close

मार्सी धान रोप्दा आलीमै पुग्छ मास्क

मार्सी धान रोप्दा आलीमै पुग्छ मास्क

Trulli
ADVERTISEMENT

जुम्ला– जेठ दोस्रो साता । यतिबेला जुम्लामा खेतीपातीको चटारो सुरु भएको छ । कोरोना कहरसँगै मार्सी धान रोप्न किसानलाई भ्याई–नभ्याई छ । मुठी रोपेर मानो उब्जाउने बेला किसानलाई एकातिर कोरोनाको कहर छ भने अर्काेतिर रोपाइँ नगरी धरै छैन । धान रोपाइँको सिजनै जेठ हो ।

 

यतिबेला धान रोपाइँ नगरे उब्जनी नहुने र के खाने भन्ने चिन्ताले पनि पिरोल्छ । यसले गर्दा कोरोनाको प्रवाह नगरी यहाँका किसान रोपाइँमा व्यस्त छन् । तातोपानी गाउँपालिका वडा नम्बर ५ लाम्रा गाउँका किसानलाई खेतका आलीमै पुगेर मास्क वितरण गरिएको छ । जेठ लागेसँगै जुम्लामा निषेधाज्ञाका बीच पनि जौ काट्ने, मार्सी धान रोप्ने चटारो सुरु भएको छ ।

 

तर, मार्सी धान रोप्दा अधिकांश किसानले मास्क प्रयोग नगरेको पाइएपछि संक्रमणको जोखिम न्यूनीकरण गर्न वडा नम्बर ५ लाम्रा गाउँकी महिला नेतृ तथा समाजसेवी नारायणी चौलागार्इंको अगुवाइमा खेतमै पुगेर मास्क वितरण गरिएको हो ।

 

खेतबारीमा पुगेर किसानलाई मेडिक मास्कसँगै स्वास्थ्य मापदण्ड पालना गर्न तथा अनिवार्य प्रयोग गर्न सम्झाइएको नेतृ चौलागाईंले 
बताइन् । उनका अनुसार पहिलो दिन किसान र सर्वसाधारणलाई गरी ५०० गोटा मास्क वितरण गरिएको छ ।

 

उनले भनिन्, ‘तातोपानी गाउँपालिकाको आइसोलेसनमा बसेका ४ जना संक्रमितलाई पोषिला आहार पनि दिएका छौँ । ५ नम्बर वडाको पूर्वमा नगरगाउँदेखि पश्चिम एैरेनी गाउँसम्मका जौ काट्ने, मार्सी धान रोप्ने किसान र गाउँमा मास्क नलगाएर बसेकालाई उक्त संख्यामा मास्क वितरण गरेका हौँ ।’

 

किसानका खेतबारीमा मेडिकल मास्क अभियान अझै केही दिन जारी रहने र करिब ३ हजार मास्क वितरण गर्ने लक्ष्य राखिएको नेतृ चौलागाईंले जानकारी दिइन् । चौलागाईंले नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिका उपाध्यक्षमा पराजित भएकी थिइन् ।

 

कृषि कर्ममा जुट्दा किसानले मास्क नलगाउने गरेको भेटिएपछि जनचेतनासँगै अनिवार्य प्रयोग गरी काम गर्न सुझाइएको मास्क वितरण अभियानमा सहभागी युवा सूर्य डाँगीले बताए । उनले भने, ‘मार्सी धान रोप्ने चटारो सुरु भएकाले किसानले कोरोनालाई वास्ता गरेको
पाइँदैन । त्यसैले हरेक वडामा यस्तो अभियान सञ्चालन गरी कोरोना रोकथाममा जुट्न आवश्यक छ ।’

 

गाउँ–गाउँमा निश्चित युवाको समूह बनाएर मार्सी धान रोपिरहेका किसानलाई मास्क वितरणसँगै अनिवार्य प्रयोग गर्न सम्झाए कोरोना नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा छ । जुम्लामा जेठभरि मार्सी धान रोप्ने किसानको जमघट बढी नै हुने भएकाले खेतबारीमै मास्क अभियान जारी राख्न दातालाई सहयोगको अपिल गरिएको छ ।