close

राष्ट्रपति भण्डारीको खोप कूटनीति: साख उजिल्याउने अवसर

राष्ट्रपति भण्डारीको खोप कूटनीति: साख उजिल्याउने अवसर

Trulli
ADVERTISEMENT

काठमाडौं- राजनीतिमा एउटा समूहको पक्षपोषण गरेपछि विवादमा तानिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीका कारण बढ्दो सन्त्रास कम गर्न उत्तर र दक्षिण छिमेकी मुलुकका समकक्षीसँग खोपका लागि पहल लिएकी छन् । 


राजनीतिमा मुछिएको आक्षेप लागेपछि राष्ट्रपति भण्डारीविरुद्ध सामाजिक सञ्जालमा आलोचनाका शब्दहरू खर्चिइँदै आएका छन् । तर, बुधबार मात्रै भारतीय समकक्षी रामनाथ कोविन्दलाई फोन गरेर राष्ट्रपतिले नेपालले खरिद गर्न अग्रिम भुक्तानी दिएको रकमसहित थप खोप उपलब्ध गराइदिन आग्रह गरिन् । 


खोप खोजीमा पहल लिएपछि मंगलबारसम्म आलोचनामा रमाएका सामाजिक सञ्जाल बुधबारदेखि राष्ट्रपतिको गुणगान गाउन थालेका छन् । कतिपयले सामाजिक सञ्जालमा राष्ट्रपतिलाई राजनीतिबाट माथि उठेर जनताका समस्यामा ध्यान दिएको भन्दै धन्यवादसमेत व्यक्त गरेका छन् ।


बुधबारै राष्ट्रपति भण्डारीले अर्को उत्तरी छिमेकी चीनका समकक्षी सी जीन पिङसँग पौने घन्टा फोन संवाद गरिन् । उक्त संवादमा नेपाललाई कोरोनाले लपेटेकाले खोप नै एक मात्र महामारी नियन्त्रणको प्रयास भएकाले सहयोगका लागि आग्रह गरिन् । यसअघि पनि राष्ट्रपति भण्डारीले गत वर्षको कोभिड महामारीका बेला चिनियाँ समकक्षीसँग सहयोगको याचना गरेकी थिइन् । यो फोन संवाद दोस्रो पटक भएको हो ।

 

दुई राष्ट्रप्रमुखबीचको फोन वार्तामा राष्ट्रपति भण्डारीले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।


नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप किनेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताइन् ।


जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेकाले आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिबद्धतासमेत जनाएको राष्ट्रपति कार्यालयले बताएको छ । राष्ट्रपति भण्डारीले चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि चिनियाँ राष्ट्रपतिसँग जिज्ञासा राखिन् । नेपालले चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप दिइसकेको छ ।

 

दुई राष्ट्रपतिबीचको फोन संवादलगत्तै चीनले नेपाललाई तत्कालै १० लाख डोज खोप दिने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा उक्त खोप दिन लागेको ट्वीट गरेकी हुन् । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउनेछ ।


महामारीविरुद्ध सरकारले अन्तर्राष्ट्रिय सहयोग खोजिरहेका बेला राष्ट्रपति भण्डारीले बुधबार एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन पहल लिएकी हुन् । भारतसँग खरिद सम्झौता भएको २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० लाख डोज आउन बाँकी छ । सिरम इन्स्टिच्युटले २०२१ अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने सूचना बाहिरएपछि नेपालले पहल अघि बढाएको हो ।


परराष्ट्र मन्त्रालयले भारतबाहेकका अन्य खोप उत्पादक मुलुकसँग केही दिनयता आपूर्र्तिका लागि पहल गर्दै आएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अमेरिका, भारत, युरोपेली संघ र बेलायतलाई खोप आपूर्तिका लागि पत्राचार गरिएको गत सोमबार पत्रकारसँगको भेटमा बताइसकेका छन् । मन्त्री त्रिपाठीका अनुसार नर्वेली राजदूतसँग हालै स्टकमा राखेको भनिएको अस्ट्राजेन खोप आपूर्तिका लागि सरकारले आग्रह गरिसकेको छ । 


नेपालको कूटनीतिले क्षमता नदेखाए पनि दक्षिण कोरियामा बस्ने नेपालीको पहलमा हालै मात्र कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री जुटेको छ । यस्तै, सिंगापुर, स्विट्जरल्यान्ड, स्पेनलगायत मुलुकले नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेका छन् । महामारीका बेला राजनीतिलाई बढावा दिन संक्रमणले फैलिने अवसर पाएको भन्दै सरकारविरुद्ध आलोचना हुँदै आएको छ ।