close

काठमाडौं महानगरमा संक्रमण दर ६५ प्रतिशतमा समेटियो 

काठमाडौं महानगरमा संक्रमण दर ६५ प्रतिशतमा समेटियो 

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं महानगरले कोरोना संक्रमण दरमा गत साताभन्दा यो साता केही कमी आएको जनाएको
छ । महानगरका अनुसार अघिल्लो साता परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा संक्रमण पुष्टि भएकामा अहिले ५ प्रतिशत घटेर ६५ मा आएको छ ।

 

विगत सातामा अत्यधिक कोरोना संक्रमित बढेपछि महानगरले गत शनिबादेखि स्वाब संकलनका लागि ५ वटा केन्द्र विस्तार गरी हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । 

 

अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा छ । ‘कोरोनाको शंका देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणलाई तीव्रता दिइएकाले अघिल्लो साताको तुलनामा केही कमी आएको छ’, उनले भनिन् ।

 

परीक्षणका क्रममा बढी समस्या भएका बिरामीलाई एम्बुलेन्समा अस्पतालसम्म लैजाउन र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि नागरिकले पैसा तिर्नुपर्दैन । महानगरले पोजेटिभ भएका बिरामी बोक्न एम्बुलेन्ससँग ३ साताअघि सम्झौता गरेअनुसार हाल ७ स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।

 

महानगरले कोरोनाका बिरामीले मात्रै नभई अन्य दीर्घरोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउनुपरे पनि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यसका लागि ११८० हटलाइन नम्बरमा सम्पर्क तोकिएको महानगरले बताएको छ ।

 

हालसम्म महानगरमा ५९ हजार ४४५ कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएका छन् । हाल ११ हजार ४३ सक्रिय संक्रमित छन् । सबैभन्दा बढी वडा नम्बर ३२ मा पाँच हजार ५४१, वडा नम्बर १६ मा ५ हजार ३५२ छन् भने सबैभन्दा कम वडा नम्बर १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमणकै कारण हालसम्म ४०५ जनाले ज्यान गुमाएका छन् ।

 

महानगरमा हाल रहेका संक्रमितमध्ये १० हजार ३६८ होम आइसोलेसनमा छन् भने १२८ जना संस्थागत आइसोलेसनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।

 

विभिन्न अस्पतालसँग सम्झौता

 

महानगरले महामारीविरुद्ध लड्न आफ्नो क्षेत्रभित्रका १२ अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्न एकै दिन ७ वटा अस्पतालसँग सम्झौता गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिन १२ अस्पतालसँग सम्झौता गरिसकेको छ ।

 

महानगरले वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा, छत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल–कोरियामैत्री अस्पताल छन् ।
 

 

यसअघि महानगरपालिकाले गत २४ वैशाखमा सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । २७ वैशाखमा नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्न सम्झौता गरिसकेको छ ।
महानगरबासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताए ।

 

उनले भने, ‘स–साना युनिटमा आइसोलेसन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत–साधन खर्च हुन्छ । यी उपचारका लागि अन्तिम ठाउँ होइनन् । कसैलाई जटिल समस्या भयो भने लैजानुपर्ने अस्पताल नै हो । त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिएका हौँ ।’