close

९ अस्पताललाई काठमाडौं महानगरको भेन्टिलेटर सहयोग

९ अस्पताललाई काठमाडौं महानगरको भेन्टिलेटर सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले कोरोना महामारीका कारण अभाव खेपिरहेका विभिन्न ९ अस्पताललाई ४५ थान भेन्टिलेटर उपलब्ध गराएको जानकारी दिएको छ । 

 

कोरोना महामारीको संक्रमण फैलिएसँगै अस्पतालको क्षमता बढाएर सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए ।


महानगरले त्रिवि शिक्षण अस्पताललाई १०, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ ।

 

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई वीर ५० वटा मनिटर उपलब्ध गराएका छौँ । महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई पनि २ थान भेन्टिलेटर उपलब्ध गराएका छौँ । महानगरमार्फत गरेको यो सहयोगले राजधानीवासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा छ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका प्रमुख शाक्यले भने ।

 

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरले उपलब्ध गराएको ५ करोड रुपैयाँ बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि सञ्चालन हुनेछ । 

 

विभिन्न अस्पताललाई उपलब्ध गराएमध्ये केही भेन्टिलेटर, पिसिआर मेसिनलगायत सामग्री भगिनी सम्बन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरलाई सहयोगस्वरूप उपलब्ध गराएका हुन् । 

 

‘कोभिड संक्रमित बिरामी तथा आफन्तको उपचार सहज बनाउन ११८० नागरिक हट लाइनबाट २४ सै घन्टा सेवा दिने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘बिरामीलाई अस्पतालमा पुग्न सहज होस् भनी कोभिड–१९ बिरामीका लागि १०२ नम्बर फोनमार्फत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी २० वटा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । यसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन–कोभिड बिरामीले सेवा प्राप्त गरिसकेका छन् ।’ 

 

हालसम्म महानगरभित्र ४४ हजार बढीले निःशुल्क पिसिआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले बताएको छ । महानगरले अहिलेसम्म नगरभित्र ६५ वर्षमाथि उमेरका ६७ हजारलाई कोभिशिल्ड र भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको जनाएको छ । 
 
३०९ बेडको आइसोलेसन

 

महानगरले अस्पतालमा अक्सिजन अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर ३०९ बेडको आइसोलेसन र विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

 

‘महानगरको आर्थिक सहयोगमा सामाखुसीस्थित राधा स्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ बेडको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छौँ,’ महानगरप्रमुख शाक्यले भने, ‘नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १ सय बेडको कोभिड–१९ आइसोलेन केन्द्र र क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा आइसियु एवं भेन्टिलेटरसहितको ३५ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइसकेका छौँ ।’