close

बुद्धभूमिकाे दुःखः डेढ वर्षदेखि कोरोनाको डर, तीनवर्ष भो खानेपानीको कहर (भिडियो खबर)

बुद्धभूमिकाे दुःखः डेढ वर्षदेखि कोरोनाको डर, तीनवर्ष भो खानेपानीको कहर (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- पानी दैनिक जीवनको लागि निकै महत्वपुर्ण छ । नागरिकको मौलिक हकको लागि नेपालको संविधानले आधारभुत स्तरको खानेपानी, सरसफाई तथा स्वच्छतालाई लिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका सबै जनतामा स्वच्छ खानेपानीको दिगो सुनिश्चितताको उद्देश्य लिएको छ ।

 

पहाडी भेगमा स्वच्छ पानी पुर्‍याउन भौगोलिक जटिलताले असहज हुन सक्छ । तर, तराईका भेगमा स्वच्छ खानेपानीको सुविधा दिन अनुकुल वातावरण भए पनि स्थानीय र प्रदेश सरकारको बेवास्ताका कारण जनता आर्सेनिक युक्त पानीको भरमा बस्नु परेको छ । 

 

कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. १  बसन्तपुरका स्थानीय पानीको लागि सधै लाइन लाग्नु पर्ने बाध्यता छ । काेराेनाकाे याे कहरमा स्थानीय पानीकै लागि घम्साघम्सी गर्छन् ।  घरमा नल गाडिएको छ । तर, आर्सेनिक भएको कारण खान मिल्ने अवस्था छैन । नलको पानीमा आर्सेनिक भएको हुँदा पानी राखिएको भाडा समेत रातो देखिन्छ ।

 

सुरक्षित खानेपानीको लागि यहाँ २ दशक अगाडी खानेपानी आयोजना संचालनमा आएको थियो । आयोजनाको पाइप लाइनमा चुहावट र क्षमता भन्दा बढी माग भएको कारणले गर्दा पानीको अभाव भएको छ । लुम्बिनी प्रदेश सरकारले २०७६ भदौ ५ गते खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधिलाई स्वीकृति दिएको छ ।

 

कार्यविधिमा प्रदेशको हरेक जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गर्ने उल्लेख गरिएको छ । कार्यविधिको दफा २ मा सुरक्षित पानी भन्नाले मानव स्वास्थ्यलाईं हानी गर्ने भौतिक, रसायनिक र जैविक पदार्थ रहित पानी भनी परिभाषा गरेको छ । तर, प्रदेशकै अग्रणी नगरपालिका बुद्धभुमि नगरपालिकाको वडा नं.१ बसन्तपुर र शान्तीपुरका जनता भने पानी कै हाहाकारमा ३ वर्ष देखि बस्नुपरेको छ ।


धारामा पानी कहिले आउछ कहिले आउदैन । घरमा जोडिएका निजी धारा बन्द भएका छन् । टोलटोलमा राखिएका सार्वजनिक धारामा मात्र पानी आउँछ । पानीको बेग कम भए पछि धाराको टुटी बाट पानी झर्ने गरेको छैन । स्थानीय भने जमिनको सतह बा खाल्डोमा अलग पाइप राखी पानी भर्नु पर्ने बाध्यता छ ।

 

जमीनको सतहमा पु‍र्‍याउँदा पनि सानो धाराका कारण भाडो भर्न पनि धेरै कुर्नु पर्ने बाध्यता भएको छ । दैनिक साँझ १ घण्टामा मात्र पानी आउनु पर्ने हो त्यो पनि आउदैन । १० घरमा खाने पनी पुग्ने गरी पानी नहुँदा स्थानीयले निकै सास्ती खेप्नु परेको छ । जिल्लामा थुप्रै खानेपानीको आयोजना संचालनमा छन् । तर, स्थानीय सरकार र प्रदेश सरकारको.ध्यान समस्या भएको क्षेत्रतर्फ पुग्न सकेको छैन ।

 

५० पिपिवि भन्दा धेरै मात्रामा आर्सेनिक भएको पानी खान योग्य हुदैन । वडा नं.१ भरी पहिलो सतहमा औषत ९५ पिपिवि मात्रामा आर्सेनिक मिसिएको छ । सुरक्षित खानेपानीको लागि गहिरो सतहमा डिप बोरिङ गराई पानी निकाल्नु पर्ने हुन्छ । आर्सेनिक युक्त पानी पिउँदा क्यान्सर रोगको जोखिम हुने गर्दछ ।