close

आरोप चलिरहन्छ, स्थानीय सरकार काम गरिरहन्छ (भिडियो वार्ता)

आरोप चलिरहन्छ, स्थानीय सरकार काम गरिरहन्छ (भिडियो वार्ता)

ADVERTISEMENT

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाका प्रमुख हुन् भीम न्यौपाने । कोरोना संक्रमण तिव्र बनेसँगै पालिका नियन्त्रणका लागि सबै बल प्रयोग गरेर लागि रहेको बताउँछन् उनी । स्थानीय सरकारले जतिसुकै राम्रो काम गरे पनि आरोपवाट बच्न नसकेकोमा दुःख लाग्छ उनलाई । तर आरोप पन्छाउँदै काम गरिरहने उनको अठोट छ । पालिकाखबर बुलेटिनको पालिका टकमा करिष्मा कार्कीले न्यौपानेलाई कोरोना रोकथाम र नियन्त्रण लगायतका सन्दर्भ जोडेर सोधेका सात प्रश्नमा न्यौपानेको जवाफः

 

 

पालिकाभित्र संक्रमणको दर अधिक छ, जनता घरवाट निस्कन पाएका छैनन तैपनि संक्रमणको दर घटेन, किन होला ? 
पनौती नगरपालिकाको वडा नम्बर १० मा विवाहको भोजबाट सुरु भएको प्रकोप १२ वटै नगरपालिकामा पुगेको छ । सात सय संक्रमित छन् । १३ जना अस्पतालमा छन् । १२ जनाको मृत्यु भयो । अहिले निषेधाज्ञा लागु गरिएको छ । जनताले सहयोग गरिरहनुभएको छ । सुरक्षा निकाय र प्रशासन निकायबाट सहयोग मिलिरहेको छ । हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ । 

 

अहिले सक्रिय संक्रमित कति जना छन् ? 
अहिलेसम्म हामीले पोजेटिभ देखिएकाको संख्या ७ सय छ । जसमध्ये १२ जनाको मृत्यु भयो । १३ जना अस्पतालमा छन् भने बाँकी होम आइसोलेसनमा छन् । सबैको स्वास्थ्य राम्रो छ । 

 

अघिल्लो पटकको संकटको पाठ हदाहुदै र विज्ञहरुले खतरा छ भन्दाभन्दै आइसोलेसन, अस्पताल, स्वास्थ्य उपकरण जस्ता विषयको व्यवस्थापनमा चुक्नुभयो हैन तपाइहरु पनि ? 
अघिल्लो कोभिडले हामीलाई शिक्षा दियो । त्यसपछि हामीले अस्पताल बनाउने योजना बनायो । खोपासी स्वास्थ्य प्राथमिक केन्द्रमा २५ शय्याको अस्पताल बनाइरहेका छौँ । अहिले वडा नम्बर ४ जहाँ नयाँ वडा कार्यालयको भवन बनेको छ, त्यहाँ हामीले आइसोलेसन बनाएका छौँ । 

 

यतिबेला त विकास बजेटसमेत कोरोना रोकथाम र नियन्त्रणमा खर्च गर्नुपरिरहेको अवस्था छ । यो दोस्रो लहर सुरु भएपछि भने तपाईहरुले कति खर्च गर्नुभयो, जनताले रोगविरुद्ध स्थानीय सरकार लडिरेको अनुभूति कसरी गर्दैछन् ?
हामीले विपद् व्यवस्थापन कोष बनाएका छौँ । गत आर्थिक वर्षमा १ करोड राखेका थियौँ । त्यहीबाट अहिले कोरोना व्यवस्थापनमा जुटेका छौ । हामीले मनोरोग भएकालाई चिकित्सक बोलाएर उपचार गराउने, औषधि उपलब्ध गराउने काम गरिरहेका छौँ । 

 

कोरोना कहरले गाँजेको पनि डेढ वर्ष वढी भयो ? यो वीचमा जनताका विकासका आकांक्षालाई पुरा गर्ने दिशातर्फ कस्ता कदम चाल्नुभयो ? जनता त भन्दैछन् अस्पताल बनाउनुपर्ने स्थानीय सरकार भ्यू टावरमै अलमलियो, महामारीमा भने हेरेको हेर्यै भयो । यो साँचो हो नि हैन? प्रमुखज्यू ?
अहिले परिस्थिति यस्तै छ । विकास निर्माणका कामले गति लिएको थियो , अहिले अवरोध भयो । अहिले हाम्रो प्राथमिकतामा ज्यान बचाउने र विकास निर्माण अघि बढाउने नीति छ । 

 

बेला बेला तपाईहरूलाई आरोप पनि लाग्ने गरेको छ कि समयमा नै महामारी रोक्नेतर्फ तपाईहरुले चासो नदिएर कोरोना फैलिएको भन्छन् नि ? 
आरोप प्रत्यारोप नेपालमा चलिरहन्छ, भोलि पनि चल्ला । तर, स्थानीय सरकार, जुन घर आँगनको सरकार हो । आफ्ना नागरिकको सुख र दुःख सबै थाहा हुन्छ । संघीय र प्रदेश सरकारलाई दिने सुझाव हो । हामी फिल्डमा बसेर काम गरेका छौ । इमान्दारिता पूर्वक हामी काममा लागेका छौँ । केन्द्र र प्रदेशले सहयोग गर्नुपर्छ । हामी इमान्दारका साथ नागरिक जोगाउन लागिपरेका छौँ । 

 

अन्तमा , अलि फरक प्रसंगमा जाउँ, कार्यभार सम्हालेको ४ वर्ष भएछ । जनताका पक्षमा के गरेजस्तो लागेको छ र अव के के गर्न वाँकी छन् तपाईले ? 
हामीले कार्यभार सम्हालेको समयमा हामीले धेरै कुरा ब्यहोर्‍यौँ । राजनीतिक, कोभिडको प्रकोप पनि ब्यहोर्‍यौँ ।  १६ वर्षको रिक्त स्थानीय तहमा थिति बसाउने काम पनि हाम्रै काँधमा आयो । हामीले नागरिकलाई सन्तुष्ट बनाउने गरी काम गर्‍यौँ । इमान्दारिताका साथ हामीले आउँदो पुस्तालाई यो स्थानीय सरकार हस्तान्तरण गर्छौँ ।