी आइपरेका छन् । सुवेदीलाई सघाउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा बुटवलका सामाजिक संघ-संस्था र निजी क्षेत्रसमेत छन् ।


महामारीविरुद्ध जनेचतनामूलक कामका साथै जोखिम न्यूनीकरणमा सहकार्यका साथ अभियान सञ्चालन भएका छन् । संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गर्ने, मनोबल बढाउन स्वास्थ्यलाभको कामना गर्दै हिँडेका छन्, सुवेदी ।


यसका साथै समुदायमा स्वास्थ्य समस्याको पहिचान र तिनको समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्था सोधीखोजी र उद्धारदेखि राहत वितरण गरियो । विपन्न परिवारलाई राहत वितरण, पठनपाठन प्रभावित भएका बालबालिकालाई टेलिभिजन र अनलाइनमार्फत शिक्षण सिकाइ कार्यक्रम पहिलो लहरका केही उदाहरण हुन् ।

 

कठिनपूर्ण र संकटको समयमा नेतृत्वदायी भूमिका


महामारी यसै पनि कठिनपूर्ण र संकटको समय हो । त्यसमा पनि महामारीको दोहोरो लहर झन संकटपूर्ण छ । यस्तै संकटकै बेला खास नेतृत्वको पहिचान हुने गर्दछ ।

 

पहिलो लहरमा बुटवलमा क्वारेन्टाइन निर्माण गर्ने, विशेष आइसोलेसन केन्द्र निर्माण गर्ने, लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा कोरोना विशेष अस्पताल निर्माण र सञ्चालन गर्नेेदेखि संक्रमितका घरदैलोमा आयुर्वेद ओखती, योगाभ्यास र सात्विक भोजनको व्यवस्था मिलाउँदै कठिनपूर्ण समयमा बुटवलले गरेको काम हो । 

 

अहिले दोस्रो लहरमा कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन निर्माण, घरघरमा आयुर्वेद र अक्सिजन सिलिन्डरसमेत निःशुल्क पुर्‍याएर बुटवलले अर्को नमुना कामको दृष्टान्त पेस गरेको छ । आइसोलेसनमा बसेका बिरामीलाई लक्षित गरेर अक्सिजन बैंक सेवा सञ्चालन गर्ने पालिका बुटवल नै हो ।

 

संघीय र प्रदेश सरकार, निजी क्षेत्र र विभिन्न संघ-संस्थासमेतको सहकार्यमा बुटवलमा आइसियु र भेन्टिलेटरसहितका कोरोना विशेष अस्पताल निर्माणका काममा बुटवलका नगरप्रमुख सुवेदीले वहन गरेको भूमिका उदाहरणीय छ ।


यो अस्पतालमा अहिले पनि संक्रमितको उपचार भइरहेको छ । नेतृत्वलाई कतिपयले आलोचना गर्नु अस्वाभाविक होइन तर सुवेदीलाई धेरैले कठिन समय पनि जिम्मेवारी पूरा गर्ने र अभिभावकीय भूमिका निर्वाह गर्ने नेताका रूपमा लिन्छन् ।

 

विज्ञसँग परामर्श र टिमवर्कमा विश्वास

 

विज्ञसँग परामर्श, सरोकारवालासँग सहकार्य र टिमवर्कमा विश्वास गर्दा नै उपलब्धि हासिल हुन्छ भन्नेमा उनी दृढ छन् ।


लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डा. राजेन्द्र खनाल, चिकित्सक नन्दु पाठक, सुदर्शन थापालगायत, चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिकदेखि आयुर्वेद र योगाका विज्ञहरूसँग नगरप्रमुखको नियमित परामर्श हुने गर्छ ।


आवश्यकताका आधारमा विभिन्न विषयका विज्ञ र जानकारहरूसंग परामर्श गरेर नै योजना तय र नीति निर्माण गर्ने गरिएको छ । यस्तै, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सामाजिक संघ-संस्था, निजी क्षेत्र र अगुवाहरूसँग नगरप्रमुख समय-समय परामर्श गर्ने गरेका छन् ।


