close

तिलोत्तमाले पनि भन्योः खोप किन्छाैँ अनुमति देऊ

तिलोत्तमाले पनि भन्योः खोप किन्छाैँ अनुमति देऊ

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीलाई कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिन र नसके खरिद प्रक्रिया अघि बढाइदिन संघीय सरकारसँग माग गरेको छ ।


नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार नगर प्रमुख वासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन नसके खरिद प्रक्रिया अघि बढाइदिन माग गरेका हुन् ।


नगरपालिकाले ७८ हजार नगरबासीलाई कोरोना खोप अनुदानमा उपलब्ध गराउन माग गरेको छ । त्यसो नभए आन्तरिक स्रोतबाट आफैं खरिद गर्न प्रक्रिया अघि बढाइदिन माग गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

 

१८ वर्षमाथिको जनसंख्या ८५ हजार भए पनि संघीय सरकारबाट प्राप्त ७ हजार खोप ज्येष्ठ नागरिक र अग्रपंक्तिका कर्मचारीलाई लगाइएको नगरपालिकाले जनाएको छ ।

 


आधारभूत स्वास्थ्य सेवा संघ, प्रदेश र स्थानीय सरकारको साझा क्षेत्राधिकारमा रहेकाले अनुदानमा खोप उपलब्ध गराउन नगरपालिकाले माग गरेको हो ।

‘अनुदानमा उपलब्ध हुन नसकेको अवस्थामा नगरपालिकाको आन्तरिक स्रोत–साधनबाट समेत खर्चिने गरी विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गरिएको खोप नेपाल सरकारबाट हालै जारी भएको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २६ को उपदफा २ बमोजिम कूटनीतिक नियोगमार्फत खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइदिनुहुन माग गरिएको छ,’ नगरपालिकाले लेखेको पत्रमा उल्लेख छ ।

 

भारतसँग सीमा जोडिएको जिल्लाको नगरपालिका भएको, दैनिक करिब २०० हाराहारी नयाँ संक्रमित थपिने गरेका र करिब ९०० सक्रिय संक्रमित रहेको पत्रमा उल्लेख छ । नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट ९३ जनाको मृत्यु भएको छ ।

 

‘कोरोना संक्रमण र मृत्युबाट बचाउने सबैभन्दा उपयुक्त विधि खोप नै भएकाले सकेसम्म अनुदानबाट नभए आफ्नै खर्चमा खरिद गर्न सम्बन्धित संघीय मन्त्रालयमा पत्राचार गरेका हौँ,’ नगरप्रमुख घिमिरेले भने ।