close

कोरोनाविरुद्धको लडाइँमा प्रतिष्ठान, चिकित्सक गाउँ-गाउँमा परिचालन (भिडियो खबर) 

कोरोनाविरुद्धको लडाइँमा प्रतिष्ठान, चिकित्सक गाउँ-गाउँमा परिचालन (भिडियो खबर) 

ADVERTISEMENT

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भएको छ । अघिल्लो वर्षको पहिलो लहरको कोरोना संक्रमण बेला पनि टेकु अस्पतालपछि प्रतिष्ठानले परीक्षण गरेको थियो । यस वर्षको दोस्रो लहरको कोरोना संक्रमण फैलिदा पनि प्रतिष्ठान संक्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रित भएको हो ।

 

प्रतिष्ठानले बिरामीको उपचार गर्न चिकित्सक परिचालन गरेको छ । मुगु, कालिकोट, हुम्ला, डोल्पा, जुम्लामा मेडिकल मार्च गरेको छ । प्रतिष्ठान जुम्लामै स्थापना भएकाले यहाँका सबै स्थानीय तह, पश्चिम रुकुम र बाँके जिल्लामा चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाविरुद्ध कर्णाली मोडल स्थापित गर्न खोजिरहेको छ । जिल्लामा उपचार सम्भव नभएका खतरायूक्त विरामी एम्बुलेन्स र हेलिकोप्टरमार्फत जुम्ला आउन रोक्न विभिन्न जिल्लामा कर्मचारी नै खटाउन थालिएको छ । कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन् ।  

 

कालिकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा.सुबि बस्न्यात, हुम्लामा सहायक प्रध्यापक डा.माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा डा. अभिषेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन् । यसैगरी पश्चिम रुकुममा सह प्रध्यापक डा.अनुप मंगल समाल र शिला थापा खटिएका छन् । बाँकेमा सह प्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ । 

 

प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक-एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ । प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु, २४ बेडको एचडियु, तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरिएको छ । 


१ सय १० अक्सिजन सिलिन्डर र प्लान्टबाटै अक्जिसनको व्यवस्थापन गरेको छ । प्रदेश सरकारसँग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया सुरु भइसकेको छ  । प्रतिष्ठानमा थप अक्सिजन प्लान्ट जडानका लागि दुई करोड र २५ शय्या एचडियूका लागि ३ करोड १२ लाख ७० हजार बजेटको अर्थ मन्त्रालयले सहमति दिएको छ ।

 

सामान्य लक्षण नभएका अक्सिजन अवश्यक नपर्ने विरामीलाई प्रतिष्ठानले भर्ना लिने गरेको छैन । लक्षण नभएका सामान्य विरामीलाई स्थानीय तहकै आइसोलेसन कक्षमा राखेर उपचार गर्नुपर्दछ । अक्सिजन आवश्यक पर्ने लक्षण भएका विरामीलाई प्रतिष्ठानले भर्ना गरेर उपचार गर्ने गरेको छ । 

 

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाले सवै जनशक्ति कोरोना संक्रमणविरुद्ध नै परिचालन गरेको छ । प्रतिष्ठानले कोरोना विरुद्धको लडाईमा झण्डै दुई दर्जन जनशक्ति परिचालन गरेको छ । जिल्ला जिल्लामा चिकित्सक परिचालन गरी फरक विधिबाट रोकथाम तथा नियन्त्रणमा जुटेको हो । यसलाई कर्णाली मोडेलको रुपमा काम गर्ने जर्मको गरिएको छ ।