महामारीका बेलामा नगरप्रमुख सुवेदीको काम गराइ र खटाइलाई नजिकबाट नियालेका स्थानीय उनीप्रति सन्तुष्ट छन् । ‘बुटवलका नगरप्रमुख सुवेदीको हौसला बढाउने शैलीका कारण प्रभावित भएँ’, यहाँको आइसोलेसनमा बसेका कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भीष्मराज भुसाल भन्छन्, ‘बुटवल नगरप्रमुखको भूमिका प्रदेशकै अभिभावकको रूपमा रहेको पाएँ ।’
बुटवल उपमहानगर प्रमुख तथा नगरपालिका संघ लुम्बिनी प्रदेशका संयोजक रहेका सुवेदीलाई अरूका कुरा कम सुन्ने र आफैं मात्र धेरै बोल्ने भनेर बात लाग्ने गरेको छ । 

 

आयुर्वेद चिकित्सा अवलम्बन, करिब ५ हजारलाई घरमै औषधी

 

आयुर्वेद चिकित्सा नेपालको पुरानो र प्रभावकारी उपचार विधि हो । यसलाई बुटवलले व्यवहारमै उतारेको छ । बुटवलमा संक्रमित भएका करिब ५ हजार जनालाई आयुर्वेद ओखती वितरण गरिएको छ ।


बुटवलले सञ्चालन गरेका क्वारेन्टाइन तथा आइसोलेसनलाई विश्व स्वास्थ्य संगठनले पूर्ण मापदण्डका रहेको बताएको छ । सरकारले पनि उत्कृष्टको मान्यता दिएको थियो । आइसोलेसन र क्वारेन्टाइन निर्माणकै बेलामा डब्लुएचओका प्रतिनिधिको समेत उपस्थिति थियो ।

 

तीनै क्वारेन्टाइन र आइसोलेसनमा रहेकालाई योगागुरु, आयुर्वेद विज्ञ विष्णुहरि आचार्यमार्फत योगा सिकाइएको छ । आयुर्वेद ओखती वितरण गरिएको छ ।

 

सात्विक भोजन, योगाभ्यास र सकारात्मक शोंच राख्न भन्दै प्रमुखको सन्देशसहित अपिललाई बुटवलका स्वास्थ्य शाखाका प्रमुख उमादेवी थापा, गीतादेवी पाण्डे, कल्पना भट्टराईसहितका जनस्वास्थ्य अधिकृत र वडा तथा टोल स्तरबाट पनि विभिन्न ठाउँमा सञ्चार गरिएको छ । 

 

संक्रमितका घर–घरमा टोली


बुटवल उपमहानगरमा हालसम्म ९६१९ बढी संक्रमित भएका छन् । लक्षण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरूको दैनिक निःशुल्क रूपमा परीक्षण भइरहेको छ ।

 

संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको छ । स्वास्थ्यकर्मीलाई आवश्यक ओखतीसहित संक्रमितको घरघरमा पठाइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

 

निःशुल्क एम्बुलेन्स सेवा


कोरोना भाइरसको दोस्रो यो लहरमा पनि बुटवलले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ भने सीमा नाकाबाट आएकालाई ओसारपसार गर्न छुट्टै सवारी साधन व्यवस्था गरी सञ्चालनमा ल्याएको छ ।

 

तेस्रो मुलुकबाट आउने बुटवलका मात्र नभई लुम्बिनी प्रदेशका अरू जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकलाई पनि बुटवलमा होल्डिङ गराएर पठाउने गरिएको छ ।


त्यस्ता नागरिकलाई विमानबाट आउनेलाई विमानस्थलसम्म र पैदलमार्गबाट आउनेलाई बेलहिया नाकाबाटै उद्धार गर्न सवारी साधनको व्यवस्था मिलाइएको छ । चालक सेराज अहमद खानलाई बेलहिया नाकामै खटाइएको छ ।

 

असहाय र असक्तको हेरचाहमा विशेष ध्यान

 

बुटवल बेसहारा, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भइसकेको छ । नगर प्रमुख सुवेदीकै विशेष पहलमा मानवताको सहर निर्माण भइरहेको हो ।


सहयोगापेक्षी सडक मानव भेटिनासाथ उद्दार गर्ने, आश्रममा राख्ने, खाद्यान्नदेखि औषधोमूलोको व्यवस्था मिलाउने, ज्येष्ठ नागरिकले सञ्चालन गरेका मिलन केन्द्र र विभिन्न ठाउँका आश्रममा आवश्यक खाद्य सामग्री र औषधी उपलब्ध गराइएको छ ।

