close

माटाेमा ज्ञान, माटाेमै काम

माटाेमा ज्ञान, माटाेमै काम

Trulli
ADVERTISEMENT

म्याग्दी- नेपालको शिक्षा ब्यवहारिक नभएको आवाज उठिरहेका बेला प्राविधिक शिक्षा हासिल गरेका म्याग्दीका एक युवाले पढेको ज्ञान व्यवहारमा उतारेका छन् ।  बेनी नगरपालिका वडा नम्बर ९ गिठेनीका २३ वर्षीय गणेश चोखालले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै कृषि फार्म सञ्चालन गरेका हुन् ।

 

कृषि शिक्षा हासिल गरेका चोखालले कृषि व्यवसाय सञ्चालन गरेर स्वरोजगार बनेका हुन् । २०७६ मा बिमको किसानी प्राविधिक शिक्षालयबाट बाली विज्ञान विषयमा आइएस्सीएजी उत्तीर्ण चोखालले घरमै कृषि फार्म सञ्चालन गरेका छन् । 


चोखालले वैदेशिक रोजगारको विकल्पमा गाउँमै रामकृष्ण कृषि पशुपक्षी तथा फलफूल नर्सरी फार्म स्थापना गरेका छन् । उनले व्यावसायिक रूपमा सुन्तला, कागती, दाँते ओखर, साग, फलफूल र सागको बिउ तथा बिरुवा उत्पादन गर्न थालेका छन् ।

 

८ हजार सुन्तला, २० हजार बढी कागती, २ हजार ५ सय टिम्मुर, १ हजार ५ सय दाँते ओखरका बिरुवा उत्पादन गरेका छन् । पढाइका क्रममा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर व्यवसाय गरी स्वरोजगार बनेको चोखालले बताए ।

 

आइएस्सीएजी उत्तीर्ण भएलगत्तै चोखालले सुरु गरेको कृषि फार्मलाई चालू आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ । 

 

कार्यालयबाट २ लाख अनुदान पाएका चोखालले थप २ लाख रुपैयाँ लगानी थपेर २ वटा सेमिहाइटेक प्रविधिको टनेल बनाएका छन् । एउटा टनेलमा साग र अर्कोमा फलफूलका बिरुवा उत्पादन गरेका छन् । टिम्मुर र एभोकाडोको पनि बिरुवा उत्पादन तयारी गरेको उनले बताए ।