close

गाउँपालिका अध्यक्ष नै ओसार्छन् कोभिडका बिरामी 

गाउँपालिका अध्यक्ष नै ओसार्छन् कोभिडका बिरामी 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर २ डाँडागाउँकी कोभिड-१९ बाट संक्रमित महिला शुक्रबार अचानक बेहोस भइन् । गत १० जेठमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेकी ४८ वर्षीया महिला बेहोस भएर ढलेपछि परिवारमा आपत आइलाग्यो । सहयोगका लागि आफन्तले गाउँपालिकालाई खबर गरियो । 

 

केही छिनपछि बेहोस महिलालाई लिन गाउँपालिकाको बा२झ ३८४९ नम्बरको गाडी आइपुग्यो । गाडीभित्र गाउँपालिकाका चालक थिएनन् । चालकका रूपमा थिए, स्वयं गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । सेतो पिपिई गाउन पहिरिएका गाउँपालिका अध्यक्ष राई गाडीबाट ओर्ले र बिरामीलाई गाडीमा राखेर वडा नम्बर १ याम्खास्थित स्वास्थ्य चौकीमा रहेको अस्थायी कोभिड अस्पताल पुर्‍याए । 

 

हाल संक्रमित महिलाको अस्थायी कोभिड अस्पतालमै उपचार भइरहेको छ । शरीरमा अक्सिजनको मात्रा कम भएको र प्रेसर लो भएपछि बेहोस भएकी उनलाई अस्थायी कोभिड अस्पतालमा पु¥याएपछि होस खुलेको छ ।

 

२ घन्टा मात्र ढिला भएको भए महिलालाई बचाउन मुस्किल पर्ने अवस्था देखिएको स्वास्थ्यकर्मीले बताएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । ‘अक्सिजनको मात्रा कम भएको रहेछ । त्यसमाथि प्रेसर लो भएपछि बेहोस भएर ढलिछन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘स्वास्थ्यकर्मीले २ घन्टा मात्र ढिला भएको भए बचाउन सकिँदैन थियो भनिरहेका छन् ।’ 

 

यस्तै, शनिबार वडा नम्बर १ याम्खाकी ७४ वर्षीया वृद्धालाई गाउँपालिका अध्यक्ष राईले नै अस्थायी कोभिड अस्पतालमा पुर्‍याए । गाउँपालिका अध्यक्ष राई आफैंले गाडी चलाएर कोभिड अस्पतालमा पुर्‍याइएकी वृद्धालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

 

उनको उपचार भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाको गाडी चलाउन २ जना चालक नियुक्त गरिएको छ । त्यसमध्ये १ जना चालकलाई कोभिड संक्रमण भएर बसिरहेका छन् । अर्का चालकलाई भने एम्बुलेन्स मर्मतमा पठाइएकाले आफैंले गाडी चलाएर बिरामी उद्धारमा गएको अध्यक्ष राईले जानकारी दिए ।

 

‘जनप्रतिनिधिले चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाए भन्ने खबर सुनियो । तर, हामीले एम्बुलेन्स नबनाई बिरामी ओसार्नमा प्रयोग गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘१ जना चालक संक्रमित भए । अर्को चालक एम्बुलेन्स मर्मतमा गएका छन् । चालक नभएपछि अहिले आफैंले गाडी चलाइरहेको छु ।’