 

त्यस्ता क्षेत्रको नियमित हेरचाह र रेखदेखका लागि पालो बाँडेर कर्मचारी तथा जनप्रतिनिधिलाई विशेष जिम्मेवारी दिइएको छ । 

 

सहरी कृषि प्रवर्द्धनमा लागेका किसानलाई प्रोत्साहन

 

बुटवलले सुरु गरेका फसल धितो राखेर किसानलाई अनुदान, बीऊविजन, उपकरण प्रदान, हरितगृह निर्माणदेखि सहरी कृषि प्रवद्र्धनका कार्यक्रमलाई नमुना मानिन्छ । अहिलेको यो महामारीका बेला बुटवलको सहरी कृषि कार्यक्रम उपयोगी सिद्ध भएको छ ।


किसानलाई जथाभावी विषादी प्रयोग नगर्न आग्रह गर्दै जैविक विषादीमा अनुदान, औषधीय गुणका बालीको बिउ प्रदान, काममा सघाउन उपकारण प्रदानका कार्यक्रम चलिरहेका छन् । भूमि बैंक, श्रम बैंकको स्थापनादेखि कृषि उत्पादकत्व वृद्धि गर्न प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा गठन भएको विशेष कार्यदलले अहिले विभिन्न योजना तय गरिरहेको छ । 

 

छिमेकका पालिकाका किसान, किसानद्वारा सञ्चालित सहकारी संस्था र कृषि उपज संकलन केन्द्रलाई संरक्षण र प्रवद्र्धन गरिएको छ । तरकारी उत्पादक किसानको सहकारीमार्फत सहरका नागरिकको घरदैलोमा सुपथ मूल्यको तरकारी तथा दुग्धजन्य पदार्थ पुर्‍याइएको छ । 

 

मेयर युवा इलम कार्यक्रम प्रभावकारी


बुटवललाई बेरोजगार शून्य घोषणाको तयारीका साथ मेयर युवा इलम कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रमअन्तर्गत विभिन्न विषयमा सीप सिकेकाहरू स्वरोगार बनेका छन् भने कतिपयले सीप सिक्दा सिक्दै रोजगारी पाएका छन् ।

 

हेभी इक्विपमेन्ट र हाइड्रोलिक मेसिन, सवारी मर्मत र सञ्चालनसम्बन्धी तालिम लिएका विभिन्न ठाउँका २७ जनाले युवाले तालिम नसक्दै रोजगारी पाएको प्रशिक्षक राधाकृष्ण देउलाले बताए । 

 

बुटवलले अहिले महामारीका बेला यही कार्यक्रम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रमलाई रोजगारी गुमाएर विदेशबाट आउने नागरिकलाई पनि जोड्ने भएको छ ।

 

श्रम बैंक र भूमि बैंकको अवधारणा ल्याउने काम पनि बुटवलमा पहिले भएको हो । बुटवलले यस्तो कार्यक्रम ल्याएको केही समयपछि संघीय सरकारले नीति तथा कार्यक्रममा समेत समावेश भएको थियो ।


धानको बिउसमेत निःशुल्क वितरण गरिएको छ । कृषि विकास शाखाका प्रमुख सन्तोष केसी नेतृत्वको टोली अहिले किसानसँगको नियमित सम्पर्कमा छ । 

 

उपप्रमुख महिला उद्यमशीलता कार्यक्रममा आकर्षण

 

उपप्रमुखसँग सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रमअन्तर्गत महामारीको बेला गत वर्ष मात्रै बुटवलमा १०० बढी  महिलालाई घरमै पुगेर पोषण प्रदान गरिएको छ ।


बुटवलमा सञ्चालनमा रहेको उपप्रमुख महिला उद्यमशीलता कार्यक्रम पनि मुलुकमा नमुना कार्यक्रम बनेको छ । महिलाले विभिन्न विषयमा सीप सिक्ने र त्यसलाई व्यावहारिक बनाउने काम गरेका छन् ।


अहिले महामारीको बेला महिलालाई समूहमार्फत सामूहिक खेतीमा प्रोत्साहित गर्ने, उद्यममा आकर्षित गर्ने, जडीबुटी खेती गर्ने र स्वरोजगार बनाउँदै उत्पादनका काममा केन्द्रित गराइको उपप्रमुख गोमा आचार्यले बताइन् ।