भक्तपुर- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने भक्तपुरको चण्डेश्वरी जात्रा औपचारिक रूपमै मनाइँदै छ । भक्तपुरमा वैशाख शुक्ल पूर्णिमा र त्यसको अघिल्लो दिन गरी २ दिन धुमधामसँग यो जात्रा मनाइने गरिन्छ । तर, यो वर्ष कोभिड-१९ का कारण औपचारिकतामा सीमित हुने भएको हो ।
जात्राको सुरुआतबारे अहिलेसम्म विस्तृत जानकारी भने नभएको संस्कृतविद्हरू बताउँछन् । संस्कृतविद् ओम धौभडेलका अनुसार मन्दिरसँग सम्बन्धित केही ठोस प्रमाणमा नेपाल संवत् ८४८ मा जेष्ठ कृष्ण त्रयोदशीका दिन तत्कालिन भक्तपुरका राजा रणजीत मल्लको समय टिबुक्छे टोलका पञ्च समुदाय मिली मन्दिरमा सुनको छाना छाएको उल्लेख छ ।
त्यस्तै, नेपाल संवत ८६५ मा चण्डेश्वरीदेवी नजिक पाटी बनाएको अर्को एउटा प्रमाण मौजुद छ । यसबाट भक्तपुरको चण्डेश्वरी देवीको मन्दिरको स्थापना एवं जात्रा रणजीत मल्लको समयमा मात्र भएको हो कि भन्ने अनुमान गर्न सकिने इतिहासविद् धौभडेल सुनाउँछन् ।
चण्डेश्वरी जात्रा चासुखेलस्थित चण्डेश्वरी देवीको तीनतले मन्दिर वरपर सञ्चालन हुने गर्दछ । बिहानदेखि मेलाले मन्दिर सजिएको हुन्छ । स्थानीयले बलिसहित पूजाआजा गरेर र छोरीबुहारीले आफ्नो भाकलअनुसार फरिया चण्डेश्वरी देवीमा चढाउने परम्परा पनि छ ।
साँझपख चण्डेश्वरी देवीलाई खटमा विराजमान गर्नुअगावै रित्तो खटको जात्रा गर्ने चलन छ । त्यसपछि देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ लावालस्करसहितको जात्रा चलाइने गरिन्छ ।
जात्रा चण्डेश्वरी उकालो हुँदै टिबुक्छे, साकोठाबाट पुग्ने चलन छ । सरकारी पूजा सकेपछि चण्डेश्वरी देवी पुनः सोही बाटो फिर्ता भई टिबुक्छे टोल पुग्ने प्रचलन छ ।
त्यसपछि चण्डेश्वरीदेवीको खट सुकुलढोका, गोल्मढी, इनाचो हुँदै तचपाल टोल नपुग्दै आउने चौबाटोमा रोकिने परम्परा छ । यस क्रममा खटलाई नबोकी भुइँमा घिसार्दै जात्रा गर्ने परम्परा छ, जुन नेपालको कुनै पनि ठाउँमा नभएको बताइन्छ । त्यसपछि खटलाई पुनः बोकी गोल्मढी, याता, गलसा पुखु हुँदै क्वाछे ओरालोसम्म लगिन्छ ।
स्थानीय सुन्दर माकका अनुसार कोरोना नभएको भए दसैँ-तिहारभन्दा बढी धुमधामले यो जात्रा मनाइने गरिन्थ्यो । तर, अहिले कोरोना महामारीका कारण गत वर्ष र अहिले औपचारिकतामा जात्रा मनाइने भएको हो ।
जात्राका दिन छोरी-ज्वाइँलाई पनि घरमा बोलाएर भोज खाने खुवाउने परम्परा छ । मंगलबार साँझ चण्डेश्वरीको मूर्ति द्यःछे (देवताघर) बाट निकालिएको थियो ।