close

अर्थमन्त्री पौडेलले गरे आर्थिक सर्वेक्षण सार्वजनिक : कोरोना महामारीका कारण आर्थिक गतिविधिमा संकुचन 

अर्थमन्त्री पौडेलले गरे आर्थिक सर्वेक्षण सार्वजनिक : कोरोना महामारीका कारण आर्थिक गतिविधिमा संकुचन 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष २०७७÷७८ को आर्थिक सर्वेक्षण शुक्रबार सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीका कारण चालू वर्षमा संशोधित ४ दशमलव शून्य १ प्रतिशतको आर्थिक वृद्धिदर पूरा गर्न कठिन हुने जानकारी दिए । 

कोभिड महामारीका कारण आर्थिक गतिविधिमा संकुचन आएकाले लक्ष्य हासिल गर्न कठिन देखिएको उनले बताए । चालू आर्थिक वर्षको कुल मूल्यवृद्धि, कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव ८, १३ दशमलव १, ६१ दशमलव १ प्रतिशत रहेको अनुमान छ ।

 

सर्वेक्षणअनुसार चालू आवमा धान उत्पादन १ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । चालू आवको राष्ट्रिय कुल गार्हस्थ उत्पादन उत्पादकको मूल्यमा ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँमध्ये बागमती प्रदेशको अंश सबैभन्दा बढी अर्थात् ३७ दशमलव शून्य ७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहेको अनुमान गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

 

मन्त्री पौडेलले २०७६–७७ मा आर्थिक वृद्धिदर २ दशकमै पहिलो पटक २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको जानकारी दिए । अर्थसचिव शिशिर ढुंगानाले आर्थिक वृद्धिदरमा धक्का लागे पनि निषेधाज्ञाअघिको अर्थतन्त्रको गति हेर्दा पहिलाभन्दा राम्रो रहेको दाबी गरे ।

 

सडक विस्तारमा उल्लेख्य प्रगति

 

आर्थिक सर्वेक्षणमा रोजगारीदेखि सडक विस्तारमा उल्लेखनीय वृद्धि भएको सरकारले बताएको छ । चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणका अनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६–७७ मा ३ लाख ७० हजार सूचीकृत बेरोजगारमध्ये १ लाख ५ हजारले रोजगारी प्राप्त गरेकामा चालू आर्थिक वर्षको फागुनसम्म रोजगार सेवा केन्द्रमा सूचीकृत ७ लाख ४३ हजार १०० जना बेरोजगारमध्ये ३३ हजार ७०० जनाले रोजगारी प्राप्त गरेको देखिएको छ ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट हालसम्म ४ लाख ४३ हजार जनालाई आंशिक र ४८ हजार ७०० जनाले पूर्ण रोजगारी प्राप्त गरेका छन् ।

 

सरकारले सामाजिक सुरक्षा कार्यक्रममा उत्साहजनक सहभागिता हुँदै गएको दाबी गरेको छ । चालू आर्थिक वर्षको फागुनसम्म १३ हजार ६०० रोजगारदाता र १ लाख ९३ हजार जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् भने हालसम्म ४ अर्ब ६४ करोड १० लाख रुपैयाँ योगदानबापतको रकम उक्त कोषमा जम्मा भएको हो ।

 

आर्थिक वर्ष २०७७–७८ फागुनसम्म ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जाति, बालबालिकासमेत गरी ३१ लाख ६० हजार लाभग्राहीलाई सामाजिक संरक्षणका लागि ५८ अर्ब ३८ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताइएको
छ ।

 

यो अवधिमा पूर्वाधार तथा प्रविधिको विकास उल्लेखनीय रहेको र नागरिकको पहुँच वृद्धि भएको सरकारको दाबी छ । २०७७ फागुनसम्म राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत् उत्पादन गत वर्षको तुलनामा ४ दशमलव १ प्रतिशतले वृद्धि भई १ हजार ४५८ मेगावाट पुगेको छ ।

 

प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घन्टा पुगेको छ भने ९३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको बताइएको छ । २०७८ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे १५ हजार ९७४ किलोमिटर, खण्डास्मित ५८२ किलोमिटर र कच्ची सडक ८ हजार ९७२ किलोमिटर गरी ३३ हजार ५२८ किलोमिटर सडक निर्माण भएको सरकारी तथ्यांक छ ।

 

शैक्षिक वर्ष २०७७ मा प्राथमिक तह, आधारभूत तह र माध्यमिक तहको खुद भर्नादर क्रमशः ९७ दशमलव ४, ९४ दशमलव ७ र ५१ दशमलव २ प्रतिशत रहेको बताइएको छ ।

 

२०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसंख्या ९१ दशमलव ५ प्रतिशत र उच्च मध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या २३ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष २०७७–७८ को फागुनसम्म थप १ लाख ५५ हजार जनसंख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।