close

संक्रमण परीक्षणदेखि शव व्यवस्थापनसम्मै खटिन्छन् फुङलिङका जनप्रतिनिधि

संक्रमण परीक्षणदेखि शव व्यवस्थापनसम्मै खटिन्छन् फुङलिङका जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित स्थानीय तह हो, फुङ्लिङ नगरपालिका । सदरमुकाम भएको नगरपालिका भएकाले यहाँ प्रायः सबै स्थानीय तहका नागरिक बसोबास गर्छन् ।


सोही कारण कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि निकै मिहिनेत लगाउनुपर्ने हुन्छ । यो मेसो पाएपछि नगरपालिकाका जनप्रतिनिधि अहिले परीक्षण, नियन्त्रणदेखि लिएर शव व्यवस्थापनसम्मका कार्यमा सशक्त ढंगले खटिन थालेका छन् ।


नगरप्रमुख छत्रपति प्याकुरेल कोरोना संक्रमण समुदाय स्तरमा पुगिसकेको अवस्थामा पालिकाका जनप्रतिनिधि एकसाथ खटिने हो भने मात्रै यसको नियन्त्रण सम्भव भएको बताउँछन् । आफूहरूले यसका लागि वडा-वडा पुगेर परीक्षण अभियान सुरु गरेको जानकारी उनले दिए । प्याकुरेल परीक्षण र उपचारको व्यवस्थापनमा मात्र खटिएका छैनन्, संक्रमण वा संक्रमणसँग मिल्दोजुल्दो लक्षणका कारण ज्यान गुमाएका सदस्यको शव व्यवस्थापन प्रक्रियामा समेत उत्तिकै सक्रियताका साथ लागिपरेका छन् । 


कोरोना संक्रमण पुष्टि भएका मृतक सदस्यको अन्त्येष्टि नेपाली सेनाले गर्ने गर्छ । तर, नगरप्रमुख प्याकुरेल र बमबहादुर भट्टराई यस कार्यमा अगुवा बनेर डटिइरहेका छन् ।


अन्तरजिल्लामा उपचारका क्रममा मृत्यु भएका अधिकांशमध्ये केही भने निधनपछि कोरोना पुष्टि भएका छन् । यो अवस्थामा मृतक परिवारका सदस्य संक्रमणसँगको सम्पर्कमा पुगिसकेको अवस्था रहेकाले सेनाबाहेक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परिवारका सदस्य आफैंले पनि शवको अन्त्येष्टि गर्दै आएका छन् । 


यो बेला जनप्रतिनिधिको भूमिका बलियो हुने रहेछ । संक्रमणबाट मृत्यु भएकी एक वृद्धाको शव अन्त्येष्टिमा फुङलिङ नगरपालिका वडा नम्बर ५ का वडा सदस्य सुरेश सिंघक आफैं खटिएका थिए । 


प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे संक्रमण पुष्टि भएका मृतकका आफन्तले आफैं अन्त्येष्टि गर्न चाहे स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शव अन्त्येष्टि गर्न दिन सकिने प्रावधानअनुसार यस्तो वातावरण मिलाइएको बताउँछन् ।


कोरोनाबाट मृत्यु भएका परिवारका सदस्यको शव व्यवस्थापन सेना वा आफन्त जसले गरे पनि शव व्यवस्थापनमा शव घाटसम्म लैजानेदेखि अन्त्येष्टि गर्नेसम्मको कार्यमा कठिनाइ रहने गरेको छ । शव वाहन नभएको अवस्थामा कठिन हुने भए पनि नगर क्षेत्रमा भने त्यो समस्या आउन नदिन नगरपालिकाले शव व्यवस्थापनका लागि बेग्लै सवारीको प्रबन्ध गरेको नगर उपप्रमुख भट्टराईले जानकारी दिए ।

 

नगरप्रमुख प्याकुरेल कोरोना संक्रमणबाट मृत्यु भएका सदस्यको शव व्यवस्थापन कार्यमा कुनै उल्झन आउने नदिइने बताउँछन् । अर्को पालिका क्षेत्रका बासिन्दा भए पनि नगर क्षेत्रभित्र बसोबास गर्ने सबै सदस्य आफ्ना लागि नगरभित्रकै सदस्य भएको महसुस गरेर आफूहरूले काम गर्ने उनको भनाइ छ ।


उनले अन्य स्थानीय तहले पनि यो प्रक्रियाको सिको गरे कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन जटिल नहुने उनले दोहोर्‍याए । फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ३ लिङ्खिमका ५१ वर्षीय पुरुषको मृत्यु फुङ्लिङ नगरपालिका क्षेत्रमै भएपछि नगरप्रमुख प्याकुरेल र उपप्रमुख भट्टराईले आफैं लागेर शव व्यवस्थापन गरेका थिए । 


शव व्यवस्थापनबाहेक कोराना संक्रमणको परीक्षणका लागि टोल-टोल पुग्ने योजनाले समेत नगरपालिकाका जनप्रतिनिधिले वाहवाही पाउन थालेका छन् ।